मिस्त्रीदेखि वडाध्यक्ष, प्रदेश हुँदै संसद् यात्रामा कागते

इलाम । काजीमान कागते ढुङ्गा फोर्थे, काठ काट्थे, मिस्त्री गर्थे (घर बनाउने काम) । कागतेले आफ्नो घरको गाह्रो आफै लगाएका हुन् । घर बनाउँदै गर्दा घरको लागि चाहिने काठको व्यवस्था गर्न उनी आफै काठ चिर्दै थिए । त्यही बेला एमालेले उनलाई कन्याम गाविस १ मा वडाध्यक्षको उम्मेदवार बनायो ।

कागते बनाउँदै गरेको घर अधुरै छाडेर चुनावमा लागे । उनको त्यो अधुरो घर अहिलेसम्म पनि पुरा भएको छैन । कागतेले त्यही अपुरो घरमा बसेर सामाजिक काम गरेका छन् । त्यही भएर ‘काजीमान कागतेले अरूको काम गर्दा गर्दै आफ्नो घर पुरा गर्न भ्याएनन् ।’ अपुरो घरको कुरा गर्दा कागते हाँस्दै भन्छन्, ‘त्यति बेला थालेको घर अहिले पनि पुरा भएको छैन नि हाउ, अब त भत्काउने बेला भइसक्यो, तर यसो म्युजियम जस्तो बनाउन पाए हुन्थ्यो ।’

२०१८ सालमा बाबु मोहन बहादुर कागते र आमा फूलमाया कागतेको माइलो सन्तानको रूपमा जन्मिएका कागते २०४६ सालदेखि माले हुँदै नेपाली वामपन्थी आन्दोलनमा होमिए । कागते २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन कन्याम गाविस वडा नं. १ को वडाध्यक्ष निर्वाचित भएपछि जनप्रतिनिधिको यात्रा सुरु भयो । त्यसपछि उनी कन्याम गाविसको उपाध्यक्षमा निर्वाचित भए ।

गाविसमा दुई वर्ष उपाध्यक्षको भूमिका निर्वाह गरे । तीन वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरे । २०७४ को आम निर्वाचनमा उनी इलाम १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । कागतेले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमालेको क्षेत्रीय अध्यक्षको रूपमा दुई नेतृत्व गरिसकेका छन् । माओवादीको सशस्त्र द्वन्द्वताका गाउँ गाउँमा राजनीतिक दलको गतिविधि प्राय शून्य हुँदा कागते एमालेको खम्बा बनेर उभिए र पार्टीलाई हार्न दिएनन् ।

२०५८-०५९ तिर आठ रुपैयाँमा पनि हरियो पत्ति बिक्दैनथ्यो । चिया प्रशोधन उद्योगहरूले हरियो पत्तिको मूल्य निर्धारणमा सिन्डिकेट लगाउँथे । त्यस बेला काजीमान कागतेले चिया किसानको पक्षमा भएको आन्दोलनको अगुवाइ गरे । मुलुकमा हरियो पत्तिनै विक्री नहुने अवस्थामा उनकै अगुवाइमा किसानले उत्पादन गर्ने हरियो पत्ति भारतसम्म पु¥याएर विक्री गरे । भारतमा विक्री गरेको चियाको भुक्तानी समेत नपाउने अवस्था आएपछि चियाको औद्योगीकरणको लागि कागते लागि परे ।

सुरुमा हाते चिया प्रशोधनको लहर चल्यो । गाउँ गाउँमा साना साना चिया प्रशोधन गर्ने घरेलु उद्योग स्थापना भए । कागतेले पनि घरैमा झुल्के घाम हाते चिया उद्योग स्थापना गरेर हातैले माडेर तयारी चिया बनाउन थाले । हाते चिया उद्योगहरूमा चिया प्रशोधनको प्रविधिहरू खासै थिएनन्, पछि बिस्तारै बिस्तारै चिया प्रशोधन गर्ने चिनिया मेसिन भित्रियो । उनले पनि ‘लड बुद्ध’ चिया प्रशोधन उद्योग स्थापना गरे । अहिले चिया प्रशोधन उद्योग कान्छा छोरा लाक्पा दोर्जेले चलाउँछन् । कागते चियाको क्षेत्रमा काम गर्न राज्यले बनाएको चिया तथा कफी विकास बोर्डमा दुई पटकसम्म सदस्य भए ।

उनले शिक्षा क्षेत्रको विकासमा पनि योगदान गरेका छन् । कन्याममा रहेको श्रीकृष्ण श्रम माविमा उनी लगातार १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए । विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक थियो । कुनै बेला एसएलसीको नतिजामा शून्य हुने विद्यालयले कागते व्यवस्थापन समितिमा आएपछि शतप्रतिशत सम्म नतिजा निकाल्यो । पूर्वी क्षेत्रमा करफोक विद्या मन्दिर र दानावारिको गरुवा बहुमुखी क्याम्पस बाहेक अन्य ठाउँमा उच्च शिक्षा अध्ययन गर्ने ठाउँ थिएन । कागतेकै पहल र प्रयासमा कन्यामको कृष्णा श्रममा प्लसटुको पढाई सुरु भएको हो । सामान्य परिवारमा हुर्किएका कागते समाज बुझेका छन् । विकासको आवश्यकता बुझेका छन् । उनै कागते प्रतिनिधि सभा निर्वाचन इलाम क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनका प्रतिद्वन्धिका रूपमा नेपाली काँग्रेसले युवा उम्मेदवार निष्कल राईलाई अघि सारेको छ ।

विगतका निर्वाचनहरूमा नेकपा एमालेले विजय हासिल गर्दै आएको इलाम –१ मा एमालेको विरासतलाई निरन्तरता दिने दाउमा कागते छन् । २०४८ साल यताका निर्वाचन मध्ये २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईँले बाहेक सबै निर्वाचनमा एमालेले वर्चस्व जमाएको छ । अघिल्लो निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा एमालेका महेश बस्नेतले हराएका थिए । एमाले छोड्न अर्को पाटीबाट उम्मेदवार बनेको कारण खनालले पराजय भोग्नु प¥यो । एमालेबाट चिढिएर नयाँ पाटी समाजवादीबाट उम्मेदवार बन्दै काङ्ग्रेससँगको गठबन्धनबाट उम्मेदवार बन्दा सधैँ आफरुलाई मत दिएका मतदाताले नै हराइदिए । त्यस कारण पनि एमालेले लाल किल्लाको रूपमा रहेको दाबी गर्छ ।

इलाम–१ मा नेपाली कम्युनिस्ट पाटीले सूर्योदय नगरपालिकाका तत्कालीन नगरप्रमुख रणबहादुर राईलाई मैदानमा उतारेको छ । राई २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट सूर्योदय नगरप्रमुख बनेका थिए । पछि एमालेबाट माधव नेपालसँगै विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा लागेका थिए । त्यसपछि २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा समेत एकीकृत समाजवादीबाट दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी हाल मेयर छोडेर प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन् । यस क्षेत्रमा एमालेले लामो समय देखी जितिरहेको भए पनि यस पटक सहज भने छैन ।

अघिल्लो निर्वाचनमा एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी बन्दा झलनाथ खनालले २३ हजार ८९ मत ल्याएका थिए । त्यस बेला मङ्गोल नेशनल अर्गनाइजेसनका बुद्ध लाल मेचेले २ हजार ४ सय ४२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तोया नाथ शर्मा सापकोटाले १ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका कमल कुमार राईले १ हजार ३ सय १३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले १ हजार १ सय ८४ मत प्राप्त गरे । यस्तै अर्का स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पाले ६ सय ४० मत पाएका थिए ।

नेपाली काँग्रेस (बी.पी.) का गणेश प्रसाद पौडेलले ३ सय ४७ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदम बहादुर लिम्बुले २ सय ६५ मत, स्वतन्त्र उम्मेदवार नेत्र प्रसाद रेग्मीले २ सय ३५ मत प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीत कुमार मुखियाले १ सय ५१ मत प्राप्त गरेका थिए ।

इलाम–१ मा एमालेका काजीमान, नेपाली काँग्रेसका निश्कल , नेपाली कम्युनिस्ट पाटीका रणबहादुर राई सहित राप्रपाका ज्वाला नेपाल, रास्वपाका विमल गदाल, नेमकिपाका तुलसी केशरी छुँजूू, मङ्गोल नेशनल अर्गानाइजेशनका बुद्धलाल मेचे, उज्यालो नेपाल पाटीका हरिबहादुर गुरुङ, श्रम संस्कृति पाटीका विनोद नेम्वाङ लिम्बू,नेपाल जनमुक्ति पाटीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिस्ट पाटीका नारदमणि साङपाङ, जनता समाजवादी पार्टीको तर्फबाट लिला बहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक मञ्चका रामप्रसाद लिम्बु चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

१५ फागुन २०८२