बौद्धिक अपाङ्गता भएका बालबालिका पढाउने विद्यालयलाई बैंकको सहयोग

राजविराज । नेपाल एसवीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजविराज ६ स्थित बौद्धिक अपाङ्गताको स्कूललाई आवश्यक सामग्री सहयोग गरेको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयलाई बिहीबार बैंकले फर्निचरका सरसामान प्रदान गरेको हो ।

यसरी सहयोग स्वरुप प्रदान गरिएको सरसमानमा तीस थान कुर्सी र १–१ थान स्टील दराज र टेबल रहेका छन् । बैंकका शाखा प्रबन्धक परीक्षा दास, बरिष्ठ सहायक निरज धिमाल र सहायक कर्मचारी खुश्वु दास सहितको टोली विद्यालयमै सहयोग सामग्री लिएर पुगेका थिए ।

उक्त सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश अर्याल तथा प्रधानाध्यापक आरती मंडललाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा प्रबन्धक दासले शिक्षा नै विकासको आधार भएको भन्दै शिक्षा ग्रहणका लागि आउने बालबालिका र शिक्षा प्रदान गर्ने शिक्षक दुबैलाई सहज होस भन्ने उद्देश्यका साथ सानो सहयोग गरिएको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले शारिरीक रुपले अशक्त भएका व्यक्तिहरुका लागि नगरपालिकाले पनि विभिन्न समयमा सहयोग गरिरहेको र भावि दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिईने प्रतिवद्धता जनाईन ।

आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाका साथै समाजमा विभिन्न समयमा आवश्यक परेका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएकोमा विद्यालयको तर्फबाट बैंकलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख परवीन, समाजसेवी शंकर शारदा, गोविन्दलाल श्रेष्ठ, करुणा झा, समावेशी अपाङ्ग संघका प्रतिनिधि रामनरेश चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्याल, प्रधानाध्यापक मंडल लगायतले बोल्दै बैंकको यस मानविय पहल प्रति धन्यवाद व्यक्त गरेका थिए ।

२०८१ सालमा स्थापना भएको उक्त विद्यालयमा बौद्धिक अपाङ्गता भएका २४ जना छात्रछात्रा अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध