इलाम । २०३४ सालमा नेपाल विद्यार्थी सङ्घ मार्फत राजनीतिमा थालेकाका भेषराज आचार्य एक वर्ष पछि नेविसंघको अध्यक्ष बने । विद्यार्थी राजनीति देखि नै आन्दोलन, सङ्गठन र विचारमा अघि बढेका आचार्य २०४२, २०४८ र २०५२ सालमा नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भए । २०४९ सालमा जिल्ला विकास समितिमा नेपाली काँग्रेसको तर्फबाट सदस्य निर्वाचित बन्न पुगे ।
२०५१ सालमा जिल्ला विकास समिति महासङ्घका संस्थापक केन्द्रीय सदस्य बनेका आचार्य २०५५ मा जिल्ला सहसचिव बने । त्यस समय उनको सङ्गठनात्मक भूमिका प्रशंसा योग्य बनेको काँग्रेस नेता बताउँछन् । २०५६ मा क्षेत्रीय सभापति र २०५७ मा निर्वाचित क्षेत्रीय सभापति बनेपछि उनी कांग्रेसकोे राजनीतिमा खम्बाका रूपमा स्थापित भए । पार्टीको आठौँ महाधिवेशनदेखि हालसम्म सबै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा सहभागी हुँदै आएका छन् भने २०७८ सालमा जिल्ला सभापतिको उम्मेदवार बनेर पराजित भए ।
लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा उनको सक्रियता राजनीतिक दबाबका बिच पनि संघर्षमानै बित्यो । पटक–पटक चुनौती खेप्दै पनि चार दशकभन्दा बढी समय राजनीतिमा समर्पित भेषराज अहिले संसद् छिर्ने दाउमा छन् । उनको संसदीय यात्रा भने २०७० सालको संविधानसभा निर्वाचनबाट सुरु भयो । इलाम–२ बाट उम्मेदवार बनेका आचार्य नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भए । अहिले सुवासका कान्छा छोरा सुहाङसँग इलाम–२ बाटै संसद् छिर्ने दाउमा मैदानमा छन् ।
पहिलो पटक संसद् प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रिएका उनले चुनाव जिते इलामको विकासमा योगदान दिने बताएका छन् । सबै पुस्तालाई आकर्षित गर्न सक्ने नेताका रूपमा चिनिएको र परिवर्तन काङ्ग्रेसबाटै सुरु भएको र अब देश परिवर्तन गर्ने भन्दै आचार्य आफूलाई भावी सांसदका रूपमा प्रस्तुत गरिरहेका छन् । जिल्लाको राजनीतिमा गहिरो जरा गाडेको र आन्दोलनदेखि सङ्गठनसम्मको सक्रिय इतिहासले उम्मेदवार बनाएको उनको भन्दै यो पटक विजयी बन्ने उनको दाबी छ । यस अघिका निर्वाचनमा पराजित हुनु उनको लागि चुनौतीको रूपमा देखिन्छ ।
राष्ट्रिय राजनीतिमा उनको पहिचान सीमित रहनु अर्को कमजोरी हो । यिनै अनुकूलता र प्रतिकूलता बिच उभिएका भेषराज आचार्य यस पटक इलाम–२ बाट संसद्मा पुग्ने आफ्नो लामो आकाङ्क्षालाई सफल बनाउने प्रयासमा छन् । तर उनलाई सहज भने छैन । उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङ मुख्य प्रतिस्पर्धीका रूपमा छन् । उमेरले भेषराजका छोरा सरह रहेका सुहाङ युवामाझ लोकप्रिय छन् । जसका कारण भेषराजको संसदीय यात्रा फलामको चिउरा सरह नै बन्ने देखिन्छ । १६ महिना संसद् हुँदा सुहाङले जिल्लाको लागी संसदमा खेलेको भूमिका र विपतमा जनताको आँगन आँगन पुगेका र पुन निर्माणमा सरकारसँग धरपकड गरेका सुहाङ जिल्लाको विकासकालागि कुनै कञ्जुस्याँइ नगर्ने बताउँछन् ।
इलाममा दुई लाख ३१ हजार आठ सय मतदाता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन–२०७९ को मतदाता सङ्ख्या भन्दा ६ हजार ९ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । जसमध्ये १ लाख १५ हजार ९ सय ५२ पुरुष, १ लाख ८ हजार ९ सय २३ महिला र २ जना तेस्रो लिङ्गी मतदाता थिए । फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
१० वटा पालिका रहेको इलाममा प्रतिनिधिसधा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । ५८ हजार ६ सय ७३ पुरुष, ५३ हजार ६ सय ४६ महिला र १ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए । क्षेत्र नम्बर–२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन् । ६० हजार ९ सय ७५ पुरुष, ५८ हजार ५ सय १२ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । निर्वाचनका लागि इलाममा एक सय ५० मतदानस्थालमा २ सय ९० मतदान केन्द्र कायम गरिएको छ ।
समानुपातिक मत
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले ४७ हजा १२६, काँग्रेसको ३८ हजार ७८३, राष्ट्रिय स्वतन्त्र पार्टीको ९ हजार १३७, एकीकृत समाजवादीको ८ हजार ६०७, माओवादी केन्द्रको ६ हजार ८०२ मत पाएको थियो । त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनले ३ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४९१, जनता समाजवादी पार्टी, नेपालले २ हजार ८८, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ६७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ४४५, जनमत पार्टीले २७२, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १९० नेकपा मालेले १८०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १३८, हाम्रो नेपाली पार्टीले १२१, नेपाल मजदुर किसान पार्टीले ११३, नेपाली जनता दलले १११ पाएको थियो । अन्य दलले सय मत कटाएनन् ।
सम्बन्धित समाचार
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज हुने आयोगको चेतावनी
भक्तपुर–२ मा निर्वाचन जित्न सजिलो छैन कसैलाई
डोल्पामा सहोदर दाजुभाइ नै मुख्य प्रतिस्पर्धी !
सप्तरी– ३ : उपेन्द्र, गजेन्द्र र अमरको प्रवेशले बहुकोणिय प्रतिस्पर्धा
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
रास्वपाले सरकार बनेमा तत्काल संविधान संसोधन गर्ने
४१ दलका घोषणापत्र सार्वजनिक, ८ सय ६७ उम्मेदवारको बैंक खाता






