वैदेशिक रोजगार तथा अध्ययनका लागि बिदेसिएका नेपाली कोरोना महामारीका कारण अलपत्र परेकाले उनीहरूलाई स्वदेश भित्र्याउन सरकारले गरेको पहललाई तीव्रता दिनुपर्ने आवाज उठ्न थालेको छ । सिंगो देश लकडाउनमा भए पनि कोरोना महामारीबाट अछुतो नरहेकाले अब डराउनुपर्ने अवस्था विद्यमान रहेन । बरु नेपालीमाझ कोरोना परीक्षणलाई तीव्रता दिएर क्वारेन्टाइन तथा आइसोलेसन वार्ड खडा गरी उपचारको प्रक्रियामा जोड दिनु जरुरी भएको छ । यसका लागि सरकारले दिन गुणा र रात चौगुणा प्रयास गर्नुपर्छ । महामारी आफैंमा सामूहिक समस्या भएकाले सबै नेपालीलाई यसविरुद्ध सामूहिक लडाइँमा सामेल गरिनुपर्छ । हरेक व्यक्ति यस महामारीविरुद्ध लड्नु नै पर्ने भएकाले कोरोनाविरुद्ध लडाइँमा सहभागी हुनबाट कोही पनि बिमुख भएको देखिँदैन । महामारीको प्रतिकूलताभित्र रहेको यो सकारात्मक पक्षलाई सरकारद्वारा बेलैमा चिनेर आमजनताको सहभागिता र क्रियाशीलतामा देशव्यापी माहोल सिर्जना गरिनुपर्छ । त्यसो त तीन तहका सरकार भएकाले पनि संघीय, प्रादेशिक तथा स्थानीय स्तरमा यसलाई जनप्रतिनिधिको अगुवाइमा देशव्यापी बनाउन कुनै कठिनाइ पर्ने देखिँदैन ।
देशभित्र यस्ताखाले सकारात्मक वातावरण निर्माण गरिसकज्ञेपछि देशबाहिर अलपत्र परिरहेका नेपालीलाई स्वदेश भित्र्याएर महामारीको चंगुलबाट बचाउने कार्य सहजै छ । स्थानीय सरकारको पहल र सतर्कता यसका लागि पर्याप्त हुने देखिन्छ । यसका लागि संघीय सरकारले ढिलो गर्ने वा आनाकानी देखाउनु जरुरी छैन । बरु शीघ्रातिशीघ्र यसको समाधानतिर लाग्नुमा नै बढी श्रेयस्कर छ । स्वदेशी नागरिकको भावना, मनोविज्ञान र त्यसले पु¥याउने असरलाई मध्यनजर गरी सरकार एक जिम्मेवार अभिभावकका रूपमा प्रस्तुत हुनुपर्छ । सामान्य अवस्थामा वैयक्तिक वा पारिवारिक रूपमा सबै नेपाली बाँचिरहेका छन्, तिनको जिम्मा सरकारले गम्भीर रूपमा बहन गर्नु परिरहेको पनि छैन । तर, अहिलेको महामारीको अवस्थामा भने नागरिक सुरक्षाका लागि सरकारमाथि आइपरेको गम्भीर अभिभारा पन्छाउन मिल्ने खालको छैन । बरु जति सक्यो छिटो पूरा गर्न सकिन्छ, त्यसैमा सबैको कल्याण छ । महामारीको स्वरूप विश्वव्यापी भएकाले हामी त्यसबाट अछुतो वा अपवाद हुन सक्ने कुरा पनि भएन । बरु नेपाली भावना, मनोविज्ञान र प्रेरणा एक ठाउँमा लिएर लड्न जरुरी छ ।
विदेशी रोजगारदाता संस्था तथा सरकारले नेपाली फिर्ता गर्ने नीति बनाई स्वदेश भित्र्याउन नेपाल सरकारलाई सूचना गरिसकेपछि अब पहलकदमीको जिम्मा नेपालमाथि आइपरेको छ । विदेशमा रहेका नेपालीमा पनि अब आफ्नै देशको सरकारले जिम्मा लिनुपर्ने मनोविज्ञान बनिसकेको छ । अबको जसअपजस पनि नेपाल सरकारको थाप्लोमाथि परिसकेको छ । यसैले अनकनाउनु र ढिला गर्नुको औचित्य छैन । विदेशमा रहेका नेपाली दूतावाससँग सजीव सम्पर्क बनाई कुनकुन स्थानीय निकायअन्तर्गतका नेपालीहरू कतिकति संख्यामा छन्, तदनुरूप स्वास्थ्य सामग्री तथा स्वास्थ्य विशेषज्ञ पठाई परीक्षण, निरीक्षण तथा अनुगमनको व्यवस्था गर्नुपर्छ । सरकारी काममा हुने अन्योल, अकर्मण्यता र ढिलाइले नेपाली मनोविज्ञानमा मात्र असर गर्दैन । बरु विदेशीका माझ नेपालको छवि पनि राम्रो बनाउँदैन । यसका साथै, स्वयं नेपालीमा पनि सरकार वा सरकारी पहलप्रति विश्वसनीयता पैदा हुँदैन । त्यसैले, विदेशबाट नेपालीलाई स्वदेश भित्र्याउने पहलमा थप गति दिनु जरुरी छ ।






