राजविराज । पुर्व मन्त्री एवं जनता समाजवादी पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उमेश कुमार यादवले नवयुवा (जेनजी) हरुको दुई दिनकै छोटो आन्दोलनले तत्कालिन सरकार ढलेको भए पनि आन्दोलनको भावना अनुसार काम हुन नसकेको टिप्पणी गरेका छन् ।
प्रेस मञ्च सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । “भदौ २३ देखि चलेको दई दिनकै आन्दोलनमा तत्कालिन सरकार ढल्नु अनौठो उदाहरण थियो” नेता यादवले भने,“तर आन्दोलनको मर्म अनुसार अहिले काम हुन सकिरहेको छैन् ।”
२३ गतेको आन्दोलनमा भएको बर्बर दमनबाट २४ गते विध्वंश भई ह्याइज्याकरहरुले विद्रोह मचाएको बताउँदै यादवले ८० बर्षकी वृद्धा नयाँ प्रधानमन्त्री बन्नु र महानगरपालिकाको मेयरबाट राजीनामा दिदै प्रधानमन्त्री बन्न उद्दत हुँदैमा आन्दोलनको भावना लाई समेटन नसकेको जकिर गरे ।
नेता यादवले संविधानमा नमिलेका कुरा संशोधन वा पुनर्लेखनका माध्यमबाट मिलाउनका लागि संघर्ष गर्न पनि आफुहरुको पार्टीले मत पाउनु पर्ने दावी दोहोर्याए ।
“मधेशी जनताको स्वाभिमान उच्च राख्न हामी मत मागिरहेका छौं” उनले थपे, “जनताबाट पनि सोही अनुरुप सहयोग पाउने अपेक्षामा छौं ।” आफू नौ महिनका लागि सिंचाई मन्त्री बन्दा सप्तरी लगायत मुलुक भरीकै लागि अघि बढाएका योजना तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यकालमा भएका विकासिय कार्यक्रमको समेत फेहरिस्त प्रस्तुत गर्दै उनले त्यसप्रति आगामीे निर्वाचनमा जनताले यथोचित मुल्यांकन गर्ने विश्वास व्यक्त गरे ।
प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलमा सञ्चारकर्मीहरु संगै जसपा नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।






