काठमाडौं । आगामी जुन-जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि जारी ग्लोबल छनोटमा नेपालले खराब सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
महिला टी-२० विश्वकप ग्लोबल छनोट
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । २ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १/१ विकेट लिए ।






