धनगढी । कैलालीको धनगढीमा एक महिनादेखि सञ्चालन भएको प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा गत माघ ५ गतेदेखि सञ्चालन भएको प्रदेशस्तरीय सीप तथा रोजगार मेला आज बुधबार सम्पन्न भएको हो ।
प्रदेशस्तरीय सीप तथा रोजगार मेला समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उक्त मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पु-याउने बताएकी छन् ।

उनले तालिम प्राप्त गरेपछि त्यसलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । गत वर्ष सञ्चालन गरिएको यस्तै मेलाबाट पनि धेरै युवायुवती स्वरोजगार बन्न सफल भएको उनको भनाइ थियो ।
उपप्रमुख रानाका अनुसार मेलामार्फत २२ वटा विभिन्न विषयमा सीपमूलक तालिम प्रदान गरिएको थियो। यस वर्ष सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ८४ पालिकाका करिब ६०० युवायुवतीले तालिम लिएका छन् ।
कार्यक्रममा उनले तालिमबाट प्राप्त सीपको सही सदुपयोग गर्दै आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न सहभागी युवायुवतीलाई आग्रह गरिन् । सीप तथा रोजगार मेला युवायुवतीको क्षमता विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा प्रभावकारी बनेको आयोजकले जनाएको छ ।






