दाङ । दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेश डाँगीले नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् । २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको दाङ–३ मा डाँगीले पाण्डे “सबैभन्दा सक्षम, योग्य र स्पष्ट भिजन भएका व्यक्ति” भएको दाबी गर्दै आफूले समर्थन गरेको बताए ।
उनले पाण्डेलाई मतदान गरी विजयी बनाउन मतदातालाई अपिल गरे । योसँगै पाण्डेलाई समर्थन गर्ने उम्मेदवारको संख्या ३ पुगेको छ । डाँगीको समर्थनसँगै दाङ–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । डाँगी ‘क्याप’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।
स्वतन्त्र उम्मेदवार डाँगीलाई पाण्डेको पक्षमा ल्याउन एमालेका युवा नेता नीमबहादुर खडकाले भूमिका रहेको छ । यसअघि स्वतन्त्र उम्मेदवार भरत दर्नाल एमालेका उम्मेदवार पाण्डेलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका थिए । दर्नालसँगै एकसय बढी विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए ।
त्यसैगरी जनार्दशन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार घनश्याम डाँगीले पनि पाण्डेलाई समर्थन गरेका छन् । चुनावी तालमेल अनुसार उनले पाण्डेलाई समर्थन गरेका हुन् । स्वतन्त्र उम्मेदवारहरू क्रमशः एमाले उम्मेदवारको पक्षमा उभिन थालेपछि दाङ–३ मा पाण्डेको चुनावी आधार बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
अब बाँकी दिनमा अन्य उम्मेदवारको रणनीति कस्तो रहनेछ भन्ने चासो मतदातामा बढेको छ । दाङ–३ मा चुनावी माहोल तातेका बेला भएको यो समर्थन घोषणाले अन्तिम परिणाममा कत्तिको प्रभाव पार्ला भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ ।






