वीरगन्ज । बारामा रहेको युनिलिभर कम्पनी डाबलर नेपालले महमा किरा भेटिएको व्याचको नमूना नियमनकारी निकायलाई नदिएको तथ्य फेला परेको छ । गएको मंसिर २९ गते डाबरको महमा किरा भेटिएको प्रमाण सहित नियमनकारी निकायमा उजुरी परेपछि अनुगमनमा गएको टोलीलाई किरा र कमिला परेको भेटिएको व्याचको कुनै पनि नमूना नदिई डाबर नेपालले प्रमाण लुकाएको पाइएको हो ।

पुरानो व्याच डिष्प्याच गरिसकिएको भन्दै आधाघण्टा टोलीलाई गेटमा पर्खाएर भित्र पुरै सफाई गरी बल्ल भित्र प्रवेश गराएको तथ्य उजागर भएको छ । डाबर कम्पनीले अनुगमनमा पुगेको नियमनकारी निकायलाई खान योग्य नभएको महको नमूना माग्दा त्यो व्याच बजार गई सकेको भनी हचुवा जवाफ दिएको खुलेको छ ।
टोली आफै विवादमा
अनुगमनमा जाँँदा उपभोक्ता हितमा काम गर्ने संस्था र संचार क्षेत्रका पनि अधिकारकर्मी टोलीमा सामेल गराउने विगतलाई समेत डाबर नेपाल जाँदा छुटाएको पाइएको छ । उपभोक्ताको हितमा काम गर्ने सरोकारवाला निकायलाई टोलीमा नसमेटी सुटुक्क डाबर पुगेको अनुगमन टोलीले उजुरी परेको व्याचको नमूना नै नपाएपछि बल्ल डाबरको महको गुलियोमा टोली पनि लुटपुटिएको रहस्योद्घाटन भएको छ । यो कुरा सञ्जालमा पनि फिंजिएको भेटिएको हो ।
बाणिज्य कार्यालय वीरगन्ज, पर्सा जिल्ला प्रशासन कार्यालय बारा मातहतको इलाका प्रशासन कार्यालय जितपुरसिमरा र जितपुरको प्रहरी कार्यालयका प्रतिनिधि मात्र सुटुक्क त्यहाँ पुगेको डाबर भित्रबाट खुलासा भएको छ । बाराको लिपनीमालमा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबरले अनुगमनमा गएको टोलीलाई आधा घण्टा गेट बाहिर नै कुराई भित्र लुकाउने र सफा गर्ने युनिट सफाई सकेर मात्र प्रवेश दिएको टोलीका सदस्यले समेत आशंका गरेका छन् ।
एनबी ००४२१ व्याच नम्बरमा किरा
डाबर नेपालले उत्पादन गरेको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक महको बट्टामा कमिला र किरा फेला परेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न गएको मंसिर २९ गते नै उजुरी समेत परेको छ । खाद्य सुरक्षाका दृष्टिकोणले यस्तो बस्तु महमा भेटिनु क्षम्य नहुने खाद्य सुरक्षा ऐनले प्रष्टै उल्लेख गरेको छ ।

तर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ लिपनीमालमा रहेको डाबर नेपालले उत्पादन गरेको महमा अखाद्य बस्तु भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च नेपालले समेत गम्भिररुपमा चासो देखाएको मञ्चका केन्द्रिय सदस्य अजित भुजेलले बताए । तथ्य फेला पारी छानविनका लागि उजुरी दिए पनि राज्यका नियमनकारी निकायले त्यहाँ गएजस्तो गरी सुनपानी छर्केर फर्किएको उनको आरोप छ । बाणिज्य कार्यालय वीरगन्जले उपभोक्ता हितमा काम गर्ने र संचारका कुनै पनि अधिकारकर्मी नलिई त्यहाँ जानु उल्टो आश्चर्य भएको उनको तर्क छ । मन मिल्ने केही प्रहरी र प्रशासनको प्रतिनिधि मात्र लिएर त्यहाँ गई दोषीलाई उन्मुक्ति दिने काम भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको आरोप छ ।
कम्पनीको उत्पादनमा अनुगमन गरी कार्वाही होस् भनी उपभोक्ता हित संरक्षण मञ्चले माग गर्नु अन्यथा होइन । तर संचारकर्मी र उपभोक्ताको तर्फबाट पनि कसैलाई टोलीमा सामेल नगराई डाबरमा सिमित संस्थाका प्रतिनिधि सुटुक्क जानु अवैध साँठगाँठको गन्ध आएको मञ्चका केन्द्रिय सदस्य भूजेलले राजधानी दैनिकसँग बताए ।
बच्चालाई मह किन्न गएका स्थानीय दिनेश भन्ने व्यक्तिले महमा खराबी भेटिपछि बट्टा सहित मञ्चमा पुगी जानकारी गराएपछि सकृय हुँदा त्यस्तो आधा दर्जन महका डब्बामा कमिला र किरा फेला परेको छ । अनिमात्र सम्बन्धित पक्षमा उजुरी गरिएको उनले बताए ।
उद्योग नेपालमा, अधिकाँश श्रमिक भारतीय
नेपाली भूमिमा उद्योग स्थापना गरी डाबर नेपालले अधिकाँश भारतीय श्रमिक राखी खाद्यवस्तु उत्पादनमा नेपाली उपभोक्तालाई ठगी गर्दै आएको गुनासो योभन्दा पहिले पनि नआएको होइन । सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा समेत डाबर नेपाल पछिल्लो समय पन्छिने गरेको जनगुनासो बढेको समयमा डाबर नेपालले ठिक एकवर्ष अगाडी उत्पादन गरेको महमा समस्या रहेको खुलेको छ । कहिले तौलमा फरक पार्ने त कहिले अखाद्यबस्तु भेटिने मात्र नभई हज्मोलाको प्याकेटमा समेत केही प्याकेट खाली‐खाली प्याक गरी त्यसमा समेत उपभोक्तालाई डाबर नेपालले ठगी गर्ने गरेको प्रमाण सुरक्षित भेटिएको छ ।
फ्लेवर फलफूलको, डाबरको जुश केमिकलको
फलफूलबाट मात्र उत्पादन गरिएको भनिएको डाबरको जुश त सबै केमिकलबाट पो बन्दोरहेछ अनुगमनमा पुगेका बाणिज्य कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाले खुलासा गरे । विभिन्न ड्रममा राखिएको फ्लेबर (आँप, लिची, अम्बा) हालेर स्वाद मात्र दिने गरेको रहस्य बल्ल थाहा भएको अनुगमनमा गएका टोलीका अन्य सदस्यले पनि खुलासा गरे ।
उद्योगको अनुगमन र उत्पादनमा के कस्तो अवस्था छ ? भनी युनिलिभर कम्पनी डाबर नेपाल बारा युनिटमा अनुगमन टोली गएको बिहिबार पुगेको थियो । अखाद्य मह फेला परेपछि उपभोक्ता ऐन २०७५ बमोजिम कार्वाही हुनु पर्ने दवाव बढेको छ । डाबर नेपालले नमूना समेत उपलब्ध नगराउनु सामाजिक उत्तरदायित्व समेत पूरा नगरेको स्थानीय बुद्धिजिबीहरुको आरोप छ ।
‘पुरानो लट डिष्प्याच गरियो’ भनी नमूना समेत उपलब्ध नगराएपछि टोली अहिलेको ७÷८ नम्बरको वर्तमान नमूना बोकेर लुरुक्क फर्किएको पाइएको हो ।
कुनै अधिकारकर्मीहरुलाई पनि डाबर नेपालले कहिले पनि मैत्रीपूर्ण व्यवहार नगर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजय अधिकारीले पनि बताए । डाबरले राजश्व दिन्छ भनी माथि पनि मख्ख त छ । तर यसले उत्पादन गरी नेपालमा विक्रिवितरण गर्ने सामानमा कैफियत भेटिने गरेको उनको भनाइ छ ।
डाबर नेपाल बारास्थित उद्योगका प्रशासन प्रमुख आशुतोष यादवसँग धेरैपटक सम्पर्क गरिए पनि उनले कम्पनीको कमजोरी बाहिर निस्कने डरले केही जवाफ दिनै चाहेनन् ।
सम्बन्धित समाचार
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
भन्सार एजेन्टको आन्दोलनले राजश्व संकलन गर्ल्याम्म
मधेशमा आत्महत्याको अवस्था भयावह बन्दै
डाबर नेपालको महमा अखाद्यबस्तु
विष्णुपुर गाउँपालिका-२ बालविवाह मुक्त वडा घोषणा
त्रिशलामा मृत भेटिएकी सुनिताको पक्षमा कडा प्रदर्शन
लुनावतको दाल फ्याक्ट्रीमा करोडौको सुपारी
हटाइयो ३१ घुमुवा प्रहरी






