विजय मल्लको नाटकलाई पर्दामा उतारे निर शाहले

काठमाडौं । साहित्यिक कृतिलाई पर्दामा चलचित्रको रूपमा उतार्ने निर्देशकको रूपमा परिचय बनाएका नीर शाहले यति बेला अर्को कृतिलाई पनि पर्दामा उतारिरहेका छन् ।

कवि, उपन्यास तथा नाट्यकार विजय बहादुर मल्लको चर्चित नाटक ‘कोही किन वर्वाद होस’लाई यस पटक निर शाहले चलचित्रको रूपमा उतारेका हुन् । नाटककी मुख्य पात्र कमला मिसलाई लक्षित गरेर उनले यो चलचित्रको नाम ‘कमला मिस’ राखेका छन् ।

यो चलचित्रको छायांकन उनले २३ दिनमै सम्पन्न गरेका छन् । १ फागुनबाट छायांकन थालिएको यो चलचित्रको मंगलवार राती सम्पूर्ण छायांकन सम्पन्न गरेको निर शाहले राजधानीलाई बताए । बिचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताएका छन् ।

यस अघि कृतिमा आधारित रहेर निर शाहले ‘वासुदेव’, ‘राजमति’, ‘बसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ जस्ता चलचित्र निर्देशन गरेका थिए । नाटक ‘कोही किन वर्वाद होस’ पनि आफूलाई साह्रै मन परेका कारण यसलाई चलचित्रको रूपमा तयार गरेको पनि उनले बताएका छन् । करिब दश वर्षपछि निर्देशक शाह चलचित्र निर्देशनमा फर्किएका हुन् । यस अघि उनले ‘सेतो बाघ’ निर्देशन गरेका थिए ।

शाहका अनुसार ‘कमला मिस’ मनोवैज्ञानिक कथावस्तुमा आधारित रहने छ । यो चलचित्रमा निर्देशक निर शाह सहित रमेश बुढाथोकी ,वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन् । चलचित्रको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) छन् ।

यो चलचित्रको कथा विजय मल्लको हो । यसको पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा परिमार्जन गरेर तयार पारेका हुन् ।

शाहका अनुसार चलचित्र ‘कमला मिस’मा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसको निर्माण व्यवस्थापनमा भोला सुबेदी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला