काठमाडौं । नेपालमा पछिल्ला वर्षमा स्वास्थ्य सेवा विस्तार, खोप अभियान र सुरक्षित प्रसूति सेवामा सुधार देखिए पनि बाल मृत्यु, कुपोषण र असुरक्षित खानेपानी अझै पनि हजारौं परिवारका लागि दैनिक संकट बनेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरेको नेपाल बहुसूचक सर्वेक्षणले प्रदेशगत असमानता, गरिबी र सेवा पहुँचको गुणस्तरसँग गाँसिएको देखाएको छ । महिला, बालबालिका, किशोर–किशोरी र घरपरिवारको अवस्था’bout गरिएको सो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो ।
सर्वेक्षणका अनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ र नवजात शिशु मृत्युदर १७ रहेको छ ।
राष्ट्रिय औसतले प्रगति संकेत गरे पनि प्रदेशगत तथ्यले गहिरो असमानता उजागर गरेको छ । सुदूरपश्चिम प्रदेशमा नवजात शिशु मृत्यु र २६ पुगेको छ भने बागमती प्रदेशमा यो दर १० मात्र छ । पाँच वर्षमुनिको बाल मृत्युदर पनि सुदूरपश्चिममा ४८ हुँदा गण्डकी प्रदेशमा २० मा सीमित छ ।
प्रति १ हजार जन्ममा सबैभन्दा बढी शिशु मृत्युदर ३८ जना सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको तथ्यांक रहेको छ । यसैगरी प्रति १ हजार जन्ममा सबैभन्दा बढी ५ वर्षमुनिका बाल मृत्युदर ४८ जना सुदूरपश्चिम प्रदेशमा छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको देखिन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार यो अन्तर सेवा पहुँच, पोषण अवस्था, मातृ शिक्षा र खानेपानीको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित छ । ‘स्वास्थ्य संस्था नजिकै हुनु मात्र पर्याप्त छैन, सेवाको गुणस्तर र समयमै पहुँच मुख्य कुरा हो,’ स्वास्थ्य अधिकारकर्मी शान्तलाल मुल्मीले भने ।
कुपोषण : पुस्तौँदेखि दोहोरिएको समस्या
नेपालमा बाल कुपोषण अझै पनि सबैभन्दा गम्भीर सामाजिक समस्या बनेको छ । सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३१ दशमलव ५ प्रतिशत पुड्कोपन, २४ दशमलव ३ प्रतिशत अल्पतौल, ७ दशमलव ७ प्रतिशत ख्याउटे अवस्थामा छन् ।
मधेस प्रदेशमा अल्पतौल बालबालिकाको अनुपात ३३ दशमलव २ प्रतिशत पुगेको छ भने बागमती प्रदेशमा यो दर ९ दशमलव ६ प्रतिशत मात्र छ । यद्यपि, सकारात्मक संकेत पनि देखिएका छन् । ६ महिनासम्म पूर्ण स्तनपान गर्ने दर ६९ दशमलव ७ प्रतिशत पुगेको छ भने १२–२३ महिनाका ८० दशमलव ७ प्रतिशत बालबालिकाले सबै खोप लगाएका छन् ।
३ जना आमाहरूमध्ये २ जनाले आङ्खनो बच्चालाई जन्मेको ६ महिनासम्म आङ्खनो दूध मात्र खुवाउने गरेको पाइएको छ । प्रदेशगत आधारमा हेर्दा सो प्रतिशत सबैभन्दा बढी ७६ दशमलव ६ प्रतिशत सुदूरपश्चिम प्रदेशमा, त्यसपछि क्रमशः मधेस प्रदेशमा ७२ दशमलव ३ प्रतिशत र कर्णाली प्रदेशमा ७१ दशमलव ६ प्रतिशत रहेको छ ।
उमेर समूह १२–२३ महिनासम्मका बालबालिकाहरूमध्ये ८० दशमलव ७ प्रतिशत बालबालिकाहरूले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएको तथ्यांक रहेको छ । ३६–५९ महिनाका बालबालिकाहरूमध्ये ५७ दशमलव ९ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको पाइएको थियो ।
विद्युत् तथा टेलिफोनमा पहुँच
९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९९ दशमलव ५ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (८० दशमलव ८ प्रतिशत) रहेको छ ।
नेपालमा ९५ दशमलव ५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधाको पहुँच रहेको छ भने प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९७ दशमलव १ प्रतिशत र सबैभन्दा कममा सुदूरपश्चिम प्रदेश ९२ दशमलव ६ प्रतिशत रहेको छ ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग
प्रत्येक पाँचमध्ये चार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरणको प्रयोग गरेको तथ्यांक रहेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ८१ दशमलव ६ प्रतिशत महिलाहरूसँग आङ्खनै मोबाइल फोन रहेको छ । त्यसैगरी १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषहरूमध्ये ९० दशमलव ४ प्रतिशत पुरुषहरूसँग आङ्खनै मोबाइल रहेको तथ्यांक रहेको छ ।
असुरक्षित पानी : देखिने सुविधा, नदेखिने खतरा
नेपालको ९८ दशमलव २ प्रतिशत जनसंख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरिरहेको देखिएको छ । तर पानीको गुणस्तर परीक्षणले अर्को यथार्थ देखाएको छ । ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । यही कारणले झाडापखाला, कुपोषण र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको देखिएको छ ।
किशोर किशोरीमा मानसिक स्वास्थ्य बढ्दै
राष्ट्रिय तथ्यांक कार्यालयले किशोर किशोरीको मानसिक स्वास्थ्यमा समस्या बढ्दै गएको देखाएको छ । डिजिटल युग, बेरोजगारी, पारिवारिक दबाब र सामाजिक परिवर्तनको बीचमा किशोर मानसिक स्वास्थ्य नयाँ नीतिगत चुनौतीका रूपमा देखिन थालेको हो ।
सानो उमेरमै सुर्तीजन्य पदार्थको जोखिम
सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका ४१ दशमलव ८ प्रतिशत पुरुष र ५ दशमलव १ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । यसमा पनि ७ दशमलव ६ प्रतिशत पुरुष र २ दशमलव १ प्रतिशत महिलाले १५ वर्षअघि नै धूम्रपान सुरु गरेको पाइएको छ ।
सानो उमेरमै विवाह र सुत्केरी
२० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव २ प्रतिशत महिलाले १८ वर्षअघि नै सन्तान जन्माएको तथ्यले प्रारम्भिक विवाह अझै नियन्त्रणबाहिर रहेको देखाएको छ । यद्यपि पछिल्ला वर्षमा सुरक्षित प्रसूति
सेवामा उल्लेख्य सुधार देखिएको छ । ८५ प्रतिशत महिलाले चार पटक गर्भजाँच, ९० दशमलव ५ प्रतिशतले स्वास्थ्य संस्थामा प्रसूति, ९१ दशमलव ४ प्रतिशतले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।
सम्बन्धित समाचार
नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता
पहिलोपटक प्रतियोगितात्मक गाई प्रदर्शनी गरिँदै
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै






