खोटाङमा दुई महिला अधिकृतले निर्वाचन आचारसंहिता अनुगमन गर्ने

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई (बाँया) र कोष नियन्त्रक रोमा पाण्डे ।

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा दुई महिला अधिकृतले निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन भए–नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे–नगरेको अनुगमन तथा कारबाही गर्न दुई जना महिला अधिकृतलाई जिम्मेवारी तोकिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिए । कार्यालय प्रमुख मगरका अनुसार अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ संगठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे–नगरेको विषयलाई नियमन गर्नेछ ।

कार्यालय प्रमुख मगरले भने, “आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरू प्रतिबद्ध रहनुभएको छ । कोही कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको खण्डमा अनुगमन अधिकृतहरूले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोगले जिल्ला अनुगमन समितिलाई दिएको क्षेत्राधिकारभन्दा बाहिरका अर्थात् ठूला घटना भएको खण्डमा माथिल्लो निकायमा सिफारिस गरिन्छ ।”

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट लगायत लगाए–नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भए अनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए–नभएको विषय अनुगमन गर्नेछन् ।

निर्वाचन आचारसंहिता अनुसार सवारी साधनको प्रयोग भए–नभएको, घोषणापत्र सार्वजनिक गरे–नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैरसरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए–नलिएको, निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे–नगरेकोलगायतका विषयमा अनुगमन गर्नेछन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले गत माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा ल्याइसकेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक