काठमाडौं । तीन दिन देखि कैलालीको धनगढीमा जारी ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’मा चित्रकला प्रेमीहरूको उल्लेख्य भिड रहेको छ । सो प्रदर्शनीको उद्घाटनमा पुगेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमुनी हार्तमछालीले आइतबार राजधानीसँग भने,‘सुदूरपश्चिम प्रदेशको यो कला प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । विशेष गरेर कैलाली मात्र हैन, कञ्चनपुरका विभिन्न कलेजका विद्यार्थीहरू पनि प्रदर्शनमा रहेका कलाकृति हेर्न यहाँ आएका छन् ।’
कुलपतिका अनुसार प्रदर्शनीमा समसामयिक चित्रकला, लोककला, मूर्तिकला, हस्तकलालगायत विभिन्न सिर्जनात्मक कला विधा तथा उपविधाअन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त १११ जना कलाकारका १४८ वटा कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा विशेष गरी थारु महिला कलाकारहरूले परम्परागत थारु कलाको जीवन्त प्रस्तुति दिएका छन्, जसले प्रदर्शनीलाई थप आकर्षक बनाएको छ ।
बिगत दुई साता यताबाट आफूहरुले प्रादेशिक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको पनि कुलपति हार्तमछालीले राजधानीलाई जनाए ।
बिहीबारदेखि सुरु भएको यो प्रदर्शनी सोमबार सम्म जारी रहने पनि कुलपतिले जानकारी गराए । उनका अनुसार दर्शकको बढ्दो उपस्थितिले प्रदर्शनीको मिति थप्नु पर्ने सुझाव पनि आएको छ ।
प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति देखेपछि स्थानीय आयोजक कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्ट पनि खुसी छन् । उनले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण प्रदर्शनी आयोजना गर्न पाउँदा खुसी लागेको बताए । शैक्षिक संस्थामा कला र संस्कृतिसम्बन्धी गतिविधि विस्तार गर्न तथा विद्यार्थीहरूलाई सृजनशील अभ्यासतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी भएको उनको कथन थियो । कैलालीसँगै छमेकी कञ्चनपुर जिल्लाका कलेजहरूबाट समेत विधार्थीहरुको सहभागीले आफूहरूमा हौसला बढेको उनको कथन छ ।
थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति सानु चौधरीले सुदूरपश्चिम प्रदेशको मौलिक शिल्प ज्ञान, परम्परागत कला र स्थानीय पहिचानलाई उजागर गर्न यस किसिमका प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रदर्शनीको प्रशंसा गर्दै उनले ललितकलाको माध्यमबाट प्रदेशका समुदायको सांस्कृतिक पहिचान राष्ट्रिय स्तरसम्म पु¥याउन सहयोग पुग्ने बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानअन्तर्गत वास्तुकला तथा लोककला विभाग प्रमुख तथा सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारीले संस्कृति र कलाको संरक्षणमा ललितकलाको अहम् भूमिका रहेको बताएका छन् । प्रदर्शनीमा आउनेहरूलाई उनले त्यहाँ रहेका कलाहरूको ’boutमा जानकारी गराउँदै आएका छन् । अधिकारीका अनुसार प्रदर्शनी अवधिभर कला कार्यशालासमेत आयोजना गरिएको छ । विशेष गरेर थारु चित्र तथा शिल्प कला कार्यशालामा त्यो कला सिक्नेहरूको उपस्थिति राम्रो रहेको पनि उनले जानकारी गराए ।
प्रदर्शनीको उद्घाटन कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्टले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति हार्तम्छालीले स्थानीय तहबाटै ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन तथा पुस्तान्तरणका लागि यस्ता प्रदर्शनीहरूले विशेष भूमिका खेल्ने बताएका थिए । कुलपतिले नेपालका मौलिक कला र संस्कृतिको पहिचानलाई जीवन्त राख्न ललितकलालाई अर्थतन्त्रसँग जोड्नु आवश्यक रहेकोमा बताएका थिए ।












