२७ औं पोखरा सडक महोत्सव सुरु

पोखरा । पोखरामा सडक महोत्सवअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरैजना विदेशतिर जाने प्रचलन थियो । नेपालमा आकर्षक कार्यक्रम नहुँदा पोखरा घुम्न आएका विदेशी पर्यटक पनि स्वदेश फर्किन हतारिन्थे ।

साढे दुई दशकयता पोखरा फेवाताल किनारमा निरन्तर हुँदै आएको पोखरा सडक महोत्सवले भने आन्तरिक एवं बाह्य पर्यटकका लागि पोखरा गन्तव्य बन्दैआएको छ । साथै, पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले सडक महोत्सवलाई झण्डै ३ दशकदेखि निरन्तरता दिएसँगै नेपाली मात्र नभएर विदेशी पर्यटक पनि फेवाताल किनारमै नयाँ वर्ष मनाउन लालायित हुने गरेका छन् । रेवान पोखराले आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पुसको चिसोमा पोखरा सडक महोत्सव गर्दै आएको छ ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ पोखराका रेष्टुरेन्ट व्यवसायीले विभिन्न खानाका परिकारबाट पाहुनाको स्वागत गर्ने गर्छन् । नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुँदैआएको यो महोत्सव ताल किनारको करिब साढे ३ किमी सडक क्षेत्र ओगट्छ ।

अंग्रेजी नयाँ वर्ष–२०२६ पूर्व सन्ध्यामा आइतबारदेखि सुरु महोत्सव नयाँ वर्षको स्वागत गर्दै ५ दिनपछि सकिनेछ । महोत्सवस्थलमा विभिन्न सांगीतिक एवं सांस्कृतिक कार्यक्रममेत हुँने आयोजकले जनायो ।

महोत्सवको भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले उद्घाटन गरे ।

मन्त्री घिसिङले पर्यटकीय राजधानी पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टिभिटी बढाउनुपर्ने बताए । पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टिभिटी सहज बनाउनुपर्ने उनको भनाइ थियो । उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले संरक्षणमा सबैजना लाग्नुपर्ने सुझावसमेत दिए ।

उनले आगामी २१ फागुनको निर्धारित प्रतिनिधिसभा सदस्य चुनाव सफल बनाउनु अहिलेको सरकारको मुख्य दायित्व भएको पनि बताए । चुनावले देशलाई स्थायित्व दिने भएकाले २१ फागुनमा जसरी पनि चुनाव हुन्छ र हुनुपर्छ भने ।

गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए ।

पोखराका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न मन्त्री घिसिङसमक्ष आग्रह गरे । उनले पोखरा पर्यटकीय राजधानी भएको तथा यस वर्ष पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष–२०२५ समेत मनाइरहेको बताउँदै पर्यटन प्रवद्र्धनमा सबैजना लाग्नुपर्ने बताए ।

महोत्सव आयोजक रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवमा करिब ५ लाख पर्यटक भित्राइने लक्ष्य रहेको बताए ।

कार्यक्रम संयोजक वसन्त गौतममका अनुसार महोत्सवमा विभिन्न खानाका परिकारसहित लाइभ कन्सर्ट, लोपोन्मुख झाँकी, मौलिक भेषभूषा, परम्परागत नृत्य, खेलकुद गतिविधि, टक शो, पोखराको सौन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शनी, फोटो प्रदर्शनी लगायत गतिविधि हुने छन् । खेलकुदतर्फ फेवातालमा बोट रेस, वेटर रेस, टग अफ बार लगायत हुनेछन् ।

रेवान पोखरा महासचिव वीरेन्द्र शेरचन पोखरा आफैँमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला संग्रहालय रहेको उल्लेख गर्दै महोत्सवले यही पहिचान स्थापित गर्दै पर्यटन र अर्थतन्त्रमा टेवा पुग्ने विश्वास लिएको बताए । विशेषगरी जाडोयाममा सुस्ताउने पर्यटन व्यवसाय चलायमान बनाउँदै ‘बाह्रै महिना पोखरा’ को सन्देश विश्वभर प्रवाह गरेको बताए ।

महोत्सव उद्घाटनअघि हल्लनचोकदेखि कोमागाने पार्कसम्म झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए ।

महोत्सवले गाउँ गाउँमा उत्पादित कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शन र बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको आयोजकको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

बज्रधातु चैत्यकोे सार्वजनिक जग्गा व्यक्तिको नाममा