इलाममा नेतालाई भोट, मतदातालाई रोड

इलाम । आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारको दौडधुप छ । उम्मेदवार गाउँ गाउँमा पुगेर घरदैलोमा व्यस्त छन् । तर गाउँ–बस्तीमा चुनावी रौनक छैन । पहिलेका निर्वाचनमा उम्मेदवार घर आँगनमा पुग्दा फुल माला र नाराले स्वागत गर्ने मतदातामा मतदाता उत्साह देखिँदैन । मतदाताले विकासको भाषण हैन काम खोजिरहेका छन् । दलहरूमा घोषणा पत्र देखाएर चुनावी नारा चर्किए पनि मतदाता सडक, पुल कहिले बन्ला भन्ने चिन्तामा छन् ।

दलहरूमा आ आफ्नै विकासको दाबी छ र सडकको अवस्था त्यो छैन । गत असोज १८ गतेको वर्षाले थङथिलो बनाएको छ । पानी पर्न साथ मेची राजमार्गको राज दुवाली–माई खोला–भन्ज्याङ खण्ड अवरुद्ध हुन्छ । अन्य ठाउँमा राजमार्गको मर्मत समेत हुन सकेको छैन । नेपालटार–मङ्गलवारे सडकको अवस्था हिउँदे सडक मात्रै बनेको छ । मेची कोरिडोर सडक अन्तर्गत केचना–कञ्चनजङ्घा खण्ड वर्षौँदेखि अधुरै छ ।

देउमाई र पुवा खोलाका पुल बाढीले बगाएपछि अहिले सम्म निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन दमक चिसापानी सडक अलपत्र छ । निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोडिएको सडक अहिले सम्म अर्को ठेक्काको तयारी हुन सकेको छैन । राँके गैँडे सडक ठेक्का लागेर पनि काम हुन सकेको छैन । कमेरे, दोकान डाँडा, सल्लेरी, रवि सडक अलपत्र छ । फाकफोक खोलामा पक्की पुल निर्माण हुँदै गरेपनी तीन तहकै सरकारको आँखा पुग्न सकेको छैन ।

अहिलेसम्म भाषण सुनेका मतदाता अहिले काम कहिले बन्छ भन्ने खोजिरहेका छन् । विकासको स्पष्ट खाका, समय सीमा र बजेट स्रोतको समस्याका कारण स्थानीयले भाषण सुन्न छोडेका छन् । उम्मेदवारहरू हात जोडेर मत माग्दै हिँडेका छन्, तर मतदाताले सोधिरहेका छ सडक कहिले बन्छ आश्वासन हैन ग्यारेन्टी चाहिन्छ । धेरै सडकहरू हिउँद बर्खा नै सवारी गुड्ने अवस्थामा छैनन् । हिउँदमा धुलाम्मे सडक भए पनि दैनिक सवारी सञ्चालन हुन्छन् नै तर बर्खामा सवारी चल्न सक्ने सडकहरू नहुँदा समस्या हुने गरेको छ । सवारी सञ्चालन भए पनि निकै कठिनको छ ।

नेपालटार मङ्गलवारे सडक बनाउन नेतालाई दबाब हुँदा पनि अहिले सम्म सडक बन्न नसकेको मतदाता खगेन्द्र सुवेदी बताउँछन् । ठुला योजना हैन यिनै साना काम भए पनि बाटो त बनाउनु परो नि उनले भने अहिले पनि नेपालटार मङ्गलवारे सडक मात्र कुनै उम्मेद्धारले बनाउन सक्छु भन्ने ग्यारेन्टी गर्न सकिरहेका छैनन् । यो सडक एक पटक पक्की भएको थियो । बिचमा मर्मत हुन नसक्दा यो सडक प्राय कच्चीमा परिणत भएको छ भने कोसी प्रदेशले बहु वर्षे योजनाका रूपमा अघि सारेको छ ।

त्यस्तै इलाम बरबोटे रिप्सबाट सुम्बेक हुँदै सुलुबुङ सडकको हालत उस्तै छ । सडकको चार वर्ष अघि सम्म कर्मागत वार्षिक एक किलोमिटरका दरले पक्की गर्न सुरु भएको थियो । तर राजनैतिक आग्रह र पूर्वाग्रहका कारण सो काम रोकिएको छ । यो सडक बनाउन कसैले आँट गर्न नसकेको सुम्बेकका चेतन खतिवडा बताउँछन् ।

उनी भन्छन्, हाम्रो माग अरू केही हैन, वर्षौँदेखि सञ्चालनमा रहेको यहाँको प्रमुख सडक भएकाले यो सडक पक्की गर्न सक्छु भन्ने नेता चाहिएको छ । मतदातामा पुराना दलप्रति वितृष्णा बढेको देखिन्छ नयाँ अनुहारप्रति पनि भरोसा छैन । चुनावी नारा चर्किए पनि जनताको प्राथमिकता एउटै देखिन्छ सडक, पुल र आधारभूत पूर्वाधार । इलाम २ को चुनावमा यस पटक १२ वर्ष अघिको हिसाब–किताब जोडिएको छ । युवा मतदाता नयाँ खोजिरहेका छन् भने अरू मौन छन् । तर प्रतिस्पर्धा कडा हुन सक्ने सङ्केत देखिन्छ ।

दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्र नम्बर एकमा प्रतिनिधिसभाका लागि सबै नयाँ उम्मेदवार छन् । एमालेका काजीमान कागते पूर्व प्रदेश सांसद र रणबहादुर राई मेयर छोडेर होमिएका छन् । तर क्षेत्र नम्बर दुईमा यस चुनाव जितेका र हारेका सहित नयाँ अनुहारलाई मतदाताले उम्मेद्धारका रूपमा देखिरहेका छन् । पार्टीमा आबद्ध कार्यकर्ताहरूले आफू आबद्ध भएकाहरूकै पक्षमा पल्ला भारी भएको बताउने गरेका छन् ।

जेन्जी पुस्ता नयाँ अनुहार र नयाँ पुस्ताकै प्रतिनिधि छनौट गर्नु पर्ने तर्क पनि बजारमा छ । इलाम क्षेत्र नम्बर दुईमा यस अघि जितेर गएका सुहाङ नेम्वाङ, १२ वर्ष अघि सुहाङका बुबा सुवासचन्द्रसँग प्रतिस्पर्धा गरेका भेषराज आचार्य मुख्य प्रतिस्पर्धामा छन् भने श्रम संस्कृति पाटी, रास्वपा पनि नयाँ अनुहार लिएर चुनावी मैदानमा छन् ।

जिल्लामा तीन निर्वाचन क्षेत्र भएको बेला दोस्रो संविधान सभा निर्वाचनमा स्व. सुवासचन्द्र नेम्वाङसँग पराजित बनेका भेषराज आचार्य यस पटक सुवासका कान्छा छोरा सुहाङलाई हराउँदै एमालेको विरासत तोडेर संसद् बन्ने दाउमा छन् । मतदाता माझ सेलिब्रेटी झैँ बनेका सुहाङ नेम्वाङ बुबाले लगातार जित हासिल गरेको क्षेत्रबाट पुन विजयी बन्दै युवाको नेतृत्व गर्ने योजनामा छन् ।

०८१ को उप–निर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर विजयी बनेका सुहाङ अबको निर्वाचनमा पनि यही क्षेत्रमा उम्मेदवार बनेका हुन । नम्र स्वभाव, मिलनसार र एउटा शालीन व्यक्तिको पहिचान बनाएका सुहाङले आफ्नै व्यक्तित्व र युवा भएका कारण पनि मतदातामाझ प्रिय देखिनछन् ।

आफूलाई लामो समयदेखि इलाम–२ को सामाजिक र राजनीतिक क्षेत्रमा योगदान गरेको बताउने काँग्रेस उम्मेदवार आचार्य यस पटक आफ्नो जीत सजिलो रहेको बत्ताउँछन् । नेम्वाङ बाबु–छोरासँगै उम्मेदवार बनेकाका आचार्य काँग्रेस वृत्तमा भने निकै अनुभवी र खारिएका नेता मानिन्छ ।

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका भेषराज आचार्य, नेपाली कम्युनिस्ट पाटीका ओमबहादुर गुरुङ, नेपाल जनमुक्ति पाटीका यामबहादुर योङहाङ, राप्रपाका गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पाटीका दिवस राई, श्रम संस्कृति पाटीका सुदिप राई, मङ्गोल नेशनल पाटीका श्याम लिम्बु, नेकपा माओवादीका होमप्रसाद खतिवडा, जनता समाजवादीका बलबहादुर आङ्देम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पाटीका गोकुल राई, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र पवित्रा लिम्बू तुम्बाहाम्फे राष्ट्रिय जनमुक्तिबाट गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

अघिल्लो निर्वाचनमा इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी बनेका थिए । खनालले २३ हजार ८९ मतका साथ पराजय बनेका थिए भने यस पटक राईलाई खनालकै उत्तराधिकारीका रूपमा इलाम–१ मा हेरिएको छ । धेरै वटा दल गाभिएर बनेको नेपाली कम्युनिस्ट पाटी भएकाले पनि राई चुनावी प्रतिस्पर्धामा वजनदार नेताका रूपमा छन् ।

२०४८ साल यता भएका निर्वाचन मध्ये २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसका बेअनुपराज प्रसाईँले एक पटक जितेको यस क्षेत्रमा काँग्रेसले यस पटक राईलाई नयाँ अनुहार र युवा पुस्ताका प्रतिनिधिका रूपमा अघि सार्दे एमालेको विरासत तोड्ने दाउमा छ । नेपाली कांगेसका उम्मेदवार अहिलेको पुस्ताले युवा खोजिरहेको र आफू त्यही पुस्ताको भएको हुँदा युवा सँगै काम गर्ने योजना मेरो पनि रहेको हुँदा मतदाताको विश्वासका साथ आफू चुनाव जित्ने बताउँछन् ।

इलाम १ मा एमालेका काजीमान, नेपाली काँग्रेसका निष्कल , नेपाली कम्युनिस्ट पाटीका रणबहादुर राई सहित राप्रपाका ज्वाला नेपाल, रास्वपाका विमल गदाल, नेमकिपाका तुलसी केशरी छुँजू, मङ्गोल नेशनल अर्गानाइजेशनका बुद्धलाल मेचे, उज्यालो नेपाल पाटीका हरिबहादुर गुरुङ, श्रम संस्कृति पाटीका विनोद नेम्वाङ लिम्बू,नेपाल जनमुक्ति पाटीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिस्ट पाटीका नारदमणि साङपाङ, जनता समाजवादी पार्टीको तर्फबाट लिला बहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक मञ्चका रामप्रसाद लिम्बु चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

१५ फागुन २०८२