साफ यू–१९ महिला च्याम्पियसिपः बंगलादेश र भारत फाइनलमा

पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल लिग चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा जारी च्याम्पियनसिपको फाइनलमा बंगलादेश र भारत पुगेका हुन् । प्रतिस्पर्धामा बंगलादेश अपराजित रहँदै सर्वाधिक ९ अंक तथा भारतले २ जितसँगै ६ अंक जोडेको छ । एकमात्र जित हात पारेको नेपाल र अंकविहीन भुटान लिग चरणबाटै आउट भए ।

बुधबार बंगलादेशसँग नेपाल पराजित भएसँगै फाइनल पुग्ने सपना चकनाचूर भयो । च्याम्पियनसिमा सर्वाधिक उपाधि विजेता बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपाल यसअघि पहिलो खेलमा भारतसँग १–० ले पराजित भएकोमा दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । अझसम्म उपाधिबाट वञ्चित नेपालको यसपालि पनि उपाधि सपना चकनाचूर हुन पुगेको छ ।

बंगलादेशकी अल्पी अख्तेरको ह्याट्रिकसँगै नेपाल पराजित हुन पुगेको हो । खेल सुरुआतको तेस्रो मिनेटमै प्रोतिमा मुन्डाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी टाइममा अल्पीले गोलअन्तरले दोब्बर पारिन् । पहिलो हाफमै २ गोल खाएको नेपालले दोस्रो हाफमा फर्किने प्रयास गरेकोमा झनै गोलको सामना गर्नुपरेको हो । खेलको ६७ औं मिनेट र ८२ औं मिनेटमा अल्पीले थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

बुधबार नै च्याम्पियनसिपको पाँचौं खेलमा भारतले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमै ७ गोलको वर्षा गरेको भारतले दोस्रो हाफमा थप १ गोल थपेको हो । अलिशा ल्याङ्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएकोमा पर्ल फरनान्डेजले ह्याट्रिक पूरा गरिन् । उनले खेलको १६ औं, ३९ औं र ४१ औं मिनेटमा गोल गरेकी हुन् । खेलको १० औं मिनेटमा अभीष्टा बस्नेत, १७ औं मिनेटमा दिव्यासी लिन्डा, २५ औं मिनेटमा प्रीतिका बर्मनले गोल गरेका थिए । भुटानी टिममाथि हावी भएको भारतले खेलको अन्तिम ९० औं मिनेटमा प्रीतिका बर्मनको थप एक गोलसँगै ८ गोल बनाएको हो ।

नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ देशले भाग लिएको च्याम्पियनमा लिग चरणको नतिजापछि शीर्ष २ टिम बंगलादेश र भारत फाइनलमा पुगेका हुन् । फाइनल शनिबार दिउँसो २ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल