
इलाम रोङ गाउँपालिका–६ रम्भ्याङस्थित प्रमुख र आकर्षक पर्यटकीयस्थल हो, झण्डी डाँडा । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित झण्डी डाँडा १ हजार ३ सय ९६ मिटर उचाइमा अवस्थित छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौ हिमशृंखला र पहाड र तराईका दर्जनौं स्थानसमेत छर्लंग नियाल्न सकिन्छ । झण्डी डाँडाले सौन्दर्यमात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना बोकेको डाँडा हो । यहाँ विभिन्न संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । मेची राजमार्ग हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झण्डीको महत्व र सहजता बढेको छ । डाँडालाई ‘गाजलेथुम्का’ले समेत चिनिन्छ ।
झापा काँकडभिट्टाबाट २४ किलोमिटर उत्तरमा पर्ने झण्डी डाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । तराई र पहाड दुवैतिरबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । भारतबाट समेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । हाँसपोखरी र ब्युटी बोर्डर दुवै प्वाइन्टबाट गाडीमा र पदमार्ग भएर पनी झण्डी डाँडामा आउने सुविधा छ । साइक्लिङ रोडसमेत भएकाले युवा यो पदमार्गबाट आउने गरेका छन् । चुरे क्षेत्रमा यो उचाइको डाँडो बिरलै पाइने गरेकाले पनि डाँडाको महत्व अझ बढेको छ । झण्डीमा पर्यटकले क्याम्प फायर र ‘नाइटस्टे क्याम्प’ पनि गर्ने गरेका छन् । यहाँ आउने आन्तरिक पर्यटक सौन्दर्यमा लालयित हुन्छन् । डाँडालाई पर्यटकले प्राकृतिक भ्यु–टावरको उपमा र ‘भर्जिन’ पर्यटकीयस्थल भन्ने गरेका छन् ।
झण्डी डाँडा धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा डाँडालाई मानिएको छ । यहाँ रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ सानो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झण्डी खेलमैदान पनि भनिन्छ । जस्तै ः किरातीले उधौली–उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजपताका झण्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार पूजाविधि सकेपछि डाँडामा झण्डाजस्तै ध्वजापताका गाढ्ने गरेको इतिहास पाइन्छ । त्यही आधारमा डाँडाको नाम नै झण्डी डाँडा रहन गएको किंवदन्ती छ ।

किराती वा साम्पाङ राई ‘रिनाहाङ डाँडा’ पनि भन्ने गर्छन् । किरात संस्कृतिको धरोहरका रूपमा रहेको डाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि साकेल थान छ भने उधौली र उभौलीमा पूजा गरिन्छ । ढोल–झ्याम्टा बजाएर साकेला नाचिन्छ । डाँडामा भ्यु–प्वाइन्ट अवधारणा र स्थापना गर्न संघीय र स्थानीय सरकार, स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लबलगायतको योगदान महत्वपूर्ण देखिन्छ । रोङ गाउँपालिकाले यसआसपास गुराँस र रम्भ्याङ कृषि सहकारी संस्थाको अगुवाईमा चिया रोपिएको छ । अहिले यहाँ घुम्नका लागि युवा, ज्येष्ठ नागरिक, केटाकेटी सबै एकपटक पुग्ने प्रयास गरिरहेका भेटिन्छन् । फेसबुकलगायत सामाजिक सञ्जाल हेर्दा लाग्छ, ‘यो मनमोहक झण्डी डाँडा पुगेर सेल्फी नखिचे, भिडियो लाइभ नगरे र फोटो पोष्ट नगरे जीवनको रमाईलो पाटो चाँही अपुरो नै हुनेछ ।’
डाँडामा झापा, मोरङ, सुनसरीलगायत तराई क्षेत्र र भारत सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउन नजिक पर्छ । कोलाकाताबाट ६ सय २ किलोमिटरमा राजधानी काठमाडौंदेखि भन्दा नजिक झण्डी डाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगन्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झण्डी डाँडा आउन सकिन्छ । बागडुग्राबाट झण्डी डाँडा ४३ किलोमिटरमा छ । झण्डी डाँडा दृश्यावलोकनका लागिमात्र नभई वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।
दृश्यावलोकन
यहाँबाट सूर्योदय र सुर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । डाँडासम्म पुग्न मेची राजमार्गको हाँसपोखरी खण्डबाट सुरु हुने करसोङ पदमार्गअन्तर्गत गुगल प्वाइन्ट देवानगढी, गिद्देभीर, दैले, हल्लने कुहँदै दिनभर पैदल धजे भञ्ज्याङआसपास बास बस्न सकिन्छ । रम्भ्याङ धजेआसपास र सलकपुरमा होमस्टे छन् । भोलिपल्ट बिहानै झण्डी डाँडाबाट सूर्योदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीय यस क्षेत्रमा पहिलेदेखि नै झुल्केघाम हेर्न जाने गरेका थिए । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के मेची नदीलगायत इलाम र झापाका गाउँसहरमात्र नभई भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । अचेल आन्तरिक र बाह्य पर्यटकसमेत आउनेक्रम बढेको छ ।
वनभोज
यो क्षेत्रमा पहिलेदेखि नै स्थानीय बसन्त र शरद ऋतुमा वनभोज (पहिले वनभात भनिन्थ्यो) खान जाने गरेका थिए । तिहारमा देउसीभैली खेलेको रकमले वा प्रत्येक घरबाट जनही मानाचामल तेल आदि संकलन गरी मासु किनेर लिएर जाने गरेका थिए । वनभोजमा स्थानीय सांस्कृतिक, लोकदोहोरीसमेत गाइन्थ्यो । जसले गाउँ र छरछिमेकमा सामाजिक सद्भाव वा भाइचारा विकासमा योगदान गरेको थियो । आजभोली तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूह दिनभरिको गर्मी छल्न र वनभोज खान ट्रयाक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । कच्चीबाटो भए पनि यहाँ आएर रमाइलो गर्न उनीहरू उत्साहित देखिन्छन् । सडक, पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने क्रम अझै बढ्ने निश्चित छ ।
साहसिक खेल सम्भावना
डाँडाआसपासमै प्याराग्लाइडिङ सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहाँबाट प्यराग्लाइडिङ परीक्षण भएको थियो । प्याराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मको पर्यटकसमेत आकर्षित गर्ने लक्ष्य छ । यो प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनसमेत यसले जोड्ने छ । मिनी माउन्टेन आसपास प्याराग्लाइडिङ ल्यान्डिङ गराउनसके यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ । जसबाट स्थानीय लाभावन्वित हुनसक्ने देखिन्छ ।
डाँडाबाट प्याराग्लाइडिङमा मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउनलगायत उपयुक्त स्थान पुगेर बास बस्नसमेत पायक पर्छ वा धुलाबारीस्थित होटल मेची क्राउनलगायतमा बसेका पर्यटकलाई मिनी माउन्टेन हुँदै झण्डी डाँडा पुग्न पनि सहज हुन्छ । मिनी माउन्टेनबाट सुरु हुने जिर्मले सांस्कृतिक सर्किट पदमार्ग भएर खारखोला, पहिरोडाँडा, देवीडाँडा, चुलिढुंगा, कुवापानी, जौबारी, मनकामना धाम हुँदै वा लामागाउँस्थित गुम्बाबाट धजे भएर पनि पुग्न सकिन्छ ।
करसोङ पदमार्ग भएर मेची राजमार्गको हाँसपोखरीबाट यात्रा गर्ने, रम्भ्याङस्थित होमस्टे बस्ने, झण्डी डाँडामा इभिनिङ भ्युसँगै शीतल मनोरञ्जन लिने, भोलिपल्ट बिहान झण्डी डाँडाबाट सूर्योदय दृश्यावलोकन गरी प्याराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।






