वीरगन्ज । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित एकदशक अगाडीबाट सुरु भएको प्याव्सन पर्सा जुनियर फुटवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । एकहप्तादेखि वीरगन्जमा जारी प्रतियोगितामा कुल २१ विद्यालयका २१ वटा टीमका बीच प्रतिस्पर्धा भएको हो ।
जुनियर फुटबल प्रतियोगिता २०८२ को प्रतिस्पर्धाबाट पर्साको ठोरी एकाडेमीले उपाधी उचालेको छ । वीरगन्जको चर्चित मुनलाईट मा.वि.को टिमलाई ट्राइब्रेकरमा स्तव्ध पार्दै ठोरी एकाडेमी टिमले २०८२ को उपाधी आफ्नो पोल्टामा पारेको छ । वीरगन्ज महानगरपालिका भित्रका २० टिम र पर्साको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाको एउटा मात्र टीममा महानगर क्षेत्रका सबै टिमलाई पछि पार्दै ग्रामिण पालिका ठोरीबाट आएको ठोरी एकाडेमी टिमले नगद ८ हजार राशी सहितको उपाधी रक्षा गरेको हो ।

फाइनल खेल निर्धारित समयमा गोल रहितको बराबरीमा रोकिएपछि टाइब्रेकरमा ठोरी एकेडेमीले वीरगन्जको मुनलाईट माविलाई ३–२ गोलले पराजित गर्दै उपाधि सुनिश्चित ग¥यो । खेलको म्यान अफ दी म्याच पनि ठोरी एकेडेमीका असिन थापा घोषित भए ।
ठोरीको जर्सी नम्बर ४, ९ र १४ का खेलाडीले ट्राइब्रेकरमा प्रहार गरेको गोलले जाली चुमेको छ । जर्सी नम्बर १० र ११ ले प्रहार गरेको गोलले भने जाली चुम्न सकेन । उता प्रतिस्पर्धी वीरगन्जको मुनलाईट मा.वि.का खेलाडी जर्सी नम्बर ९ र ७ ले प्रकार गरेको गोलले मात्र जाली चुम्यो । मुनलाईटका जर्सी नम्बर ५, ८ र १७ का खेलाडीले हानेको गोलले जानी नचुमेपछि उपाधी भिडन्तमा मुनलाईट टीम उपविजेतामा सिमित भयो ।
विजेता ठोरी एकेडमी टिमले ८ हजार नगद सहित ट्रफी पदक र प्रमाण पत्र प्राप्त ग¥यो । खेलको मेन अफ दी म्याच र बेष्ट गोलकिपर ठोरी एकेडेमीका जर्सी नम्बर १४ का अशिन थापा घोषित भए । उनलाई नगद सहित प्रमाण पत्र र पदक प्रदान गरियो । खेलको बेष्ट स्ट्राइकर पनि ठोरी एकाडेमीकै जर्सी नम्बर १० का यबेश राई घोषित भए । उनलाई पनि नगद १ हजार ५ सय सहित प्रमाण पत्र र पदक प्रदान गरियो ।
उपविजेता टिमका खेलाडी पनि उत्कृष्ट
उपविजेता (फष्ट रनर अफ) मुनलाईट मा.वि.को टिमलाई पनि ६ हजार नगद सहित ट्रफी र प्रमाण पत्र तथा पदक प्रदान गरियो । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मुनलाईट मा.वि.का जर्सी नम्बर ५ का विश्वास महतोलाई एक हजार ५ सय नगद सहित पदक र प्रमाण पत्र प्रदान गरियो । मुनलाईट मा.वि.कै जर्सी नम्बर ४ का आशिस थापा मगर मेन अफ दी सिरिज र हाइ स्कोरर पनि मुनलाईट मा.वि.कै जर्सी नम्बर ९ का प्रिन्स आले मगर घोषित भए । उनीहरुलाई पनि नगद र पदक सहित सम्मान गरियो ।

तेस्रो स्थानमा विकन मा.वि.
तेस्रो स्थानका लागि शनिबार भएको प्रतियोगितामा विकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको थियो । सो खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान बनेका थिए । एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा सिमित रह्यो । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैया नगद, मेडल, प्रमाणपत्र र ट्रफी तथा चौथो स्थान प्राप्त गर्ने ग्यालेक्सी एकेडमीको टिमलाई शिल्ड प्रदान गरिएको प्याव्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए । उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्याप र नगद रु. १ हजार ५ सय प्राप्त गरेको उनको भनाइ छ । प्रतियोगिताको समापनमा फुटबल क्षेत्रमा योगदान पु¥याएका पर्साका उत्पादन एन्फाका प्रशिक्षक गृष्ममणि शाक्यलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले उनलाई सम्मान गरेका थिए ।
मिडिया र प्याव्सनका बीच पनि मैत्रीपूर्ण खेल
कार्यक्रम समापन पूर्व प्याव्सन ११ र मिडिया ११ बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पनि निर्धारित ४० मिनेटको समयमा दुवै तर्फबाट ३‐३ गोल मात्र भई परिणाम बराबरी रोकिएपछि ट्राइब्रेकरकै सहारा लिनु परेको थियो । सो मैत्रीपूर्ण खेलमा प्याव्सन ११ ले मिडिया ११ लाई ट्राइब्रेकरमा २ का विरुद्ध ३ गोल गरी रोमाञ्चकखेल प्रस्तुत गरेको थियो ।
प्रतियोगिताको समापनमा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला प्राज्ञिक सल्लाहकार श्याम केसी, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल, एन्फा पर्सा अध्यक्ष अनिल कुमार कलवार, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्का र प्रेस सेन्टरका प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर लगायत ठूलो संख्यामा संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।
प्रतियोगिता विगतको गौरवलाई अक्षुण राख्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर खेलाडी उत्पादन गर्ने लक्ष्य सहित संचालन गरिएको प्याव्सन पर्साका शचिब अशोक संग्रौला तथा कोषाध्यक्ष सुशिला साहले जनाएका छन् ।










