सप्तरी २ मा १२ बर्षपछि संसदीय निर्वाचनमा रुख चुनाव चिन्हको ‘इन्ट्री’

राजविराज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १२ बर्षपछि नेपाली काँग्रेसका समर्थकले सप्तरीको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ रुख चुनाव चिन्हमा मतदान गर्ने अवसर पाउने भएका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचन यता नेपाली काँग्रेसले कहिले अर्को दलका उम्मेदवारलाई समर्थन त कहिले गठबन्धनका कारण अर्कादलका उम्मेदवारलाई उक्त क्षेत्र छाड्दा काँग्रेका समर्थक रुख चुनाव चिन्हमा मतदान गर्नबाट बञ्चित भएका थिए ।

यसपल्ट अन्य कुनै दललाई समर्थन वा कुनै दल संग गठबन्धन नगरी काँग्रेस एक्लै चुनावी मैदानमा ओर्लेपछि काँग्रेका समर्थकले रुख चुनाव चिन्हमा १२ बर्षपछि मतदान गर्ने अवसर पाएका हुन् ।

नेपाली काँग्रेसले १२ बर्षको लामो अन्तरालपछि यसपल्ट पार्टीका जिल्ला उपसभापति रामकुमार यादवलाई यस क्षेत्रबाट चुनावी मैदानमा उतारेको छ । विगतमा गठबन्धनका कारण पार्टीलाई घाटा भएको ठहर गर्दै यसपल्ट उनलाई उम्मेदवार बनाइएको र काँग्रेसीजनमा अहिले उत्साह छाएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति महानन्द यादवको भनाई छ ।

“काँग्रेस प्रति जनताको रुझान रहेपनि विगतमा चुनावको क्रममा गरिएको तालमेल र गठबन्धनबाट अन्यदललाई फाइदा र काँग्रेसलाई भने घाटा व्यहोर्नु पर्यो, क्षेत्रिय सभापति यादवले भने– संगठन बलियो बनाउन पनि पार्टीले यसपल्ट एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको हो ।”

२०७० सालको दोस्रो संविधानसभामा यस क्षेत्रबाट नेपाली काँग्रेसका तर्फबाट पुर्व गृहराज्य मन्त्री रामकुमार चौधरी उम्मेदवार थिए । त्यसपछि २०७४ र २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले क्रमशः जसपा र लोसपालाई क्षेत्र नम्बर २ मा तालमेल र गठबन्धनको नाममा सुम्पिदा आम काँग्रेसीमा निराशा छाएको बेला यसपल्ट एक्लै चुनावमा जाने निर्णयले काँग्रेसका स्थानिय नेता÷कार्यकर्तामा उर्जाको सञ्चार भएको काँग्रेस सप्तरीका सभापति रामदेव साहको भनाई छ ।

केन्द्र, प्रदेश र स्थानिय तहका सबै निर्वाचनमा पार्टीका योग्य व्यक्तिलाई उम्मेदवार बनाई आफ्नै बलबुतामा चुनाव लड्नु उपयुक्त भएको काँग्रेसका पुराना नेता शुशील सेवाको भनाई छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले गठबन्धनको राजनीतिले काँग्रेसलाई फाइदा भन्दा पनि नोक्सान पु¥याएको र पार्टीको अस्तित्व नै संकटमा पर्दै गएको भन्दै यसपल्ट एक ढिक्का भई चुनावमा गएर काँग्रेसले जिल्लाका ४ वटै क्षेत्रमा एक्लै जित्ने ल्याकत राखेको बताए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरीको ३ र ४ नम्बरमा क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरी विजयी भएका थिए । क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरलाई समर्थन गर्दै काँग्रेसको तर्फबाट उम्मेदवारी परेको थिएन् । त्यस्तै २०७४ को निर्वाचनमा पनि जसपा उम्मेदवार उपेन्द्र यादवलाई केन्द्रको निर्देसानुसार काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले समर्थन गरेका थिए । “१८ पालिका रहेको सप्तरीमा पछिल्लो पटक सम्पन्न स्थानियतहको निर्वाचनमा नेपाली काँग्रेसले सर्वाधिक ५ पालिका प्रमुख जितेर जिल्लाकै पहिलो पार्टी बनेको थियो, पुराना नेताहरु भन्छन्–एक्लै जित्ने वातावरण बने तालमेल र गठबन्धनको कुनै आवश्यकता नै पर्दैन ।”

यसक्षेत्रमा काँग्रेका रामकुमार यादव संगै जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उमेश प्रसाद यादव, रास्वपाका रामजी यादव, राष्ट्रिय मुक्ति पार्टीका अनिस अन्सारी, नेपाल जनता पार्टीका रञ्जु ठाकुर, स्वाभिमान पार्टीका सतिश कुमार सिंह, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी, नेपाली कम्युनिष्ट पार्टीका सुर्यनाथ यादव मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने