स्याङ्जा । आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनका लागि स्याङ्जामा उम्मेदवारहरुले घरदैलो कार्यक्रम तिब्र पारेका छन् । उम्मेदवारको अन्तिम नामावली र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र प्रदान गरेपछि मत माग्न घरदैलो कार्यक्रमलाई तिब्र पारेका हुन् । मुलुकका ठुलादल देखी साना दलहरु सहित स्वतन्त्र रुपमा मनोनयन दर्ताले चुनावी रौनकता बढ्ने देखिन्छ ।
तर, स्याङ्जामा उम्मेदवारी दर्ता भएसँगै एउटा गम्भीर बहस सुरु भएको छ । स्याङ्जाको दुवै क्षेत्रमा स्वतन्त्र सहित २८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम नामावाली प्रकाशन गर्दा ४ स्वतन्त्र सहित ११ राजनीतिकदलका २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर प्रत्यक्ष तर्फको उम्मेदवारीमा महिला संख्या भने शुन्य देखिन्छ ।
के स्याङ्जामा सक्षम महिला नेतृत्व नै नभएका हुन् त भन्ने बिषय अहिले बहस बनेको छ । प्रतिनिधि सभाका जिल्लाको २ निर्वाचन क्षेत्रबाट २४ जना चुनावी मैदानमा उत्रदा एक जना पनि महिला परेका छैनन् । यस घटनालाई लिएर राजनीतिक दलहरुले नेपालको संविधानले परिकल्पना गरेको ‘समावेशी लोकतन्त्र’ को धज्जी उडाएको आरोप सरोकारवालाहरुले लगाएका छन् ।
यसपटकको निर्वाचनमा स्याङ्जाका २ निर्वाचन क्षेत्रबाट २४ जना पुरुष उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । महिला सहभागिता शून्य भएकोमा जिल्लाका स्थापित व्यक्तित्वहरुले कडा प्रतिक्रिया दिएका छन् । पार्टीको उम्मेदवारी दर्ताको विवरण सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा स्याङ्जाली युवा तथा अधिकारकर्मीहरुले दलहरुको आलोचना गरिरहेका छन् ।
अधिकांशले महिलाको भोट मात्र चाहिने, नेतृत्वचाहिँ नचाहिने भनेर प्रश्न गरेका छन् । जिल्लाका कुल २ लाख ४१ हजार ९ सय १० मतदातामध्ये मध्ये पुरुष १ लाख १८ हजार २ सय ६७ हुँदा महिला १ लाख २३ हजार ६ सय ४२ रहेका छन् । पुरुष भन्दा महिला मतदाता ५ हजार ३ सय ७५ ले धेरै छन् । तर प्रत्यक्षतर्फको महिला उम्मेदवार भने एक जना पनि छैनन् ।
नेपालमा २०७२ सालमा संघियता सहितको संविधान जारी भएपछि दुई चरणको निर्वाचन सम्पन्न भइसकेको छ । २०७४ र २०७९ मा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ महिला उम्मेवार मैदानमा उत्रेपनि २०८२ को प्रतिनिधि सभा निर्वाचनमा भने ठुला र साना दलले प्रतयक्षमा महिला उम्मेदवार मैदानमा उतार्न सकेनन् । तीन चरणको निर्वाचनमा नेपालको ठुलो राजनीतिकदलले अहिले सम्म स्याङ्जामा महिला उम्मेदवार पाउनै नसकेको देखिन्छ भने नेकपा एमाले भने २०७४ र २०७९ को निर्वाचनमा महिला उम्मेदवारलाई प्रत्यक्ष उतारेको थियो । स्याङ्जामा लोकतान्त्रिक दल भन्दा कम्युनिष्ट विचारका दलहरु महिला उम्मेदवार बनाउनमा उदारता देखिन्छ ।
नेकपा एमालेकी केन्द्रिय सचिव पद्मा अर्यालले यसपटक समानुपातिकको बाटो रोजिन । कालीगण्डकी गाउँपालिकाको प्रमुखमा पराजित भएकी काँग्रेसकी माया राना पनि समानुपातिकको सूचिमा छन् । अन्यदलहरुमा स्याङ्जाबाट समानुपातिकमा महिलालाई प्रथामिकतामा राखेको देखिदैन । नेपालको संविधानले राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेको छ ।
तर, प्रत्यक्ष निर्वाचनमा ‘जित्ने उम्मेदवार’ खोज्ने बहानामा दलहरुले महिलाको क्षमतामाथि अविश्वास गर्दै आएका छन् । जिल्लामा २४ जनाको उम्मेदवारी परेकोमा महिला एक जना पनि नहुनुले राजनीतिक दलहरुभित्र समावेशीताका सवाल’boutमा गम्भीरता नभएको पाइएको छ । अझ शिक्षित जिल्ला मानिने स्याङ्जामा महिला सहभागिताबिनाको यो निर्वाचनले संख्यात्मक नतिजा मात्रै दिने निश्चित छ । यद्यपि नैतिक र समावेशीताको कसीमा भने ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
स्याङ्जामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला उम्मेदवार नदेखिनु आफैंमा गम्भीर चिन्ताको विषय भएको नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीको भनाई छ । यद्यपि समानुपातिकतर्फ महिला उम्मेदवारको उपस्थिति रहेको भए पनि प्रत्यक्ष प्रतिस्पर्धामा महिलालाई अघि नल्याउनु राजनीतिक दलहरुको सोच र प्राथमिकतामाथि प्रश्न उठाउने विषय बनेको उनले बताइन् । अहिले पनि धेरैजसो राजनीतिक दलका शीर्ष तहका नेतृत्वमा बसेकाहरुले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउँदा जित्ने सम्भावनामा कम विश्वास गरेको देखिएकाले महिलाहरु अवसरबाट वञ्चित भइरहेका उपसभापति तविारीको तर्क छ ।
अबको अवस्थामा राजनीतिक दलहरुले पुरानै सोच र अभ्यासलाई निरन्तरता दिनुले दलहरुले महिलाप्रति उदार, समावेशी र विश्वासपूर्ण दृष्टिकोण अपनाउनुपर्ने समय आएको तिवारीको भनाई छ । काँग्रेसले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएको छैन भन्न नहुने तर स्ङ्जामा मात्रै यस्तो भएको देखिएको तिवारीले बताइन् ।
एमालेले यसभन्दा अगाडीका दुई निर्वाचनमा प्रत्यक्ष तर्फ महिलालाई निर्वाचन लडाएको थियो । यो पटक एमालेका महिला नेतृत्हरु इच्छुक हुँदा हुदै पनि देशको वर्तमान परिपेक्षमा पुरुष उम्मेदवार बनाउन पार्टी बाध्य भएको एमाले केन्द्रीय सदस्य सिमा क्षेत्रीको भनाई छ । हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक हाहवी भएकाले महिलाहरुलाई प्रत्यक्षमा निर्वाचन लड्न विश्वास नगरिएको क्षेत्रीको तर्क छ ।
महिलाहरुलाई अवसर दिनुपर्छ भनेर महिला अगुवा नेताहरु लडिरहेको र अन्य पार्टीका महिला नेतृत्वहरु पनि लड्नुपर्ने क्षेत्रीको भनाई छ । यो पटकको निर्वाचनमा एमाले स्याङ्जाले महिलालाई प्रथामिकता दिएपनि सहमतिकै आधारमा पुरुष उम्मेदवार बनाएको उनले बताइन् ।
फागुन ४ गतेसम्म उम्मेदवार सहित राजनीतिकदलहरुलाई सार्वजनिक कार्यक्रम गर्न बन्देज लगाएसगै उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्ने, मतदाता सगँ घरमै पुगेर आफ्ना एजेण्डा सहित मत मागिरहेका छन् । नयाँदलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका कारण तिन ठुलादललाई निर्वाचन जित्न सकस हुने देखिन्छ । काँग्रेस एमालेको राम्रो संगठन रहेको जिल्लामा रास्वपाका कारण कसले बाजी मार्छन् त्यो भने फागुन २१ पछि कुर्नुपर्ने छ ।
सम्बन्धित समाचार
कुनै पार्टीको पुच्छर नबन्ने महावीर पुनको दाबी
मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
वर्तमान सरकार विशेष परिस्थितिको उपज: मानवअधिकारकर्मी पहाडी
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
काठमाडौंका १५ वटै क्षेत्रमा आजपाले टुंग्यायो उम्मेदवार
झन्डावाल गाडीमा सञ्चारमन्त्री खरेलको चुनावी दौडधुप
रास्वपाबाट आशिका तामाङ उम्मेदवार






