जावलाखेल सेमिफाइनलमा

पोखरा । जावलाखेल युथ क्लबले एपिएआई चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गर्दै २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको शिकार बनाउँदै जारी संस्करणको सेमिफाइनलमा पुगिसकेको छ ।

आइतबार सिमसिमे वर्षाबीच पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले दोस्रो हाफमा खाता खोल्दै फराकिलो गोलअन्तरका साथ अन्तिम चारमा प्रवेश पाएको हो ।

दोस्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै जावलाखेलका लागि धमेन्द्र कुँवरले गोल गर्न सफल भएका हुन् । दोस्रो हाफको सुरुमै अग्रता लिएको जावलाखेलले इन्जुरी टाइममा समेत थप गोल गर्न सफल भयो । खेलको ८८ औं मिनेटमा विदेशी खेलाडी निकोलस ओदाने हमिल्टनले गोल गर्दै गोलअन्तरले दोब्बर पारे । जित सुनिश्चित गरिसकेको जावलाखेलका लागि दोस्रो हाफको इन्जुरी टाइममा सुजन गुरुङले गोल थपेका हुन् । उनी खेलको ७३ औं मिनेटमा प्रशान्त रजकको स्थानमा मैदान छिरेका थिए ।

प्रतियोगितामा हमिल्टन प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार र ट्रफी हात पारेका छन् । उनले विपक्षी पोस्टमा लगातार दबाब सिर्जना गरेका थिए । चर्चा ब्याइजले पाएका केही अवसर खेर फालेको थियो । उसको फिनिसिङ कमजोर देखियो । कीपर दीप कार्कीले केही प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । तर, आफ्नो टिमलाई पहिलो खेलबाटै हार टार्न सकेनन् । यो हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

यता, जावलाखेलले अब प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच हुने क्वाटरफाइनल विजेतासँग दोस्रो सेमिफाइनल खेल सुनिश्चित गरेको छ । गत संस्करणको उपाधि उजेकिस्तानकै ब्ल्याक बुल्स एफसीले जितेको थियो । उसले आहा रारामा ६ पटकसम्मको विजेता नेपाल पुलिसलाई ३–१ गोलअन्तरले हराएको थियो । शनिबारमात्र २६ औं बूढासुब्बा गोल्डकप जितेको प्लानिङ ब्वाइजले आहा रारामा भने पहिलो चरणमा फ्रेन्ड््स क्लबलाई पराजित गरेको थियो । बूढासुब्बा गोल्डकपमा उपविजेता बन्दै चर्च ब्वाइज आइतबार खेल सुरु केही मिनेट अघिमात्र पोखरा रंगशाला आएको थियो ।

आयोजक सहारा क्लब पोखराका अनुसार सोमबार तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । चिसो मौसमका कारण अघिल्ला दिनको तुलनामा पोखरा रंगशालाको प्यारापिटमा दर्शकको संख्या पातलो थियो ।

प्रशिक्षक सुमन श्रेष्ठले खेलाडी थकित भएकाले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरे । उनले केही खेलाडी समेत भएको बताए । उता, जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले जितपछि प्रतिक्रिया दिँदै आफ्ना खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्टि रहेको जनाए ।

१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ९ फागुनमा हुनेछ । विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

घर फर्किने सपना अधुरै : दुई नेपालीको परदेशमै अन्त्येष्टि