जल्पादेवी प्रथम मिनिम्याराथनमा टंक कार्की पहिलो

लमजुङ । लमजुङमा सञ्चालन गरिएको पहिलो जल्पादेवी मिनि म्याराथन दौड प्रतियोगितामा ओखल्ढुंगाका टेकबहादुर कार्की पहिलो भएका छन् । कार्कीले १० किमि दुरीको सो प्रतियोतिाका अन्य २७ धावकलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाधाङ्गले उदघाटन गरेको सो प्रतियोगिता जल्पादेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको हो । पुरातत्व विभागका महानिर्देशक प्रधानाधाङ्गले यो कार्यक्रमको सहभागिताले जल्पादेवीको संरक्षण तथा पुनःनिर्माणको कार्य आजकै दिनदेखि सुरु भएको बताइन् । उनले भनिन्, ‘मन्दिर हामी बनाउँछौं, तर यसको गुरुयोजना बनाएर यसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि राज्यका सबै निकायले जिम्मेवारी अनुसार काम गर्नु पर्दछ ।’ यस्ता मंदिरको संरक्षणको कार्यमा सिमेन्ट र इनामेलको प्रयोगले मौलिकता नष्ट हुन्छ, मौलिकता नष्ट हुनु भनेको ऐतिहासिकता र पौराणिकताको समेत नष्ट हुनु हो, त्यसैले यसतर्फ ध्यान दिनु पर्छ उनको कथन थियो ।

प्रतियोगितामा कुल ३८ जनाले भाग लिएका थिए । विजेता कार्कीले प्रतियोगिताका लागि निर्धारण गरिएको १० किमिको उकालो सडक दुरी ४८.०९.४८ मिनेटमा पार गरेको राष्ट्रिय रेफ्रि सञ्जित काफ्लेले बताए । उनका अनुसार दार्चुलाका अक्कलबहादुर पाल दोस्रो भए । उनले सो दुरी ४८.४२.२४ मिनेटमा पार गरेका छन् । तेस्रो स्थान हासिल गर्ने बझाङका करण रावलले ४९.३९.४९ मिनेटमा पार गरेका थिए ।

सान्त्वनाको पहिलो स्थान हासिल गर्नेमा खोटाङका श्रीकाश राईले सान्त्वनाको दोस्रो स्थान तनहुँका कमल विकले प्राप्त गरेका थिए । उक्त निर्धारित दुरी राईले ५०.२०.८२ मिनेटमा र विकले ५६.१२.४४ मिनेटमा पार गरेका थिए । छैटौं स्थान हासिल गर्ने लमजुङका विनायक अधिकारीले सो दुरी ५०.००.२२ मिनेटमा पार गरेका थिए ।

प्रतियोगितामा भाग लिएका ३८ जनामध्ये जल्पादेवी मन्दिर पुग्ने संख्या २७ जना रह्यो । उनीहरूलाई समभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

जल्पादेवी मन्दिरलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक प्रधानाधाङ्गले प्रमाणपत्र, पुरस्कार प्रायोजककर्ताले पुरस्कार रकम, तथा कार्यक्रमका अध्यक्ष श्रीप्रसाद गुरुङले टीका र कार्यक्रमका संयोजक एवम् सोही वडाका अध्यक्ष पदमबहादुर थापाले मेडल पहिराउने कार्य गरेका थिए ।

प्रतियोगिताका विजेताहरू पहिलो, दोस्रो, तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार नगद मेडल दिइएको थियो । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार दिइएको सो कार्यक्रमका उदघोषक एवम् बालबिकास माविका शिक्षक शिवराज खनालले बताए । उनका अनुसार फोनबाट झण्डै ७० जना बढीले नाम टिपाएकोमा भाग लिन आउनेको संख्या भने झण्डै आधा कम भयो ।

उनले भने, ‘यो कार्यक्रममा मध्यनेपाल नगरपालिका संरक्षक रहेको छ । आउँदा दिनमा यसै दिन हरेक वर्ष यो प्रतियोगिता हुन्छ, यो प्रतियोगितााका लागि देश विदेशबाट राम्रो सहयोग जुटेको छ, दाताहरु सबैप्रति हामी कृतज्ञ छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै