सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ४ तिनकन्याका सन्तबहादुर लांघाली मगर २०४१ सालदेखिका जुनार किसान हुन् । उनले जुनारको खेती मात्र सुरु गरेनन् २०६३ देखि जुनार प्रशोधन पनि गर्न थाले । करिब १५ रोपनी जग्गामा जुनार उत्पादन गरिरहेका लांघाली जुनार किसान मात्र नभई जुनार प्रशोधन उद्यमी पनि हुन् । उनको उत्पादनमध्ये जुनारको स्क्वाएसको बजार राम्रो छ । गुणस्तरीय उत्पादनका कारण केहि महंगो भए पनि सिन्धुलीको स्क्वाएस चर्चामा छ ।
उनले उद्योग थालेपछि जुनार उत्पादनका किसान र कृषि उद्यमीका रुपमा आफ्नो पहिचान बनाएका छन् । चारवर्ष अघि सडक दुर्घटनामा परेपछि उनले अपांगताको जीवन बाँच्नु प-यो । अपांगताले पनि उनलाई किसान र उद्यमी बन्नलाई रोकेको छैन । बार्षिक ५० देखि ६० टन जुनार उत्पादन गरिरहेका छन् । यो वर्ष पनि राम्रो उत्पादन भयो । ५० रुपैंयादेखि ६५ रुपैंयासम्म बिक्री भइरहेको छ जुनार । १५-१६ लाख बढीको जुनार उनले आफै उत्पादन गर्छन् । तर ए ग्रेडको जुनार मात्र उनले दाना बेच्छन् र अन्य जुनार प्रशोधन गर्छन् ।
जुनार प्रशोधन गरेर बेच्दा अलि धेरै फाइदा हुने उनको अनुभव छ । उनले फलरस, स्क्वाएस, जाम, जेली, मार्वलेट, क्याण्डी, मोरब्बा, क्याण्डी लगाएतका परिकार उत्पादन गर्छन् । (फलरस) जुस मात्रै ५ हजार लिटर बनाउने उनले स्क्वाएस २५ हजार लिटर स्क्वाएस बजार लान्छन् ।
जुनारबाट १३ थरीका परिकार उत्पादन गर्न सकिने उनको अनुभव छ । तर माग अनुसार उनले ५, ६ थरीका परिकार बनाउँछन् । बजारमा माग कम भएका कारण उनले अरु उत्पादनमा जोड दिएका छैनन् ।
लांघाली जुनार उद्योगमा उत्पादित जुस, स्क्वाएस खनियाँखर्क, सिन्धुली, खुर्कोट, काठमान्डौ जान्छ । सिन्धुलीको भन्दा रामेछापको सस्तो छ स्क्वाएस । उनले भन्छन्, ‘हाम्रो खानेले हाम्रै खोज्छन्, सस्तो खानेले रामेछापको खोज्छन् ।’ उनका अनुसार रामेछापको स्क्वाएसमा सस्तो भएकाले बजारमा बढी बिक्छ, गुणस्तर सिन्धुलीको स्क्वाएसको छ ।
विक्रेताले नाफा कम भयो भन्ने गुनासो गरे पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सोहि गुणस्तर कायम गर्न आग्रह गरेको उनले बताए ।
जुनार उत्पादन र उद्योगमा पछिल्लो समय काम गर्न गाह्रो छ । सिजनमा आवश्यकता अनुसार कर्मचारी खोज्छन् । माग अनुसारको उत्पादन गर्नुपर्ने भएकाले नियमित कामदार समेत राख्न नसकिने लांघालीले बताए । उद्योगमा माग पनि राम्रै छ । गुणस्तरमा प्रतिवद्ध रहेका कारण पनि माग बढ्दो छ । उत्पादन कम छ ।
उनी सफल जुनार किसान पनि हुन । गोलञ्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या जुनारको राजधानीका रुपमा पनि चिनिन्छ । गोलञ्जोर गाउँपालिका जुनारको मुख्य उत्पादन क्षेत्र समेत हो । गाउँपालिकाभित्र झण्डै ९ सय किसान जुनारका व्यवसायीक किसान छन् ।
पछिल्लो समय जुनार किसानले जुनारको टुप्पा सुक्ने रोग, ढुसी, सँुढे पुतली, औंसा किरा जस्ता समस्या भोगिरहेका छन् । बाटोको समस्या छ । कच्चि बाटोले दाना बजार लाँदा समस्या हुने गरेको उनको भनाई छ । राज्यको लगानी किसानका लागि पर्याप्त नभएको गुनासो छ । साना किसानहरुलाई मलखात, गोडमेल र औषधीका लागि समस्या छ । हरियो जुनार बेचेर दशैं मान्ने किसानका लागि सरकारले सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
जुनार किसानका लागि मलखात, गोडमेल, रोगकिरासँगै बाँदरको समस्या अत्यधिक छ । सरकारले बाँदर लखेट्ने व्यवस्था गर्न सहजीकरण गरिदिएमा राम्रो हुने उनी बताउँछन् ।
पछिल्लो समय रोग किरा व्याप्त हुने थालेपछि किसानहरु सुन्तला खेतीमा ध्यान दिन थालेका छन् । सुन्तलाले बजार नपाउला भन्ने छैन । जुनारको मुल्य सस्तो छ बजार सुन्तलाको जति छैन ।
चारवर्षदेखि सडक दुर्घटनामा परि अपांग भएका लांघालीले जुनार उत्पादनबाटै छोराछोरी लालनपालन गरे । शिक्षा दिए । पाँच सन्तानलाई हुर्काएका उनका चार छोरी मुनीको एउटा छोराको केहि समय अघि २२ वर्षमा दुर्घटनामा परि मृत्यु भयो । दुई छोरी विहे गर्न बाँकी छन् । अपांगताका कारण जुनार बगैंचा आफै व्यवस्थापन गर्न गाह्रो छ उनलाई । उनी भन्छन्, ‘स्वास्थ्य नै धन हो भनेको सुनेको, हो रहेछ भन्ने अनुभव गरेको छु ।’ उनले थपे, ‘जुनारलाई गोडमेल गर्न पनि सक्दिन, सुँढे पुतली राती समात्नुपर्छ त्यो पनि सक्दिन, बच्चाहरु पनि बाहिर छन् । गोडमेल गर्ने काम गर्ने मान्छे पाईदैन । सबैको घरमा दुई जना भन्दा बढी मान्छे छैनन् ।’
‘बच्चाहरु पढ्न जान्छन् । उमेर पुगेका कोहि जागिर खोज्न जान्छन् । कोहि बच्चा पढाउन शहर जान्छन् । गाउँमा निक्कै समस्या छ,’ उनले भने ।











