बझाङ । बाजुराका छिमेकी जिल्लाहरू बझाङ, अछाम, डोटी मात्रै नभएर सुदूरपश्चिमका अन्य नौवटै जिल्लामा धार्मिक तथा पर्यटकीय गन्तव्य र पर्यटकीयस्थलहरू रहेका छन् । तीमध्ये धेरैजस्ता पर्यटकीय तथा धार्मिक स्थलहरू प्रचारप्रसारको अभाव र बजेट अभावका कारण संकटमा पर्दै जान थालेका छन् । कतिपय पर्यटकीय स्थलहरू सिमाना विवादका कारण ओझेलमा पर्नुका साथै संरक्षण हुन नसक्दा दिन प्रतिदिन संकटमा पर्न थालेका छन् ।
पछिल्लो समय बाजुरा जिल्लाको खप्तड छेडेदह ताल पनि यस्तै स्थितिमा पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु बन्दै गएको खप्तड छेडेदह ताल प्रचारप्रसार, सिमाना विवाद, लगानीको अभावलगायतका कारण ओझेलमा परेको देखिन्छ ।
खप्तड छेडेदह गाउँपालिका पनि यसै तालको नामबाट नामकरण गरिएको हो । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने यस तालको संरक्षणको अवस्था भने निकै चिन्ताजनक छ । यस तालको चारैतर्फ स–साना तर चिटिक्क परेका अग्लाअग्ला भू–भाग रहेका छन् भने बीचमा समतल रहेको यस ताललाई अवलोकन गर्दा जोकोहीको मन पनि लोभिने र मनलाई एकप्रकारको आनन्दमय महसुस हुने भएकाले पछिल्लो समयमा यो स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकको केन्द्रविन्दु बन्दै जान थालेको छ ।

पर्यटकीयस्थलका रूपमा रहेको यस तालले यस क्षेत्रको मात्र नभई बाजुरा जिल्लाको नै शोभा र महिमा बढाउने सम्भावना पनि उत्तिकै बोकेको छ । तर, वडा तथा गाउँपालिकाले भनेजस्तो लगानी गर्न नसक्दा यो दिनानुदिन कुरूप बन्दै जान थालेको यहाँका स्थानीयको भनाइ र भोगाइ छ ।
यहाँका स्थानीयको मुख्य आयस्रोतको माध्यम यही ताल बनेको छ । प्रायः दैनिक तथा मासिक रूपमा सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यस तालको भ्रमण र अवलोकन गर्नका लागि पुग्ने गरेको यस क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएकी खप्तड छेडेदह गाउँपालिका–४ की सुनकेशरी रावतले बताइन् । उनले प्रायः दैनिक र साप्ताहिक रूपमा यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई खान–बस्नका लागि व्यवस्था गर्दै आएकी छन् ।
उनले आफूहरूले भनेजस्तो स्थानीय सरकारबाट केही पनि सहयोग नपाएको गुनासो गरिन् । उनले यस तालको संरक्षण जति मात्रामा हुनुपर्ने हो, त्यो नभएको सुनाइन् ।
यस ठाउँमा पुग्ने गरेका आन्तरिक र बाह्य पर्यटकले ल्याएका विभिन्न प्लास्टिकका बोतल, कागज र सिसा जथाभावी फाल्दा यसको स्वरूप नै बिग्रने खतरा रहेको रावतले बताइन् । उनले भनिन्, ‘यहाँ पुग्ने प्रायः व्यक्ति सामूहिक रूपमै आउँछन्, कतिपयले सरसफाइ गरेर जान्छन् तर कतिपय त्यत्तिकै पनि जान्छन्, अब तालको छेउछाउमा बस्दा र रमाइलो गर्दा तालमै सिसा तथा प्लास्टिक फालिदिँदा यसले दिगो रूपमा असर गर्ने खतरा हुन्छ, पहिलेको तुलनामा अहिले तालको पानीको सतह पनि दिनानुदिन कम हुँदै गएको र सुक्दै गएको अनुभूति हुन थालेको छ ।’
उनले सरोकारवाला निकायले समयमै चासो नदिने हो भने ताल सुक्नुका साथै फोहोर नै फोहोर भएर खप्तड छेडेदह नै कुरूप बन्ने खतरा रहेको बताइन् ।
साथै, रावतले आफ्नो मासिक रूपमा न्यूनतम ३०–३५ हजार रुपैयाँ चोखो कमाइ हुने गरेको समेत सुनाइन् ।
यहाँ पिकनिक खानेहरू बढीजस्तो सहभागी हुने गरेका र सबैभन्दा बढी चाडपर्वको समयमा घुम्न र रमाइलो गर्न आउनेहरूको संख्या बढी हुने गरेको बताउँदै उनले भनिन्, ‘यहाँका नागरिकको आम्दानीको मुख्य स्रोत नै अहिले यो ताल बनेको छ ।’ यहाँ पुगेका पर्यटकले भात खाँदा र नास्ता गर्दा कुनै दिन ४०–५० हजार रुपैयाँ पनि हुने गरेको उनले बताइन् । कुनै समय महिनाभरिमा पनि सुक्को कमाइ नहुने गरेको पनि उनको भनाइ छ ।
वडा नम्बर ४ कै स्थानीय विमल रावतले यो ताल निकै संकटमा रहेको बताए । उनले भने, ‘बर्सेनि तालको एक छेउबाट पहिरो खसिरहन्छ, पहिरो जान थालेको १५–२० वर्ष भयो, पहिरोले दिनानुदिन विकराल रूप लिँदै गइरहेको छ तर पहिरो रोकथामका लागि भने कहीँ कतैबाट पनि पहल हुन सकेको छैन, अब त तालनजिकै पहिरो पुगिसकेको छ ।

स्थानीयवासी विमल रावतले समयमै सरोकारवाला निकायले ध्यान नदिए सुन्दर रहेको यो स्थान मरुभूमिजस्तै देखिने र कुरूप हुनका लागि कुनै समय नै नलाग्ने बताए । उसो त यस क्षेत्रको संरक्षण कसले गर्ने भन्ने अन्योलता नागरिकबीच पनि छ । वडा नम्बर ४ ले यस स्थानलाई आफूहरूको क्षेत्रभित्र पर्ने दाबी गर्छ भने वडा नम्बर ७ ले पनि यो क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ । दुवै वडाका स्थानीय बासिन्दाबीच भएको मतभेद पनि यस क्षेत्रको संरक्षणमा तगारो बनेको पाइन्छ । यसको समस्या समाधानका लागि दुवै वडाका स्थानीय बासिन्दा एकैठाउँमा बसेर तालको संरक्षण गर्नु अहिलेको आवश्यकता देखिन्छ ।
यस क्षेत्रका लागि समयसमयमा प्रदेश सरकारले कनिका छरेजस्तै कहिले ५ लाख, कहिले २–४ लाख रुपैयाँ बजेट विनियोजन गरेर यहाँका नागरिकलाई भुल्याउने काम गरेको पाइन्छ । सो लगानी यस क्षेत्रका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै भएको छ । यस क्षेत्रको संरक्षणका लागि खप्तड छेडेदह गाउँपालिकाले पनि समयसमयमा सामान्य बजेट विनियोजन गरेको देखिन्छ । यस तालको वरिपरि पीसीसी बाटो निर्माण गरिनुका साथै घेरबारसमेत निर्माण गरिएको छ । तर, पूरा भने भएको पाइँदैन ।
गाउँपालिकाको निश्चित बजेट हुने भएका कारण भनेजस्तो एकैपटक लगानी लगाउन सकिने अवस्था पालिकाको नरहेको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताए । उनले भने, ‘यस ठाउँको संरक्षणका लागि हाम्रो पालिकाबाट धेरै प्रयास भएका छन्, हामीले शौचालय निर्माणदेखि घेरबार, होमस्टेसमेत निर्माण गरेका छौं तर सो ठाउँमा गरेको लगानी वर्ष दिन नपुग्दै खेर जाने भएका कारण समस्या हुने गरेको छ ।’
उनले अब पालिकाले नै पहल गरेर दुवै गाउँका समाजसेवी, जनप्रतिनिधि, गन्यमान्य बुद्धिजीवी, सबैलाई सँगै राखेर छलफल अघि बढाई विवादको विषयलाई टुंगो लगाई तालको संरक्षणका लागि पालिका अघि बढ्ने बताए ।
यस क्षेत्रका लागि निर्माण गरिएको शौचालय पनि प्रयोगविहीन अवस्थामा छ । पानीको समेत व्यवस्था छैन । यस्तै, निर्माण गरिएको होमस्टेको अवस्था पनि उस्तै छ । बाहिरी जिल्लाबाट आउने पर्यटक तथा पिकनिक खानका लागि यस स्थानमा पुग्नेहरूका लागि राखिएका भाँडाकुँडा सबै चोरी भएर केही पनि बाँकी नरहेको स्थानीयको भनाइ छ । अहिले बाहिरबाट यहाँ पुग्नेहरू प्रायःले भाँडाकुँडा नै बोकेर जान्छन् । भाँडाकुँडा बोकेर नगएकाले नजिकै रहेको होटलबाट सहयोग माग्ने गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले यस क्षेत्रको विकासका लागि डीपीआर गरेर प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक बजेट माग गर्दै आएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई यसै ठाउँमा पु¥याएर ठाउँको अवस्था’bout जानकारी गराएको पनि उनले बताए । आफूहरूले गाउँपालिकाबाट कार्यपालिकाको बैठकदेखि गाउँपालिकाको सभाबाट समेत वर्षैपच्छिे प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक बजेट माग गर्ने गरेको भए पनि अहिलेसम्म आश्वासनबाहेक केही पनि नपाएको बताए ।
गाउँपालिकाका अध्यक्ष रावतले यस तालमा गाउँपालिकाले माछासमेत राखेको तर यहाँका केही व्यक्तिले बिहान तथा राति कोही पनि नभएको समयमा माछा मार्ने गरेको गुनासो पालिकामा आएको बताए । उनले यस ठाउँको विकासका लागि यहाँका जनप्रतिनिधि र कर्मचारी मात्रै लागेर नहुने भएका कारण सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।






