भोजपुर । ऐतिहासिक धार्मिक पर्यटकीय स्थल किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइँको गन्तव्य बनेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको यो स्थानमा पर्यटक लक्षित गरेर पदमार्गसँगै आवश्यक संरचना निर्माण गरिएपछि पर्यटकको रोजाइँको गन्तव्य बनेको हो ।
यहाँका तीन वटा ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवी देवस्थललाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणा अनुसार विकास गर्ने कार्य भइरहेको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर दीर्घकालीन महत्वका साथ विकास तथा विस्तारको काम भइरहेको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । पर्यटकीय क्षेत्रको विकाससँगै यो स्थान आन्तरिक पर्यटकको लागि रोजाइँको गन्तव्य बनेको उनको भनाइ छ ।
पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्राम स्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।
त्यस्तै, पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । ‘पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेका छौँ,’ उनले भने, ‘अहिले यो क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।’
पाँचधारे पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत राख्दै जीर्णोद्धार तथा संरक्षण गरिएको उनको भनाइ छ । पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको पनि उनले बताए ।
किरातेश्वर ढुङ्गे बगैँचा र ऐतिहासिक पाँचधारे पोखरीको ठूलो धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताए । किरातेश्वर ढुङ्गे बगैँचा किरातीहरूको आस्था केन्द्रको रूपमा रहेको उनले जानकारी दिए । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
‘किरातेश्वर ढुङ्गे बगैँचा र पाँचधारे पोखरी ऐतिहासिक धार्मिक महत्व बोकेका स्थल हुन्,’ उनले भने, ‘यहाँ पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना बनेका छन् । यसले यहाँको पर्यटन विकासमा टेवा पुगेको छ ।’
सम्बन्धित समाचार
कालीगढ पेसालाई पुस्तान्तरणको खाँचो
धनकुटामा धान उत्पादन घट्यो
दोहोरो कर प्रक्रियाले भोजपुरका कृषि फर्म खारेजीको क्रम बढ्दो
खजुरी नेपालद्वारा स्वदेशी उद्योगमाथि प्रहार नगर्न आग्रह
पोखरा रोयल वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था
तीन तहका सरकारबीच नीतिगत असमन्वयले हस्तकला क्षेत्रमा कच्चा पदार्थको समस्या
जन्तेढुङ्गा गाउँपालिकाका सबइन्जिनियरमाथि हातपात
द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को उपाधि वन क्रू ओडिशालाई






