काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार राजधानीमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतको हिसाबकिताब खोज्नेभन्दा आगामी ३५ वर्षको कार्ययोजना बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
विगतमा अन्य नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था रहे पनि अब रास्वपासँग त्यस्तो ठाउँ नरहेको उनले बताए । विगतका असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गर्नुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए । कयौँ नेताहरू पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ,’ लामिछानेले भने, ‘आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् ।’
विगत ३५ वर्षको कामलाई लिएर पुराना दलसँग निरन्तर प्रश्न गरिरहनुपर्ने अवस्थामा आफूहरू नरहेको उनले बताए । ‘अब बितेको ३५ वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि,’ उनले भने ।
विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामका लागि धन्यवाद दिनुपर्ने लामिछानेले बताए । आगामी दिनमा देश निर्माणका लागि दीर्घकालीन सोच र कार्ययोजनासहित अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित समाचार
कांग्रेस सभापति गगन र निर्वाचन आयोगलाई शशांकको पत्रः ‘पार्टीका गतिविधि रोक्नू, नयाँ निर्णय नगर्नू’
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत
चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल
असोजमा १५औँ महाधिवेशन गरे कांग्रेस विभाजन हुन्छः शंशाक
आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति
कांग्रेसभित्र एकताका लागि गगन थापासँग संवाद गर्ने देउवाको संकेत






