मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फरक स्वादका चलचित्र

काठमाडौं । विगत तीन दिन देखि काठमाडौँमा जारी ‘१३ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२५’ मा दर्शकको उपस्थिति राम्रो देखिएको छ । यो महोत्सवको उद्घाटन बिहीबार नेपाल पर्यटन बोर्डमा गरिएको भए पनि शुक्रवारबाट चलचित्र विकास बोर्ड चाबहिलमा चलचित्र प्रदर्शन सहित विभिन्न अन्तरक्रिया कार्यक्रम र कला प्रदर्शनी कार्य जारी छ । महोत्सवमा एकै थलोमा विभिन्न स्वादका चलचित्र दर्शकले हेर्न पाएका छन् ।

सोमबार २९ मंसिरसम्म जारी रहने यो महोत्सवमा अहिले विभिन्न देशका चलचित्रकर्मीहरू पनि सहभागी छन् । महोत्सवमा मानव अधिकार तथा अन्य विषयका विभिन्न चलचित्र प्रदर्शन गरिँदै आएको छ । चलचित्र प्रदर्शन सकिए लगत्तै सम्बन्धित चलचित्रका कलाकार तथा प्राविधिकसँग अन्तरक्रिया पनि हुने गरेको छ ।

आयोजक संस्था नेपाल मानव अधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालका अनुसार यो वर्ष महोत्सवका लागि २६ देशका ५० चलचित्र चयन भएका थिए । पाँच दिन भित्र यी सबै चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने पनि उनले बताएका छन् ।

महोत्सवमा आइतबार मात्र १० वटा चलचित्र प्रदर्शन गरियो । आइतबार प्रदर्शन गरिएका चलचित्र मध्य बहुसंख्यक चलचित्र नेपाली नै थियो । महोत्सवमा आइतबार प्रदर्शित मध्य पत्रकार राज सरगमको लघु चलचित्र ‘कलर अफ टी’ (चाह क रंग) एउटा चिया पकाउनेको कथामा आधारित थियो । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चयन भएको यो चलचित्र नेपालमा भने यही महोत्सवमा प्रिमियर गरिएको निर्देशक राज सरगमले बताए ।

यस्तै नेपाल र बेलायतको संयुक्त चलचित्र ‘अन टचेवल’ नेपालको छुवाछुत प्रथामा आधारित थियो । जसलाई निशान्त सिंह गुरुङ र डेभिड जोवनपुत्रेले निर्देशन गरेका थिए । यस्तै नेपालबाटै अश्विनी थापाको ‘इकोज अफ होप’मा कुनै पनि कुरा प्राप्त गर्न दृश्य विश्वास र आत्मबल हुनुपर्ने कुरा एक दुव्र्यसनीको कथा मार्फत देखाइएको थियो ।

यस्तै आइतबार नै डा. सचिन घिमिरेको छोटो चलचित्र ‘करुणा’ पनि महोत्सवमा प्रदर्शन गरियो । नेपाल र कोलम्बियाको संयुक्त ब्यानरमा निर्माण भएको वृत्तचित्र ‘मस्र्याङ्दी विल राईव ः मे यु लिभ एस योङ यस द रिभर’ पनि आइतबार महोत्सवमा देखाइयो । जसलाई नेपालबाट प्रसित स्थापित र कोलम्बियाबाट मारिओना गुलुको टिमले निर्देशन गरेका हुन् ।

आइतबार प्रदर्शन गरिएको नीराजन राज भेटवालको लघु चलचित्र ‘द विटनेश ट्री’, भारतीय निर्देशक रविशंकर कौशिकको ‘ल्याप्टेन’, इरानी र क्यानडाको संयुक्त लघु चलचित्र ‘माई इन्डलेस इक्लिप्से’, नानी स्वार वाल्कर निर्देशित नेपाल अमेरिकाको संयुक्त ब्यानरको चलचित्र ‘शक्ति’ पनि रोचक थिए ।

चलचित्र प्रोजेक्ट कसरी तयार गर्ने भन्ने विषयमा भारतीय निर्देशक रिता मेहरले महोत्सवमा आइतबार नै विशेष प्रवचन दिइन् । एक घण्टाको उनको प्रवचनमा चलचित्र सम्बन्धी शिक्षा लिइरहेको विधार्थीहरुको राम्रो उपस्थिति थियो ।

पर्यटन बोर्ड भृकुटी मण्डपमा उद्घाटन पछि चलचित्र विकास बोर्ड चाबहिलमा नियमित चलचित्र प्रदर्शन गर्दै महोत्सव अघि बढेको छ । यस पटक महोत्सवमा कान्स, बर्लिन्, भेनिस र बुसान जस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएका ‘नाभी लिली’, ‘आजुर’, ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’ जस्ता चलचित्रहरू पनि सहभागी छन् । सोही कारण पनि महोत्सवमा दर्शकको उपस्थिति राम्रो देखिएका महोत्सव निर्देशक आभास रिजालले बताए । उनका अनुसार महोत्सवको अन्तिम दिन सोमबार पनि महोत्सवमा अन्तरक्रिया कार्यक्रमसँगै चलचित्र प्रदर्शन राखिएको छ । सोमबार साँझ समापन समारोहसँगै महोत्सव सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण