भक्तपुर । कोरोना शंकास्पद क्षेत्रबाट फर्कनेलाई भक्तपुर क्वारेन्टाइनमा राख्ने हल्लासँगै स्थानीय विरोधमा उत्रिएका छन् । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने हल्लासँगै विरोधमा स्थानीय उत्रिएका थिए । आइतबारदेखि पुनः नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा उनीहरूलाई राख्ने निर्णयसँगै नगरकोटवासी आन्दोलित भएका हुन् ।
बस्ती क्षेत्रनजिकै उनीहरूलाई राख्ने भएपछि स्थानीय त्रसित भएका छन् । नगरकोटस्थित खानेपानी तालिम केन्द्रलाई सरकारले ‘क्वारेन्टाइन’ प्रस्ताव गरेपछि स्थानीय बिहानदेखि नै केन्द्र गेटमा कालो झन्डासहित विरोधमा उत्रेका छन् ।
बाक्लो बस्तीबीच सरकारले उनीहरूलाई राख्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । स्थानीयले चाँगुनारायण नगरपालिकामा समेत ज्ञापनपत्र बुझाउँदै हालसम्म ‘कस्तो रोग हो ? के भए सर्छ ?’ भन्नेसमेत थाहा नभएको बताउँदै विरोधपत्र बुझाएको स्थानीय धनबहादुर लामाले बताए । उनका अनुसार हाल विश्वमै महामारीका रूपमा रहेको रोगलाई सरकारले ‘हल्का रूपमा लिएको’ आरोपसमेत लगाएका थिए ।
नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा पनि स्थानीयले विरोध गरेपछि मंगलबार जिल्ला प्रशासन प्रहरी एवं सम्बन्धित निकाय पदाधिकारीबीच छलफल भएको छ ।