विधान महाधिवेशन लत्याउँदै पछाडि फर्कियो एमाले

काठमाडौं । नेकपा एमालेले तीन महिनाअघि गरेको विधान महाधिवेशनको व्यवस्था लत्याउँदै आफूलाई पछाडि फर्काएको छ । एमालेले गत २२ भदौमा सम्पन्न विधान महाधिवेशनबाट पदाधिकारी १५ जनासहित २ सय ५१ जनाको केन्द्रीय समिति चयन गर्ने विधान बनाएको थियो ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा भन्दै १ वर्षअघि महाधिवेशन गरेको एमालेले जेनजी आन्दोलनका कुनै पनि भावना पालना नगरेको भन्दै अन्तरपार्टी आलोचनाको सिकार बनिरहेको छ भने चौतर्फी आलोचनासमेत झेलिरहेको छ । जेनजी आन्दोलनको नैतिक जिम्मेवारी लिनुपर्ने दबाबसमेत झेलिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालू ११औं महाधिवेशनमा तीन महिनाअघि विधान महाधिवेशनले गरेको निर्णयबाट अझै पछिल्तिर फर्किनेगरी पदाधिकारी र केन्द्रीय समिति विस्तार गर्ने प्रस्ताव गरेसँगै पार्टीभित्रसमेत ‘प्रतिगमन’ भएको भन्दै टिप्पणी सुरु भएको छ ।

पदाधिकारी विस्तारसम्बन्धी प्रस्तावमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष हटाएर उपाध्यक्षको संख्या ५ पु¥याएका छन् । महासचिव एकसँगै उपमहासचिवको संख्या बढाएर ३ पु¥याएका छन् भने सचिवको संख्या ७ बाट बढाएर ९ जना पु¥याएका छन् । २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी अब संशोधित विधानअनुसार ३ सय १ हुनेछ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ११औं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टरसम्बन्धी व्यवस्था पारित गरिएको छ । बन्दसत्रबाट पारित क्लस्टरसम्बन्धी प्रस्तावमा प्रत्येक प्रदेशबाट एक युवा, तीन महिला र पाँच खुलासहित नौ जनाका दरले चयन गरिने व्यवस्था पारित भएको छ । एमालेले भौगोलिक ७ प्रदेश र उपत्यकालाई विशेष प्रदेश गरी आठवटा प्रदेश संगठनको मान्यता दिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रबाट ७२ जनासँगै देशभरिबाट खुला प्रतिस्पर्धामार्फत १ सय २५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । महिला क्लस्टरबाट ५२ र युवा दुई जना हुनेछन् । एमालेले आदिवासी जनजातितर्फ २५ केन्द्रीय सदस्य रहनेगरी क्लस्टर छनोट गरेको छ । जनजातितर्फको संख्यालाई पनि उपक्षेत्रगत विभाजन गरी महिला ८, युवा दुई आरक्षित गरी खुलाबाट १५ आदिवासी जनजाति नेता चयन हुने व्यवस्था गरिएको छ ।

मधेशी क्लस्टरबाट २० केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा २ युवा, ६ महिला र १२ खुला मधेशी नेता चयन हुनेछन् । प्रवासबाट दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । जसमा भारतबाट १ र अन्य मुलुकबाट १ जना चयन हुनेछन् । एमालेले श्रमिकबाट ३ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । यसमा पनि खुलाबाट दुई र महिला एक जना आउनेछन् । अपांगता भएका व्यक्तिबाट खुला प्रतिस्पर्धामार्फत एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

दलिततर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसमा खुलाबाट ७, महिलाबाट ४ र युवाबाट १ जना चयन हुनेछन् । थारू समुदायबाट ८ जना केन्द्रीय सदस्य चयन हुनेछन् । यसमा खुलाबाट ५ र महिला ३ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । मुस्लिम समुदायबाट ५ केन्द्रीय सदस्य रहने व्यवस्था छ, जसमा खुलाबाट ४ र महिलाबाट १ जना चुनिनेछन् ।

पिछडिएको क्षेत्रबाट दुई जना केन्द्रीय सदस्य आउनेछन् । यसमा पनि खुलाबाट एक र महिलाबाट एक केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ ।

अपग्रेड हुने लाइनमा चर्चित नेता
एमालेले विद्यमान केन्द्रीय कमिटीका चर्चित युवा केन्द्रीय सदस्य तथा महाधिवेशनमा प्रतिनिधि भएर आएका युवालाई सम्भावित केन्द्रीय सदस्यका रूपमा चर्चा चलाएको छ । चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित, बीचमा मनोनीत तथा नयाँ प्रतिनिधिबाट केन्द्रीय सदस्य बन्ने सम्भावित नेतालाई महाधिवेशनको उद्घाटन समारोहदेखि नै एमालेको भविष्यका रूपमा चित्रण गर्दै आएको प्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन् ।

महाधिवेशनमा पदाधिकारीतर्फ अपग्रेड गर्न महेश बस्नेतलाई शुभकामना दिने र उनीसँग तस्बिर खिच्नेको क्रेज उद्घाटन सत्रदेखि बन्दसत्रसम्मै देखिएको छ । पदाधिकारी अपग्रेड हुन शेरबहादुर तामाङ, विनोद ढकाल, सूर्य थापा, ठाकुर गैरे, माधव ढुंगेल, भगवती न्यौपाने, शान्ता चौधरीलगायतलाई महाधिवेशन प्रतिनिधिले शुभकामना दिँदै हौसला दिइरहेका छन् । यस्तै, वर्तमान केन्द्रीय सदस्यहरू अरविन्द सिंह, सुनिता बराल, महेश बर्तौला, नविना लामालगायतलाई अपग्रेड हुन शुभकामना दिइरहेका छन् ।

महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नका लागि केही युवालाई प्रतिनिधिले जोडतोडले साथ दिएका छन् । एमालेभित्रका सेलिब्रेटी महाधिवेशन प्रतिनिधिजस्तै बनेका काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, इलाम–२ का सांसद सुहाङ नेम्वाङ, प्रवासका नेता डा. भेषराज थापा, युवासंघका अध्यक्ष क्षितिज थेवे, पूर्वअध्यक्ष वचनबहादुर सिंह, युवा नेतृ क्रान्ति बुर्लाकोटी, युवासंघमा पराजित भएका सुमन पुरी, अखिलका पूर्वअध्यक्ष समिक बडाल, अखिल नेतृ सुनिता अधिकारी, कल्पना वाइवा, आरसी लामिछानेलगायत रहेका छन् ।

यस्तै, चर्चित वकिल राधिका खतिवडा, जुम्लाकी नेतृ मेनका पछाई, दैलेखकी कल्पना थापा, बागमती प्रदेशका सचिव नवराज सिलवाल, जाजरकोटका नारायण घर्तीलगायतका नेतालाई पनि केन्द्रीय सदस्य भएर पार्टी हाँक्न प्रतिनिधिहरूले हौसला दिइरहेका छन् ।

नयाँ पुस्ता लोभ्याउन ४० को कार्ड
एमालेले चालू ११औं महाधिवेशनपछि पार्टीका सबै संरचनामा युवा पुस्तालाई आकर्षित गर्न ४० वर्ष उमेर समूहलाई ‘कार्ड’का रूपमा प्रयोग गरिरहेको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनका कारण पार्टीमा नयाँ पुस्ताको उल्लेखनीय खडेरी महसुस गरेको एमालेले नयाँ पुस्ता आकर्षित गर्न केन्द्रीय कमिटीमा ४० वर्षमुनिको क्लस्टरलाई ‘रणनीतिक कार्ड’का रूपमा प्रयोग गरेको हो ।

नेकपा एमालेले विधान संशोधन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठक तथा महाधिवेशनको बन्दसत्रमा समेत छलफल चलाउने बेलामा समेत ४० वर्ष उमेर समूहका युवालाई वैधानिक रूपमा क्लस्टर बनाउन भन्दै ४० वर्षे उमेर समूहलाई ‘कार्ड’का रूपमा प्रयोग गरिएको पाइएको छ ।

महाधिवेशनको बन्दसत्रमा प्रस्तावित निर्वाचन कार्यतालिकाको मस्यौदामा ४० वर्षमुनिका युवालाई केन्द्रीय कमिटीमा प्रवेश गराउने अलग्गै क्लस्टर व्यवस्था नभएका कारण विधान संशोधन सम्भव नभए कसरी युवालाई सुरक्षित गर्ने भन्ने विषयमा समेत एमाले नेतृत्व तहले परामर्श सुरु गरेको छ । एमालेले विधानमा जेसुकै भए पनि महाधिवेशन प्रतिनिधिका हकमा ४० वर्षमुनिका लागि युवा क्लस्टर तोकेरै महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनमा विशेष प्रस्ताव गर्दै युवाका लागि ५ प्रतिशत अर्थात् १५ जना केन्द्रीय सदस्य चयन गरिने क्लस्टरसम्बन्धी प्रस्ताव पारित गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२