भोजपुर । परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुची घट्दैजाँदा भोजपुर जिल्लामा भोजपुरे खुकुरी उत्पादनमा संकट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् ।
पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा संकटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ ।
खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माले बताए । कालीगढ पेसामा नयाँ पुस्ताको रुची हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको भनाइ छ ।
‘पछिल्लो समय भोजपुरे खुकुरीको देश विदेशबाट माग आउने गरेको छ,’ उनले भने, ‘गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ, बजारको मागलाई धान्न मुस्किल छ, यस पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।’
मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उनले बताए । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम हजार रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्म पर्ने व्यवसायी दिनेश गजमेरले जानकारी दिए । बाहिरका जिल्लाबाट २–४ सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उनको भनाइ छ ।
विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसको संख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा संकटमा पर्दै गएको उनले बताए ।
विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको समेत अभाव देखिन थालेको छ ।






