कोरोना संक्रमणका दृष्टिले काठमाडौं उपत्यका जोखिममा

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य विज्ञ र सरुवा रोग विशेषज्ञहरू काठमाडौं उपत्यका जोखिममा रहेको भन्दै बन्दाबन्दी (लकडाउन) पूर्ण कार्यान्वयन हुनुपर्ने बताउँछन् । कोरोना परीक्षणको दायरा फराकिलो नहुनु, काठमाडौं उपत्यकासँग जोडिएका नाकामा आवतजावत नरोकिनु र लकडाउन पूर्ण रूपमा कार्यान्वयन नहुनुले काठमाडौं उपत्यका जोखिममा रहेको उनीहरूको भनाइ छ । अहिले पनि संक्रमित जिल्लाबाट व्यक्ति भित्रिने क्रम रोकिएको छैन ।

घरबेटीले प्रवेश गर्न नदिएको भन्दै दैनिक ५० बढी व्यक्ति कोरोना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गर्छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौंमा जनसंख्या अत्यधिक रहेको र फैलिए धान्न नसकिने भन्दै परीक्षण दायरा यथाशीघ्र बढाउनुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं उपत्यका जोडिएका नाका तत्काल सिल गर्नुपर्छ । रातको समयमा अनुमति लिएर भित्रिने सवारी साधनका चालक र सहचालकको आरडीटी टेस्ट गरेर भित्र प्रवेश दिनुपर्छ ।’ अहिले पनि लकडाउनको समयमा बिहान र बेलुका काठमाडौं उपत्यकाभित्र भीड हुने भन्दै भित्री गल्लीमा प्रहरीको गस्ती बढाउनुपर्ने उनले बताए ।

– १४ जनालाई संक्रमण
– ३८४९ जनाको कोरोना परीक्षण

संक्रमित भएको पुष्टि भए स्वास्थ्य मन्त्रालयले हाल बसोबास गर्दै आएको ठेगाना र काम गर्दै आएको स्थानको पहिचान नखुलाउँदा पनि अधिकांश जिल्लाका भनिएका संक्रमित हाल काठमाडौं बस्दै आएको पाइएको छ ।

संक्रामक तथा सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा. जीवनबहादुर शेरचनले काठमाडौं जोखिममा रहेको भन्दै संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । उनले भने, ‘काठमाडौं उपत्यका भित्रिएका व्यक्तिको पहिचान गरी परीक्षणको दायरा बढाउनुपर्छ । त्यसका लागि सम्बन्धित वडाले क्रियाशीलता देखाउनुपर्छ ।’

काठमाडौं उपत्यकामा हालसम्म १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये सात जना निको भएर घर फर्किएका छन् भने सात जना उपचाररत छन् ।

हालसम्म उपत्यकाभित्र बस्दै आएका ३ हजार ८ सय ४९ जनामा आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । काठमाडौंमा १ हजार ८ सय ३४, ललितपुरमा १ हजार ३ सय २९ र भक्तपुरमा ६ सय ८९ जनाको परीक्षण गरिएको छ, जसमध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । काठमाडौं उपत्यकामा ३ सय ९० वटा आइसोलेसन वार्ड छन् भने १ हजार २ सय ४९ वटा क्वारेन्टिन तयारी अवस्थामा छन् । क्वारेन्टिनमा दुई जना बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पाँच जनालाई आइसोलेसनमा राखिएको छ । यसैबिच, गृह मन्त्रालयले परिपत्र पठाउँदै लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

नेपालमा हालसम्म संक्रमितको संख्या ४ सय ५४ पुगेको छ । संक्रमितमध्ये पुरुष ३ सय ८४ र महिला ६९ रहेका छन् । देशभर २३ हजार २ सय २ जना क्वारेन्टिनमा बस्दै आएका छन् । हालसम्म ४९ जना निको भएर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै