चितवन । चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । यही पुस २४ र २५ गते जलपक्षी गणना गरिने भएको हो ।
नेपालमा हरेक वर्ष जनवरी ३ देखि १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । चितवन र नवलपरासीको त्रिवेणीसम्म एकै पटक चरा गणना गर्न लागिएको हो । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथरदेखि जलपक्षी गणना सुरु गरिने छ । पुस २४ गते नदीहरुमा तथा पुस २५ गते तालतलैयामा जलपक्षी गणना गरिने छ । गणनाका लागि ७० चराविज्ञ सहभागी हुने उनले जानकारी दिए । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिने छ भने नारायणी नदीमा पनि चरा गणना गरिने छ ।
यस्तै माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन क्षेत्र तथा बूढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म जलपक्षी गणना गरिने छ ।
‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार देशैभर जलपक्षी गणना गरिँदै छ । राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत जलपक्षी गणना गरिने उनले जानकारी दिए ।
‘बर्ड एजुकेसन सोसाइटी, नेपाल’ पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा जलपक्षी गणना गर्न लागिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । सङ्घका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका तथा चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ देखि चरा गणना थालिएको हो । यस वर्ष ६०औँ पटक गणना गरिँदै छ ।
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसिया लगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने गरेका उनले जानकारी दिए । चिसो छल्नका लागि चरा यहाँ आउने गरेको विडारीले बताए । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।
सम्बन्धित समाचार
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
५१ प्रतिशतले बढीले भोग्छन् मानसिक हिंसा






