अग्निपरीक्षाको घडी आमनिर्वाचन

नेपालको राजनीतिक इतिहास सधैं गतिशील, जटिल र परिवर्तनको कथा हो । जब प्रजातन्त्र, अधिनायकवाद, शान्ति प्रक्रिया, संघीयता र नयाँ संविधानको दस्तावेजका धेरै उतारचढाव पार गर्दै आएको यो राष्ट्र आफ्नो प्रतिनिधि संस्था निर्माण गर्ने दीर्घकालीन प्रयासमा छ । यसैक्रममा संविधान २०७२ पछिको प्रमुख संस्थागत उपलब्धि भनेको द्विसदनीय संसद््, जसमा राष्ट्रिय सभा र प्रतिनिधिसभा समावेश छन् । जुन प्रतिनिधिसभा सीधा जनताको मतद्वारा निर्वाचित हुने तथा सरकार गठनको केन्द्रबिन्दु हुनाले यसको निर्वाचन नेपाली राजनीतिक परिदृश्यको अग्निपरीक्षा बनेको छ । यस अग्निपरीक्षामा विभिन्न राजनीतिक दलले जनताको विश्वास, आफ्नो विचारधारा, संगठन र नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ ।

यो सरकार बनाउने प्रतिस्पर्धामात्र होइन, नेपालको लोकतान्त्रिक परिपक्वता, संघीयता सफलता र आर्थिक विकासको दिशा निर्धारण गर्ने कु“जी पनि हो । वस्तुतः प्रतिनिधिसभा निर्वाचनको यस अग्निपरीक्षामा धेरै दल होमिए छन् भने केही नयाँ प्रतिस्पर्धीका रूपमा उदाएका छन् । तसर्थ गएको पछिल्लो चरणमा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार बन्यो । यो सरकार पनि विवादमुक्त हुन सकेन । यसले लामो समयदेखि झाँगिएको असन्तुष्टि र आक्रोश जेनजी आन्दोलनका रूपमा पोखियो । मुलुक यथास्थिति ढंगले चल्न सकेन, नयाँ परिवर्तन खोज्यो । जेनजी आन्दोलनले सत्ता गठबन्धन भत्कायो । मुलुक नयाँ चरणमा प्रवेश गरेसँगै प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । अधिकांश दल आफ्नै बलमा प्रतिस्पर्धामा उत्रेका छन् । सबैको धरातलीय यथार्थ परीक्षण हुँदै छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी २१ फागुनमा हुँदै छ । जसलाई राजनीतिक दलका लागि वास्तविक अग्निपरीक्षा मानिएको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनले पुराना र नयाँ दलहरूको शक्ति तथा जनाधार परीक्षण गर्नेछ । प्रतिनिधिसभा विघटनपछि यो निर्वाचन आवश्यक भएको हो ।

राष्ट्रपतिले २७ भदौ २०८२ मा विघटन घोषणा गरेका थिए, जसले नयाँ निर्वाचनको मार्ग प्रशस्त ग¥यो । जेनजी आन्दोलनले सत्ता गठबन्धन भत्काएपछि दलहरू आफ्नै बलमा होमिएका छन्, गठबन्धनको भर नपर्ने अवस्था छ । यो निर्वाचनले पुराना दलजस्तै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को परम्परागत वर्चस्व चुनौती दिनेछ ।

नेपालको राजनीति अहिले एउटा विचित्र संक्रमणकालबाट गुज्रिरहेको छ । विसं २०७९ को निर्वाचनपछि बनेका अस्थिर सरकार, दलबीचको टुटफुट र भ्रष्टाचारका फाइल खुल्दै जाँदा नागरिकमा पलाएको चरम निराशाले आगामी निर्वाचनलाई थप अर्थपूर्ण बनाएको छ । विशेषगरी २०८२ सालको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक हलचलले पुराना दललाई आफ्नो कार्यशैली बदल्न वा अस्तित्वको संकट झेल्न बाध्य पारेको छ ।

नेपालको राजनीतिक इतिहासमा यसपटकको प्रतिनिधिसभा निर्वाचन विशेष महŒवको छ । यो निर्वाचन समयभन्दा दुई वर्षअगावै घोषणा भएको छ । जबकी २०८२ भदौमा भएको जेनजी आन्दोलनले पुराना राजनीतिक व्यवस्थालाई चुनौती दियो, संसद्् विघटन भयो, अन्तरिम सरकार बनेपछि सुशीला कार्की प्रधानमन्त्री बनिन् र राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ निर्वाचन घोषणा गरे । यस आन्दोलनले भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध, खराब शासन र पुराना नेतृत्वको विकल्प खोज्ने युवापुस्ताको आवाज प्रतिबिम्बित ग-यो ।

आसन्न निर्वाचनका लागि करिब १ सय २० राजनीतिक दल दर्ता भए । जसमध्ये ६४ दलले समानुपातिकतर्फ बन्द सूची बुझाए । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा झण्डै ३४ सय ९० उम्मेदवारले मनोनयन दर्ता गरे । २०८२ माघसम्मको तथ्यांकअनुसार जसमध्ये करिब ३ सय ९१ महिला र केही अन्य लैंगिक समूहका छन् । जुन पहिले हुने गठबन्धनको परम्परा यसपटक भंग भएको छ । जसमा ठूला दल एक्लै–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । यसले प्रतिस्पर्धालाई तीव्र बनाएको छ । यसरी प्रमुख दल र तिनको स्थिति ‘के कस्तो छ त ?’

नेपाली कांग्रेस
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल हो– नेपाली कांग्रेस । २०७९ को निर्वाचनमा २३.१९ प्रतिशत मतसहित ८९ सिट जितेको यो दल विघटन हुँदा ८८ सिट थियो । हाल आएर गगनकुमार थापा नयाँ सभापति बनेपछि पार्टीमा युवा नेतृत्वको बहस चलेको छ । प्रतिनिधिसभा चुवावका लागि शेरबहादुर देउवालगायत कतिपय पुराना नेताले उम्मेदवारी दिएनन् । यो दलमा पुस्तान्तरणको संकेत हो । प्रधानमन्त्रीको दाबेदारका रूपमा गगन थापाले सर्लाही क्षेत्र–४ बाट उम्मेदवारी दिएका छन् । यसैगरी, दलले सबै १ सय ६५ क्षेत्रमा उम्मेदवार खडा गरेको छ । तर, महिला उम्मेदवार भने कम देखिएको छ । कुल प्रत्यक्षमा ६ प्रतिशतमात्र महिलाले स्थान पाएका छन् । यो दलले लोकतन्त्र, सामाजिक न्याय र सुशासनको नारा दिए पनि आन्तरिक कलह र पुरानो नेतृत्वको प्रभावले चुनौती छ । जसरी जेनजी आन्दोलनले कांग्रेसलाई पनि पुरानो दलका रूपमा आलोचना गरेको थियो ।

नेपालको राजनीति अहिले एउटा विचित्र संक्रमणकालबाट गुज्रिरहेको छ । विसं २०७९ को निर्वाचनपछि बनेका अस्थिर सरकार, दलबीचको टुटफुट र भ्रष्टाचारका फाइल खुल्दै जाँदा नागरिकमा पलाएको चरम निराशाले आगामी निर्वाचनलाई थप अर्थपूर्ण बनाएको छ । विशेषगरी २०८२ सालको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक हलचलले पुराना दललाई आफ्नो कार्यशैली बदल्न वा अस्तित्वको संकट झेल्न बाध्य पारेको छ ।

नेकपा (एमाले)
केपी शर्मा ओली नेतृत्वको यो दल २०७९ सालमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । उसले २६.९५ प्रतिशत मत प्राप्त गरी ७८ सिट हासिल गरेको थियो । यो पार्टी विघटन हुँदा ७९ सिट थियो । ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । यसमा बालेन्द्र शाह (बालेन) उनीसँग प्रतिस्पर्धा गर्दै छन् । यो दलले सबै क्षेत्रमा उम्मेदवार खडा गरेको छ । एमालेले ‘माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद’ अघि सारेको छ । तर, ओली नेतृत्वमा पार्टी विभाजन र गठबन्धन राजनीतिको इतिहास छ । जेनजी आन्दोलनपछि ओली सरकार ढल्यो । यसपटक एमालेले युवा र नयाँ अनुहारलाई मौका दिने प्रयास गरेको देखिन्छ, तर पुरानो नेतृत्वको दबदबा भने कायमै छ ।

नेकपा (नेकपा)
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको यो दल माओवादी केन्द्र र एकीकृत समाजवादीका केही भाग मिलेर बनेको छ । २०७९ सालमा माओवादी केन्द्रको ३२ सिट विजय हासिल गरेको थियो । आसन्न प्रतिनिधिसभा चुनावमा प्रचण्ड पूर्वी रुकुम–१ बाट उम्मेदवार बनेका छन् । यो दलले ‘माक्र्सवाद–लेनिनवाद र प्रचण्डपथ’लाई जोड दिएको छ । तर, एकीकरणपछि आन्तरिक एकता र संगठनात्मक चुनौती छ । प्रचण्ड खराब शासनको साझेदारको आरोप खेपिरहेका छन ्।

राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने नेतृत्वको यो पार्टी २०७९ सालमा उदाएको हो । जसले १०.७० प्रतिशत मत प्राप्त गरी २० सिट जित्न सफल भएको थियो । रवि चितवन–२ बाट उम्मेदवार बनेका छन् । बालेन्द्र शाह (पूर्वकाठमाडौं मेयर)ले प्रधानमन्त्री दावी गरेका छन् । यो पार्टीले प्रगतिशील उदारवाद र युवा–केन्द्रित एजेन्डा लिएको छ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १६४ क्षेत्रमा उम्मेदवार खडा गरेको छ र महिला उम्मेदवारमा अगाडि देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
राजेन्द्र लिङ्देन नेतृत्वको यस दलले संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र आर्थिक उदारवादलाई जोड दिएको छ । २०७९ मा ५.५८ प्रतिशत मत र १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै १६५ क्षेत्रमा उम्मेदवार खडा गरेको छ । यो दलले परम्परागत मूल्य र राष्ट्रियता बोकेर मत मागिरहेको छ ।

अन्य महत्वपूर्ण दल
जनमत पार्टी (सीके राउत) :
यो दलले मधेशी र क्षेत्रीय मुद्दाकेन्द्रित ६ सिट जितेको थियो । त्यसरी नै जनता समाजवादी पार्टी (अशोक राई ) : क्षेत्रीयता र समाजवाद दल हो । लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी : थारु र मधेसी मुद्दा लिएर आएको छ । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (बाबुराम भट्टराई) : नयाँ उदय भएको दल हो ।

यसरी नै उज्यालो नेपाल पार्टी (कुलमान घिसिङ) : प्रगतिवाद र सुशासन पाटी पनि हाल खोलिएको छ । र, श्रम संस्कृति पार्टी (हर्क साम्पाङ) : स्थानीयता र हरित राजनीतिका रूपमा यो दल रहेको छ । यी दलले कुल वैध मतको ३ प्रतिशत सीमा पार गरेरमात्र समानुपातिक सिट पाउँछन् ।

अब पुराना प्रमुख राजनीतिक दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारको वास्तविक शक्ति परीक्षण हुँदै छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसद््मा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दलले गठबन्धन नगरी निर्वाचनमा होमिएका छन् । प्रतिनिधिसभा निर्वाचन २०८२ दलका लागि अग्निपरीक्षा हो । यस निर्वाचनले ‘कुन दल जनतामा विश्वास जित्छ ?’ भन्नेमात्र होइन, नेपालको राजनीतिक भविष्य कुन दिशामा जानेछ ? भन्ने पनि निर्धारण गर्नेछ ।

मूलतः ठूला दललाई आफ्नो अस्तित्व जोगाउन, नयाँ दललाई आफ्नो विश्वसनीयता प्रमाणित गर्न र जनताले आफ्नो आकांक्षा पूरा गर्ने नेतृत्व छनोट गर्न यो निर्वाचन निर्णायक हुनेछ । तसर्थ, निर्वाचनमा सबै दलको सांगठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएकाले आममतदाताका विश्वास जित्न निकै मेहनत गर्नुपर्ने अवस्था छ । नेपालको आगामी प्रतिनिधिसभा निर्वाचन नियमित प्रक्रियामात्र होइन, यो नेपाली राजनीतिको शुद्धीकरणको अवसर पनि हो ।

पुराना दलले गल्ती सच्याएर आफूलाई रूपान्तरण गर्न सक्छन् कि सक्दैनन् ? र नयाँ दलले लहरलाई मतमा बदल्न सक्छन् कि सक्दैनन् ? भन्ने प्रश्नको उत्तर यसै निर्वाचनले दिनेछ । यो अग्निपरीक्षामा ती दलमात्र उत्तीर्ण हुने छन्, जसले जनताको फेरिएको मनोविज्ञान बुझ्न सक्छन् र सत्ताको साँचो पाउनुलाई सेवाको अवसरका रूपमा लिन्छन् । नेपाली जनता अब आश्वासनमा होइन, परिणाममा विश्वास गर्छन् भन्ने दलहरूले बुझ्न ढिला भइसकेको छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीद्वारा अवैध गाँजा र अफिम खेती नष्ट