मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन मकवानपुरमा रोचक देखिने भएको छ । नयाँ दलबाट उम्मेरदार बनेका युवा नेता र पुराना दलको पुराना नेताहरुबीचको चुनावी मैदान रोचक देखिने भएको छ । जहाँ पटक पटक निर्वाचनमा हारको सामना गरेका र नयाँ युवाहरुको पहिलो प्रयास एकै मैदानमा देखिने भएको छ ।
दुईवटा निर्वाचन क्षेत्र भएको मकवानपुरमा दुबैमा नयाँ र पुरानाको प्रतिष्पर्धा हुने भएको छ । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेका रामेश्वर राना, कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, राप्रपाका दीपक बहादुर सिंह मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका छन्। यि पुराना दलका पुराना नेताहरुसँग प्रतिष्पर्धामा उत्रेका नयाँ दलका युवाहरुको पनि चर्चा कम छैन । चर्चित पुराना नेताहरुसँग मैदानमा को आयो भन्ने प्रश्नले नै नयाँ युवाहरुको प्रचार भइरहेको छ । यसो त यो क्षेत्रमा स्वतन्त्र युवा, राष्ट्रिय स्वतन्त्रा पार्टी, जनता समाजवादी पार्टी, र अन्य साना दलका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिने भएका छन्।
यस क्षत्रबाट पुरानो पार्टीहरुको नयाँ रुपमा देखिएको नेपाली कम्युनिस्ट पार्टीले पनि युवा नेतालाई उभ्याएको छ । यस पार्टीबाट विजय गौतम उम्मेदवार छन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेती (रमेश) ले उम्मेदवारी दिएका छन् ।
रास्वपाका प्रकाश गौतम, जसपाका दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रुपक लामा, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पनि यही क्षेत्रका उम्मेदवारी हुन् ।
सो क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेवार बनेका अमर दंगाल, अमिक परियार, टीकाप्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञान सागर लामाले उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा कांग्रेसकी डिना, एमालेका राना र राप्रपाका सिंह देखिएका छन् । २०७९ को निर्वाचनमा सिंहले सो क्षेत्रमा चुनाव जित्दा कांग्रेसकी डिना दोस्रो भइन् । एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापा तेस्रो स्थानमा सीमित भए ।
२०६४ मा यही क्षेत्रमा हार व्यहोरेका राना एमालेका त्यागी नेताको रूपमा चिनिन्छन् । बलियो संगठन रहेको एमालेले सो क्षेत्रमा यस पटक रानाको सादगी र भद्र स्वभावलाई भजाउने रणनीति बनाएको छ । डिना, राना र सिंह मकवानपुरमा चिनिएका र पुराना पात्र हुन् । डिना २०४८ देखि प्रत्यक्ष तथा समानुपातिक सूचीमा रहेर चुनावी मैदानमा उत्रिँदै आएकी छन् । २ पटक समानुपातिकतर्फबाट सांसद बनेकी डिना जलस्रोत राज्यमन्त्री पनि भइन् । प्रत्यक्षतर्फको कुनै पनि प्रतिस्पर्धामा उनले जित हात पार्न सकेकी छैनन । राप्रपाका सिंह पञ्चायतकालमा हेटौंडा नगर पञ्चायत र जिल्ला विकास समितिको महत्वपूर्ण जिम्मेवारीमा रहेका पात्र हुन् ।
गत निर्वाचनमा सिंह विकास र सुशासनको मुद्दा लिएर चुनावी मैदानमा छन् । उनी २०७९ को निर्वाचनपछि जलस्रोत राज्यमन्त्री र पूर्वाधार विकास समितिको सभापति थिए । नेपाली कम्युनिस्ट पार्टीले भने युवा वर्गबाट सो क्षेत्रमा उम्मेदवार उतारेको छ । विद्यार्थी राजनीतिबाट उदाएका गौतम माओवादी पृष्ठभूमिका हुन् । २ वटा विषयमा स्नाकोत्तर गरेका गौतम पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । उनले जनयुद्ध त लडेनन्, तर माओवादीको विद्यार्थी संगठनमा रहेर विद्यार्थी आन्दोलनको मोर्चामा अग्रपंक्तिमा रहेर काम गरेका थिए । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा सचिवालयमा रहेर गौतमले काम गरेका थिए । डिना, सिंह र रानाबिचको प्रतिस्पर्धामा गौतमले युवाको मत आफूतिर तान्नेमा उनी विश्वोस्त छन् ।
यता प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती नयाँ र युवा उम्मेदवार हुन् । यसैगरी रास्वपाबाट उम्मेदवार बनेका प्रकाश गौतम व्यवसायी हुन् ।उनी पनि पहिलो पटक चुनावी मैदानमा आएका हुन् । होटल व्यवसाय चलाउँदै आएका गौतम सो क्षेत्रका लागि नयाँ उम्मेदवार हुन् । रास्वपामा पछिल्लो समय बढेको लहरलाई मतमा बदल्ने दाउमा रहेका गौतम मैदानमा आएका
छन् । तर उनको टिकट प्रति पार्टी भित्रै असन्तुष्ट पक्ष बलियो बनेको बुझिएको छ । यसले गर्दा उनलाई पहिले पार्टीको आन्तरिक विमति मिलाउनु पर्ने चुनौति छ । रास्वपा केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारले राजनीति र पैसाका सम्बन्धमा गरेको टिप्पणीले रास्वपाभित्रको असन्तुष्टि छताछुल्ल पारेको छ । जिल्ला सभापति भरत पराजुली, सल्लाहकार विष्णु गौतम लगायतलाई समेत थाहै नदिएकन गौतमले केन्द्रबाट टिकट ल्याएपछि रास्वपाभित्र असन्तुष्टि व्यक्त भइरहेको छ ।
सो क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पुराना दलका उम्मेदवासँग प्रतिष्पर्धामा आफूलाई उभ्याएका छन् ।
सम्बन्धित समाचार
महामन्त्रीद्वय थापा र शर्मासँग देउवाले आज छलफल गर्ने
प्रचण्ड छलाङ : एकै वर्षमा २१औं एकता
आयोगले थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिलाई दियो मान्यता
देउवा पक्षलाई हाम्रो समर्थन छ: महेश बस्नेत
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)






