यतिखेर सम्पूर्ण नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । सरकारले विगत दुई महिनादेखि लगाउँदै आएको लकडाउनका कारण आमनागरिकको जनजीवन अत्यन्तै कष्टकर भएको छ । दैनिक रूपमा श्रम गरेर गुजारा चलाउँदै आइरहेका कैयौं नागरिकको घरमा बिहानबेलुकी चुलोको जोहो गर्नसमेत कठिन भइरहेको छ । नागरिक एकातिर रोगसँग लड्नुपर्ने बाध्यतामा छन् भने अर्कोतिर भोकसँग लड्नुपर्ने दोहोरो चपेटामा परेका छन् । लकडाउन पनि तत्काल खुल्ने अवस्था देखिँदैन । त्यसैले, सरकारले अब नागरिकलाई रोग र भोक दुवैबाट बचाउने गरी प्रभावकारी कार्यक्रम ल्याउन ढिलाइ भइसकेको छ ।
राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले आफ्नो कौशल र क्षमता प्रदर्शन गर्ने यस्तै संकटको बेलामा हो । तर, यतिखेर हाम्रा दुवै नेतृत्व अलमलमा देखिन थालेका छन् । राजनीतिक नेतृत्वबाट जति आशा गरिएको थियो सोअनुसारका कार्य अघि बढ्न सकेका छैनन् । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले यस महासंकटबाट मुलुकलाई पार लगाउन सकिने र त्यसका लागि आमनागरिकमा उच्च मनोबल आवश्यक रहनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले कोरोना संकट र त्यसबाट पार लगाउनका लागि विभिन्न कार्ययोजना र कार्यक्रम ल्याउने उद्घोष गरे पनि उनका सारथिका रूपमा रहेको प्रशासनिक संयन्त्रले चुस्तदुरुस्त काम गर्न नसक्दा सरकारको कामको प्रभावकारिता पटक्कै देखिन सकेको छैन । यस्तो संकटको समयमा पनि मुलुकको प्रशासनिक संयन्त्र चलायमान हुन नसक्नु घोर विडम्बना भएको छ । सरकारले लकडाउनको समयमा धेरै कर्मचारीलाई पनि सार्वजनिक बिदासरहको सुविधा दिँदै आएको छ तर कतिपय अत्यावश्यक काम हुने कार्यालयका कर्मचारी तथा प्रशासनिक नेतृत्वका रूपमा रहेका सचिव, सहसचिवहरू भने नियमित रूपमा नै कार्यालयमा गइरहेका छन् । तर पनि उनीहरूको काम कार्यालय जाने र फर्कनेमा नै बित्ने गरेको छ । सबै कर्मचारीको मुख्य नेताका रूपमा रहेका मुख्यसचिवले यस्तो समयमा सबै सचिव तथा सहसचिवलाई कोरोनासँग जुध्नका लागि सक्रिय बनाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन ।
अर्कोतिर राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्रीहरू पनि यस्तो संकटको समयमा आफ्नो मन्त्रालयअन्तर्गत रहेका निकायबाट आमजनतालाई कसरी र कस्ता खालका सेवासुविधा दिन सकिन्छ भन्नेमा दत्तचित्त भएर लागेको देखिँदैन । मन्त्रीहरूको सल्लाहकारका रूपमा रहेका सचिवहरूसमेत निष्क्रिय बसिदिँदा राज्यको महŒवपूर्ण अंगका रूपमा रहेको प्रशासन संयन्त्र नै गुमनामजस्तो बन्न पुगेको छ । प्रशासनले आफूमा रहेको योग्यता र दक्षता देखाउने समय नै यही संकटको बेलामा हो । तर, विडम्बना उनीहरूमा खारिएको क्षमता मुलुकको संकट निवारणमा प्रस्फुटन हुन सकेको छैन । योजना निर्माण गरी नागरिकलाई रोग र भोकबाट सहजै उन्मुक्ति दिलाउने कार्यमा प्रशासनिक संयन्त्र करिबकरिब असफल नै भइसकेको छ । राजनीतिक नेतृत्वले अह्राएको काम मात्रै हामीले गर्ने हो भन्ने चिन्तन र प्रवृत्तिबाट सिंगो प्रशासन संयन्त्र मुक्त हुन जरुरी छ । संकटको बेला राजनीतिक नेतृत्वलाई सही बाटो देखाएर संकट समाधान गर्न अग्रसर रहनु नै सिंगो प्रशासनयन्त्रको अबको लक्ष्य हुनुपर्छ ।






