पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पछिल्ला निर्वाचन जित्दै आएको नेकपा (एमाले) लाई यसपालिको चुनावमा विरासत जोगाउनै कसरत छ । यहाँ एमालेलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टीसमेतका दलले चुनौती दिइरहेको चर्चा छ ।
२०७४ र २०७९ सालको निर्वाचनमा एमालेका उम्मेदवारले कास्कीका तीनवटै क्षेत्र जितेका थिए । २०६४ सालयता कास्की–२ मा एमालेले लगातार जित्दै आएकोमा रवीन्द्र अधिकारीले ह्याट्रिक नै गरेका थिए ।
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपालि कास्की–१ बाट एमालेले वैनबहादुर क्षत्री (अधिकारी) लाई उम्मेदवार बनाएको छ । पहिलोपल्ट संसदीय चुनाव लड्न लागेका उनी एमाले कास्की अध्यक्षसमेत हुन् ।
कास्की–२ मा युवा नेता रश्मि आचार्य चुनावी मैदानमा छन् । अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । बौद्धिक युवा नेताको छवि बनाएका आचार्यका निम्ति स्व. रवीन्द्र अधिकारी र उनकी पत्नी विद्या भट्टराईले जितेको कास्की–२ सहज हुने अनुमान छ । कास्की–३ मा दामोदर पौडेल वैरागीले दोहोरिएर टिकट पाएका छन् । २०७९ को निर्वाचन जितेका उनलाई अहिले कांग्रेस, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारले चुनौती दिएका छन् ।
कास्की–१ मा नेपाली कांग्रेसबाट तिलक रानाभाट उम्मेदवार छन् । नेकपाबाट राजकाजी गुरुङ (करण), रास्वपाबाट खड्गराज पौडेल (गनेश) छन् । राप्रपाले यहाँ बाबुराम थापालाई टिकट दिएको छ ।
कास्की–१ बाट २०७४ र २०७९ को चुनाव क्रमशः खगराज अधिकारी र मनबहादुर गुरुङले जितेका थिए । हाल एमाले सचिव रहेका खगराजले ३९ हजार २ सय ४२ मत प्राप्त गर्दा दोस्रो स्थान रहेका कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८ सय २५ मत प्राप्त गरेका थिए ।
२०७९ मा एमालेकै मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मतसहित निर्वाचित हुँदा कांग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मतप्राप्त गरेका हुन् । तेस्रो स्थानको मत ल्याएका रास्वपाका राजु राईले १० हजार ९ सय ४१ पाएका थिए ।
हाल यहाँ १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये एकजना स्वतन्त्र छन् । १ लाख १६ हजार ८ सय ७८ मतदाता छन् । कास्की– १ मा मादी गाउँपालिका (वडा १ देखि १२ पूरै) र रुपा गाउँपालिका (वडा १ देखि ७ पूरै) सहित पोखराका ११ वटा वडाहरू पर्दछन् । पोखराको वडा नम्बर १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरू कास्की १ मा पर्छन् ।
यसैगरी, कास्की–२ मा एमालेलाई टक्कर दिन रास्वपाका उत्तम पौडेल आएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका पौडेल युवानेता हुन् । २०७९ को चुनावमा समेत रास्वपा यहाँ दोस्रो भएको थियो । विद्याले १६ हजार ९ सय ९८ मत ल्याउँदा रास्वपाका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ ल्याएका थिए । कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेदवार नेकपा (समाजवादी) का श्रीनाथ बरालले ९ हजार ६ सय ५९ प्राप्त गरेका थिए ।
यहाँ कांग्रेसले पाका नेता माधवप्रसाद बास्तोला (मधु) लाई चुनावी मैदानमा टिकट दिएको छ । नेकपाले हेमबहादुर थापा (किरण) लाई अघि सारेको छ । चार स्वतन्त्रसहित १७ उम्मेदवारमध्ये राप्रपाबाट केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ र नेकपा (माओवादी) का प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ पनि चुनाव जित्ने आत्मविश्वासका साथ मतदातासँग भेटघाटलाई टुंंगाउँदैछन् ।
कास्की–२ मा ८४ हजार १ सय ३४ मतदाता छन् । यो निर्वाचन क्षेत्र पोखराको मुख्य बजार क्षेत्र पर्छ । पोखराको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छ ।
एमालेले यहाँबाट २०६४ यता सबै चुनाव जित्दै आएको छ । युवा नेता रवीन्द्र अधिकारीले २०६४, २०७० र २०७४ मा चुनाव जितेर ह्याट्रिक गरेका थिए । हेलिकोप्टर दुर्घटनामा उनको निधनपछि उपनिर्वाचन तथा २०७९ को निर्वाचनमा रवीन्द्रपत्नी विद्या भट्टराईले सहजै चुनाव जितेकी थिइन् ।
कास्की–३ मा यो पटक एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारबीच कडा टक्कर रहेको मतदाता बताउँछन् । यहाँ २०७४ सालमा एमालेका जगतबहादुर विश्वकर्माले चुनाव जितेका थिए । उनी ३२ हजार ६ सय ९० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत पाएका थिए ।
२०७९ मा एमालेका दामोदर वैरागीले नेकपा (माओवादी केन्द्र) का रामजी बराल ‘जीवन’लाई करिब ५ हजार ५ सय मतान्तरले हराएका थिए । दामोदरले २२ हजार ९ सय ८० मत ल्याउँदा जीवनले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । तेस्रो रहेका रास्वपाका योगराज पौडेलले १२ हजार १ सय ८० मत ल्याएका थिए ।
कास्की–३ मा विभिन्न दलका १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ एमालेका वैरागी, कांग्रेसका मनोज गुरुङ, राप्रपाका युवा नेता अर्जुनप्रसाद खनाल, रास्वपाबाट बिना गुरुङ, नेकपाबाट गोपाल गिरीबीच कडा प्रतिस्पर्धा छ ।
समाजसेवामा भिजेका कांग्रेसका मनोज र एमालेका वैरागीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएका छ । यहाँ कुल १ लाख ७ हजार ५ सय ६० मतदाता छन् । यो अन्नपूर्ण गाउँपालिका (वडा १ देखि ११ पूरै), माछापुच्छ्र«े गाउँपालिका (वडा १ देखि ९ पूरै) र पोखराका ११ वटा वडाहरू पोखराका वडा १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ पर्दछन् ।






