काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र फिनल्यान्ड सरकारले आज ‘झल्कोस् पश्चिम रुकुमका झलकहरू’ नामक बालबालिकाद्वारा खिचिएका तस्बिर प्रदर्शन गरेको छ । आपत्कालीन अवस्थामा शिक्षा’bout बालबालिकाको आवाज प्रस्तुत गरिएको उक्त प्रदर्शनीले बालबालिकालाई शिक्षाको निरन्तरता सुनिश्चितताका लागि सन्देश दिएको छ ।
यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र फिनल्यान्ड सरकारबीचको दीर्घकालीन साझेदारीको हिस्सा भएको आयोजकले जनाएका छन् । गत नोभेम्बर २०२५ मा जाजरकोट भूकम्पबाट प्रभावित पश्चिम रुकुमको भेरी दोभान माध्यमिक विद्यालयका विद्यार्थीका लागि तीनदिने फोटोग्राफी कार्यशाला आयोजनापछि विद्यार्थीहरूले खिचेका तस्बिरहरू प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्का बाबजुद पनि बालबालिकाको सिकाइ निरन्तर राख्न नेपालले दृढ प्रतिबद्धता देखाएको बताए । उनले सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा नेपाल सरकार र साझेदारहरूसँग काम गर्न पाउँदा उत्साहित भएको भन्दै खुसी पनि व्यक्त गरे ।
उक्त क्षेत्रमा भूकम्प तथा आपत्कालीन अवस्थापछि फिनल्यान्डको सहकार्यमा युनिसेफले तीन सय ८३ अस्थायी सिकाइ केन्द्र स्थापना गरी तत्काल सिकाइ निरन्तरता सुनिश्चित गरेको थियो । अहिले विद्यालय पुनर्निर्माणको क्रममा छ ।






