इनिसा विक हत्या प्रकरणः थप अनुसन्धानका लागि सिआइबी टोली सुर्खेतमा

सुर्खेत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विक हत्याको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेषज्ञ टोली सुर्खेत आइपुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धानको अधिकांश काम सम्पन्न गर्नुका साथै घटनाको वैज्ञानिक तथा प्राविधिक पक्षलाई थप विश्लेषण गर्न सिआईबीको सहयोग लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जानकारी दिए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ । अनुसन्धानका लागि विभिन्न विद्युतीय प्रमाणहरू समेत प्रयोगशालामा पठाइएको छ । “पोस्टमार्टम रिपोर्ट आइसकेको छ, पीडित र संदिग्ध पक्षका मोबाइल फोन लगायतका विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाएका छौं,” उनले भने, “केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ, ती रिपोर्टहरू आएपछि घटनाको अन्तिम निष्कर्षमा पुग्न सहज हुनेछ ।”

अनुसन्धानलाई थप विश्वसनीय बनाउन नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ । पोलिग्राफी परीक्षणले बयान दिने व्यक्तिले सत्य बोलेको हो कि होइन भन्ने पहिचान गर्न सहयोग गर्नेछ । प्रहरीले घटनास्थलबाट संकलन गरिएका सबै भौतिक प्रमाणहरू प्रयोगशालामा पठाएको जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र किशोर–किशोरीबीच भएका डिजिटल संवादलगायत सबै विद्युतीय प्रमाणहरूको सूक्ष्म अध्ययन भइरहेको छ ।

वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसा विक गुर्भाकोट–६ बडाखोलीकी स्थायी बासिन्दा हुन् । उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वन क्षेत्रमा नग्न, रक्ताम्य अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा संलग्नहरुको बयान र पोष्टमार्टम रिर्पोटका आधारमा उनको बलात्कारपछि हत्या भएको खुलेको छ ।

मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबीसहित फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी उजुरी दिएका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका चारै जना १८ वर्षमुनिका हुन् । प्रहरीले घटनाकै दिन फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । त्यसपछि थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका एक किशोर र इनिसाबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको दाबी गरिएको छ । घटना भएको दिन बिहान सहिद पार्क घुम्न जाने पूर्व सहमतिअनुसार उनीहरू पार्क नजिकैको जंगल क्षेत्रमा पुगेको देखिएको छ ।

अनुसन्धानबाट जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग गम्भीर रूपमा च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँका तीन जना चिकित्सक तथा भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्टमा यस्तो तथ्य उल्लेख गरिएको हो । “पोस्टमार्टम रिपोर्टमा संवेदनशील अंग च्यातिएपछि अत्यधिक रक्तस्राव भएको देखिन्छ, पीडितको पाठेघरसम्म घाउको गहिरो असर देखियो, डा. शाक्यले भने ।

घटनापछि पीडित परिवार र स्थानीय समुदाय आक्रोशित बनेका छन् । मृतकको शव पाँच दिनदेखि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । दोषीमाथि कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । मृतककी आमा तिला विकका अनुसार घटना भएको दिन बिहान इनिसा ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

शनिबार भएकाले आमा–छोरीले त्यस दिन आफ्नो गाउँ गुर्भाकोट जाने योजना बनाएका थिए । तर इनिसाले “१–२ घण्टामा फर्किन्छु” भन्दै घरबाट निस्किएपछि उनी फर्किइनन् । “ढिलोमा ८ बजेसम्म फर्किन्छु भनेकी छोरी ९ बजेसम्म पनि नआएपछि मैले फोन गरें, तर मोबाइल अफ थियो,” आमा तिलाले भनिन् । त्यसको केही समयपछि एक अपरिचित नम्बरबाट फोन आएर इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा रहेको खबर पाएकी थिइन् । प्रहरी र स्थानीयले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि देशभरबाट न्यायको माग उठिरहेको छ । वीरेन्द्रनगरमा बुधबार पीडित परिवार, आफन्त र विभिन्न अधिकारकर्मीहरूले प्रदर्शन गरे । सामाजिक सञ्जालमा विभिन्न दलका नेताहरु, मानव अधिकारकर्मीदेखि सेलिबे्रटीहरुले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन