उदयपुर । विवाहको निमन्त्रणामा बेहुला–बेहुलीको जन्ममिति लेख्नैपर्ने अभियान चलाइएको छ । बालविवाह न्यूनीकरण गर्न उदयपुरमा यस्तो अभियान सुरु गरिएको हो । मुलुकी संहिता २०७४ ले विवाह गर्न युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन । उमेर नपुगेको भन्दै कोही मण्डप र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले विवाहको निमन्त्रणामै जन्ममिति राख्ने अभियान चलाएको हो ।
छापाखानाले बेहुला–बेहुलीको जन्ममिति उल्लेख भए मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने गरेका छन् । सबैलाई बेहुला–बेहुलीको उमेर’bout जानकारी दिन यस्तो कदम थालिएको हो । मुलुकी संहिता २०७४ मा बालविवाहलाई दण्डनीय अपराध भनिएकाले ‘विवाहबारी २० वर्ष पारि’ भन्ने अभियान चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियतामा सञ्चालित अभियानअन्तर्गत सदरमुकाम गाईघाटमा केही दिनयता छापिएका विवाहको निमन्त्रणामा बेहुला–बेहुलीको जन्ममिति उल्लेख गरिएको पाइएको छ ।
छापाखानाले विवाहको निमन्त्रणा छाप्दा बेहुला–बेहुलीको जन्मदर्ता वा नागरिकता हेरेर जन्ममिति खुलाउन थालेका छन् । प्रहरीले छापाखानालाई कार्डमै बेहुला–बेहुलीको उमेर खुलाएर छपाइ गर्न अनुरोध गर्दै पत्राचारसमेत गरेको छ ।
‘निमन्त्रणा कार्डमै जन्ममिति वा उमेर खुलाइँदा बालविवाह कम हुने विश्वास लिइएको छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढा मगरले भने, ‘कानुनतः बालविवाहमा सहभागी हुने बेहुला बेहुली, अभिभावक र आफन्त, जन्ती सबै कारबाहीको भागीदार हुन्छन् । तर, निम्तो मान्न गएका आफन्त, जन्तीले बेहुला–बेहुलीको उमेर थाहा नपाएर अनावश्यक दुःख पाउने गरेकाले सार्वजनिक रूपमा निमन्त्रणा कार्डमै जन्ममिति वा उमेर खुलाउन आह्वान गरेका हौं ।’
गत २५ मंसिरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले बालविवाह भइरहेको अवस्थामा बेहुला–बेहली, आफन्त र जन्तीलाई पक्राउ गरेको थियो । जन्तीले विवाहको निम्तो मान्न जाँदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरले कार्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको हो ।
सरकार र अभियन्ताले बालविवाह रोक्न लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कार्डमा उमेर राख्ने व्यवस्थाले बालविवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न सहयोग गर्ने अभियन्ताले विश्वास लिएका छन् ।
‘निमन्त्रणा कार्डमै जन्ममिति उल्लेख गर्दा बालविवाह छुट्याउन सजिलो हुन्छ,’ बालविवाह न्यूनीकरण अभियन्ता तथा गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य महेश्वरी राईले भनिन्, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्नेछ ।’
मुलुकी संहिता २०७४ मा बालविवाह गरे वा सो कार्यमा संलग्न भएको पाइए तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी व्यवस्था छ । उमेर नपुगी विवाह गर्दा शिक्षा र स्वास्थ्यमा असर पर्ने मात्र नभई पछिल्लो समय सम्बन्धविच्छेदका घटना पनि उत्तिकै बढेको प्रहरीको ठहर छ ।
‘कर्मचारी मिलन केन्द्र, कार्यालय प्रमुखहरूको बैठक र भेलामा विवाहको निम्तो कार्डमा बेहुला–बेहुलीको उमेर खुलेको प्रमाण भए मात्रै विवाहमा सहभागी हुने भन्ने कुरा उठेको हो,’ प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘बालविवाह न्यूनीकरण गर्न कर्मचारीले विवाहमा सहभागी हुँदा उमेर खुलेको आधारमा मात्रै सहभागी हुने कुरा भएको थियो । तर, कार्डमै मिति उल्लेख गर्नुपर्ने अनिवार्य व्यवस्था भने गरिएको छैन ।’
केही दिनअघि प्रहरीले बालविवाह भइरहेको सूचनाका आधारमा त्रियुगा नगरपालिकाका–२४ वर्षीय भूपध्वज कार्की र १९ वर्षीया लेखाकुमारी थापासहित अभिभावकलाई पक्राउ गरेको थियो । बालविवाह भइरहेको उजुरी आएपछि प्रहरीले विवाह मण्डपबाटै बेहुला–बेहुली र उनीहरूका अभिभावकलाई पक्राउ गरेको थियो । प्रहरीले बेहुला, उनका बाबु पदमबहादुर कार्की, बेहुली लेखाकुमारी र उनकी आमालाई नियन्त्रणमा लिएको थियो ।
बेहुला–बेहुली र अभिभावकलाई नियन्त्रणमा लिएलगत्तै स्थानीय बाल क्लब, जनप्रतिनिधि र प्रहरीसमेतको रोहबरमा दुलहीको उमेर २० वर्ष पुगेपछि विवाह गरिदिने सहमति गरेर बेहुला–बेहुलीलाई अभिभावकको जिम्मा लगाइएको थियोे ।