मुम्बई । बलिउड अभिनेता वरुण धवनले केही समय अभिनयबाट विश्राम लिने बताएका छन् । आफ्नो पछिल्लो चलचित्र ‘है जवानी तो इश्क होना है’ को रिलिज पछि अभिनयबाट विश्राम लिने चाहना उनले व्यक्त गरेका छन् । मिडिया रिपोर्टहरूका अनुसार अभिनेता वरुणले परिवारलाई समय दिन नसकेका कारण परिवारसँग उनको खटपट चलिरहेको छ । परिवारको सल्लाहमै उनले अब आफ्नो परिवारसँग बढी समय बिताउने योजना बनाएका छन् ।
अभिनेता वरुणको श्रीमती नताशा दलालले परिवारलाई श्रीमानले समय दिन नसकेको गुनासो यस अघि पनि गर्दै आएकी थिइन् । बुबालाई समय समयमा भेट्न नपाउँदा छोरी लारालाई असर पर्ने उनको कथन थियो । यही कारण पनि वरुणले यस पटक लामो विश्राम लिएर परिवारसँग रमाउने चाहना व्यक्त गरेका छन् ।
यसै बिच अभिनेता वरुणको पछिल्लो चलचित्र ‘है जवानी तो इश्क होना है’ को रिलिज मिति परिवर्तन गरिएको छ । सुरुमा यो चलचित्रलाई ५ जुनमा रिलिज गरिने भनिएको थियो । यो चलचित्र अब एक हप्ता पछि, १२ जुनमा चलचित्र घरमा रिलिज हुनेछ ।
यता चलचित्र ‘टक्सिक’ को रिलिज मिति परिवर्तन भएपछि निर्माताहरूले आफ्नो चलचित्र ‘है जवानी तो इश्क होना है’को रिलिज मिति परिवर्तन गर्नु परेको बताएका छन् । टिप्स फिल्म्सका प्रबन्ध निर्देशक रमेश तौरानीले चलचित्रको रिलिजको ’boutमा आधिकारिक विज्ञप्ति जारी गरेपछि वरुणले यो चलचित्रको रिलिजपछि केही समय विश्राम लिने भनाई मिडियामा राखेका हुन् ।
यो चलचित्रलाई वरुणकै वुवा डेभिड धवनले निर्देशन गरेका हुन् । यो एक त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको वरुणले बताएका छन् । गृह व्यानरको भएकाले पनि यो चलचित्रको प्रचार प्रसारमा आफूले पूर्ण समय दिने वरुणले बताएका छन् । जसमा वरुण धवनसँगै मृणाल ठाकुर र पूजा हेगडे पनि छन् ।
त्यसो त हालै रिलिज भएको चलचित्र बोर्डर २ मा वरुणको अभिनयलाई दर्शक र समीक्षकहरूले खुलेर प्रशंसा गरे । दर्शकहरूले वरुणलाई अर्को चलचित्रमा हेर्ने चाहना व्यक्त गरेको भए पनि अव परिवारको सल्लाहमा बल्ल अर्को चलचित्रमा फर्कने वरुणको कथन छ ।
अभिनेता वरुणले चलचित्र निर्देशनमा पनि हात हाल्नु पर्ने उनको वुवा डेभिडको सुझाव रहेको छ । वुवाको सुझावलाई आफूले मनन् गर्दै आएको पनि उनले बताएका छन् । त्यसैले चाँडै नै वरुणले चलचित्र निर्देशनमा समेत हात हाल्ने सक्ने वताइएको छ । तर उनले कहिलेबाट निर्देशन गर्ने भनेर स्पष्ट पारेका छैनन् ।






