धनकुटा । धनकुटामा संचालित डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले एकै वर्ष कोशी प्रदेशका दुर्गम हिमाली र पहाडी जिल्लाका करिब १८ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।
अस्पतालले आर्थिक वर्ष २०८१–०८२ मा १७ हजार ८ सय २५ जनालाई आँखा सम्बन्धी उपचार सेवा उपलब्ध गराएको हो। नेपाल नेत्रज्योती संघले २०७० सालबाट यो अस्पताल संचालनमा ल्याएको हो। दुर्गममा आँखा उपचारको पहुँच बृद्धिको उद्देश्य राखेर संचालित शिविर र बहिरंग सेवाबाट गत वर्ष मोतियाबिन्दु छनौट शिविर, नियमित बहिरंग सेवा, विद्यार्थी आँखा जाँच, निशुल्क चस्मा वितरण कार्यक्रमबाट १७ हजार ८ सय २५ जनाले स्वास्थ्य लाभ लिएको नेत्रज्योती संघ धनकुटा शाखाले जनाएको छ ।
धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभालगायत जिल्लामा संचालित आँखा जाँच तथा शल्यक्रिया शिविरमा बिरामीको प्रारम्भिक जाँच, औषधि वितरण तथा शल्यक्रियाका लागि सिफारिस गरिएको संघका धनकुटा सचिव देवबहादुर खड्काले जानकारी दिए। यो अस्पतालले विपन्न र आर्थिक रुपमा कमजोर बिरामीलाई निशुल्क उपचार तथा चिकित्सकको टोलीले घुम्ती सेवा समेत उपलब्ध गराउँदै आएको छ।






