काठमाडौं । प्राय चलचित्रमा सुकिलो मुकिल चरित्रमा प्रस्तुत हुँदै आएकी अभिनेत्री प्रियंका कार्की यस पटक सुदूर ग्रामीण क्षेत्रकी महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् । उनी एउटा छोटो चलचित्र ‘टाख’(टाँक)मा पूर्ण ग्रामिण महिलाको भूमिकामा उत्रिएकी हुन् ।
प्रियंकाको भनाईमा एउटा गतिलो पुलको अभावका कारण देशका धेरै ठुदा नदी किनारका बासिन्दाहरू अहिले पनि तुइनमा झुन्डिएर दैनिक पीडादायी जीवन यापन गरिरहेका छन् । चलचित्रको छायांकनमा काठमाडौँ बाहिर जाँदा तुइनमा झुन्डिएर दैनिकी जीवन यापनको लागि नदी तर्न बाध्य भएका महिलाहरूको पीडाले अभिनेत्री प्रियंकालाई छोएको थियो ।
यि अभिनेत्रीको भनाईमा तुइन हटाउने घोषणा धेरै अघि सरकारले गरेको हो । बजेट भाषणमा पनि तुइन हटाइने कुरा विगतमा नआएका हैनन् । तर, पनि अझै मुलुकका धेरै नदीहरूमा तुइन नहटेपछि त्यसको पीडालाई यस पटक प्रियंकाले चलचित्रमा उतारेकी छिन् ।
अभिनेत्री प्रियंका र उनका पति एवम् अभिनेता आयुष्माना जोशीले केही वर्ष अघि स्थापना गरेको कम्पनी आयंका फिल्म्स ब्यानरबाट यो लघु चलचित्र ‘टाख’ निर्माण गरेका हुन् । ब्यानरबाट ‘जस्ट एनोदर लभ स्टोरी’ , ’बसन्त’ जस्ता वेभ सिरिज यस अघि निर्माण गरिसकेका प्रियंका र आयुष्मानले यस पटक मुलुकको ध्यान तुइनमाथि केन्द्रित गर्न चलचित्र ‘टाख’ निर्माण गरेको जनाएका छन् ।
१४ मिनेट ४४ सेकेन्डको लघु चलचित्र ‘टाख’लाई प्रियंकाले आफ्नै अफिसियल च्यानलबाट यति बेला रिलिज गरेकी छिन् । यो चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहिभागी गराउने उनले बताएकी छिन् ।
यो चलचित्रमा मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की रहेकी छिन्। ग्रामीण परिवेशको भूमिकामा देखिएकी प्रियंका झट्ट हेर्दा विगतका चलचित्र भन्दा भिन्न चरित्रमा छिन् ।
तुइनमा झुन्डिएर नदी वारपार गर्नुको पीडा त यो चलचित्रमा प्रस्तुत गरिएको छ नै । पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई पनि चलचित्रमा देखाइएको छ । चलचित्रमार्फत विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई नै प्रस्तुत गर्न खोजिएको प्रियंकाको भनाई छ । यो कुनै काल्पनिक नभएर अहिले पनि धेरै वटा गाउँको अर्थाथता भएको प्रियंकाको कथन छ ।
यो चलचित्र सामतेन भुटियाको निर्देशनमा तयार भएको हो । प्रियंकाको अवधारण मन परेपछि चलचित्रको कथा निर्देशक सामतेनले तयार परेका रहेछन् ।
अब बन्ने नयाँ सरकारले विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई बुझ्ने छ र तुइन हटाएर पुल तथा झोलुंगे पुल मार्फत जनताको जीवन शैली केही सहज बनाउने सघाउने विश्वास प्रियंकाको रहेको छ ।
यो चलचित्रमा प्रियंकाको साथमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगी लगायतले अभिनय गरेका छन् ।






