सप्तरी । सप्तरीमा प्रतिनिधीसभा सदस्य निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । कतै काका–भतिजा एक आपसमा भीडेका छन भने कतै नयाँ दल खोलेर आफनो पुरानो पार्टीका अध्यक्ष विरुद्ध नै चुनावी प्रतिस्पर्धामा ओर्लेको पाइएको छ । कतै जितको ह्याट्रिक लगाएका उम्मेदवार अर्को जित हात पारेर इतिहास रच्ने दाउमा लागेका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा एमालेबाट ताराकान्त चौधरी चुनावी मैदानमा ओर्लेका छन भने उनका भतिजा अमरकान्त चौधरी रास्वपाबाट उम्मेदार बनेका छन । काका–भतिजा आमने सामने भएपछि चुनावमा रोचक प्रतिस्पर्धा देखिएको स्थानीय मतदाताहरु बताउँछन ।
यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली काँग्रेसका दिनेश कुमार यादले ताराकान्त चौधरीलाई हराउँदै बाजी मारेका थिए । यादव यस पल्ट पनि काँग्रेसको तर्फबाट चुनावी मैदानमा छन ।
- कतै काका–भतिजा, कतै नयाँ र पुराना आमने सामने त कतै ह्याट्रिक गरेका उम्मेदवार अर्को विजयीको दाउमा
- तीन पार्टीका राष्ट्रिय अध्यक्ष सप्तरीको चुनावी मैदानमा
यस क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी मैदानमा छन । उनको प्रवेशले चुनावलाई थप रोचक बनाएको छ । यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका दिनेश कुमार यादव, एमालेका ताराकान्त चौधरी, राष्ट्रिय मुक्ती पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल र रास्वपाका अमरकान्त चौधरी बीच मुख्य प्रतिस्पर्धा हुने मतदाताको आकलन छ ।
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चुनावी मैदानमा छन । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका उनलाई यस पल्ट त्यति सहज देखिएको छैन । अघिल्लो निर्वाचनमा उनकै पार्टीबाट यस क्षेत्रमा प्रदेश सभासदस्यमा जितेर मुख्यमन्त्री समेत भइसकेका सतिष कुमार सिह नयाँ दल स्वभिमान पार्टीबाट यसै क्षेत्रमा उम्मेदवारी दिएका छन ।
यस्तै जनमत पार्टी छाडेर जनअधिकार पार्टी खेोलेका राष्ट्रिय अध्यक्ष शरद सिह यादव पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसले डा. राउतलाई तनाव थपेको छ । यद्यपी उनी यस पल्ट पनि जित निकाल्ने बताउँदै आएका छन् । यो क्षेत्रमा हाल सम्म साँसद दोहोरिएको इतिहास छैन । यस क्षेत्रबाट रास्वपाका यूवा नेता रामजी यादव, जसपा नेपालबाट पूर्व मन्त्री उमेश प्रसाद यादव, नेपाली काँग्रेसबाट जिल्ला उपसभापती राम कुमार यादव, नेपाल जनता पार्टीबाट पूर्व प्रतिनीधी सभासदस्य एवं महामन्त्री रञ्जु ठाकुर, राष्ट्रिय मुक्ती पार्टीबाट पूर्व मन्त्री अनिस अन्सारी, नेकपाबाट सुर्यनाथ यादव, उज्यालो नेपाल पार्टीका डा दिपक चौधरी पनि प्रतिस्पर्धामा देखिएका छन ।
सप्तरीको क्षेत्र नम्बर १ मा नयाँ र पुराना बीच कडा टक्कर हुने देखिएको छ । नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेका युवा नेता ई.सुमित साह, जनमत पार्टीका तर्फबाट डा.जयकान्त राउत, नेपाली काँग्रेसका जिल्ला सभापती रामदेव साह, एमालेका नेता सुमनराज प्याकुरेल, रास्वपाकी पुस्पा चौधरी मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साहले जितेका थिए । यसपल्ट उनका छोरा र्इं.सुमित नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लेका छन । बुवाकै कै प्रेरणाले राजनीतिमा लागेको बताउने उनका पक्षमा मनोनयन दर्ताका दिन सर्वाधिक भीड देखिएको थियो । त्यो भीड मतमा परिणत हुने र जीत सुनिश्चित रहेको उनको दावी छ । उनी आफु र आफ्नो परिवारले यस क्षेत्रको विकासका लागि गरेको योगदान नै जितको आधार बन्ने जिकिर गरेका छन् ।
क्षेत्र नम्बर ४ मा जितको ह्याट्रिक लगाइसकेका नेपाली काँग्रेसका पूर्व मन्त्री तेजुलाल चौधरी पुृनः चुनावी मैदानमा छन । उनी लगातार चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा छन् । यद्यपी यहाँ रोचक पक्ष के छ भने कुनै वेला उनी संगै रहेका नेपाली काँग्रेसका पुराना नेता सिताराम साह पार्टी परित्याग गरेर रास्वपाबाट उम्मेदार बनेका छन । जसकारण लगातार तीन पल्ट चुनाव जितेका चौधरीलाई इतिहास रच्न सकस पर्न सक्ने मतदाताको आकलन छ ।
यहाँबाट जसपा नेपालकी महिला नेतृ डा.बबी सिंह यादव, नेकपा एमालेबाट, बालकृष्ण चौधरी र नेकपाबाट रुवी कर्ण पनि चुनावी मैदानमा छन । यीनै उम्मेदवारहरु बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।










