गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ २०६४ सालदेखि आलोपालोको क्षेत्र भनेर चिनिँदै आएको छ । यस क्षेत्रमा २०६४ सालदेखि नै एमाले र कांग्रेसले आलोपालो जित्दै आएका छन् । यस क्षेत्रमा २०६४ मा एमालेबाट प्रदीप ज्ञवाली, २०७० मा कांग्रेसबाट चन्द्र भण्डारी, २०७४ मा एमालेबाट पुनः ज्ञवाली एवं २०७९ मा कांग्रेसबाट भण्डारी निर्वाचित भए । यसरी हेर्दा गत २१ फागुनमा भएको निर्वाचनमा एमालेका ज्ञवालीले जित्नुपर्ने थियो । तर यसपटक रास्वपाका सागर ढकालले आलोपालोको प्रणालीलाई ब्रेक गरेका छन् ।
यस क्षेत्रमा कांग्रेस र एमालेको बलियो संगठन छ । नेकपाको संगठन सबै पालिकामा भएपनि कांग्रेस–एमालेजत्तिको बलियो छैन । रास्वपाको त बल्लतल्ल सबै पालिकामा संगठन बनेको छ । सबै वडामा अझैसम्म पनि संगठन बनेको छैन । निर्वाचनमा पनि रास्वपाले बल्लतल्ल सबै बुथमा एजेन्ट पायो । रास्वपाको लागि त्यही नै ठूलो कुरा हो ।
३४ वर्षीय सागर दोस्रो पटकको प्रयासमा सफल भए । पहिलोपटक उनी डडेलधुराबाट निर्वाचन लडेका थिए । ढकालले ३० हजार ४ सय ४८ मत ल्याउँदै निर्वाचनमा जित हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३ सय २८ मत प्राप्त गरेका छन् । ढकालले प्रतिस्पर्धीलाई १४ हजार ४६१ मतान्तरले पराजित गरे । ढकालले जितेसँगै गुल्मी–१ मा आलोपालोको सिस्टमलाई ब्रेक गरेका छन् । उनको जितसँगै नागरिकमा नयाँ उत्साह थपिएको छ ।
सागर ढकाल पेसाले इन्जिनियर हुन् । बिबिसीको साझा सवालमा शेरबहादुर देउवालाई प्रश्न सोध्ने ढकाल २०७९ सालको निर्वाचनमा डडेलधुराबाट देउवासँगै निर्वाचन लडेपछि बढी चर्चामा आएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका ढकाल गत निर्वाचनमा १३ हजार मतका साथ दोस्रो स्थानमा आएका थिए । अहिले देउवा उम्मेदवार नै नबनेपछि उनलाई संसद् प्रवेशमा रोक लगाउने आङ्खनो मिसन पूरा भएकाले उनी डडेलधुरा नभई आङ्खनो जन्मघर गुल्मी–१ बाट निर्वाचन लडेका हुन् ।
सागर ढकाल नेपालका स्वतन्त्र युवा राजनीतिज्ञका रूपमा चिनिन्छन् । विशेषगरी उनी युवामाझ वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको मुद्दा उठाउँदै सार्वजनिक बहसमा सक्रिय भएका कारण चर्चामा आएका हुन् । उनले इन्जिनियरिङ, जलस्रोत नीति, नियोजन तथा व्यवस्थापन जस्ता प्राविधिक तथा बहुसांस्कृतिक विषयहरूमा गहिरो अध्ययन गरेका छन् ।






