माटो पुनःर्जागरण गराउने ‘मौलिक आयाम’ प्रतिपादित

वीरगन्ज । रासायनिक मलले अत्याधिक अम्लीय भएको माटोमा सुधार ल्याउन नयाँ आयाम विकास भएको दावी गरिएको छ । नेपाली माटोको अम्लीयपना पना सुधार गर्ने यो नयाँ आयामको विकास नेपालमा नै पहिलो दावी गरिएको हो ।

कृषि क्षेत्रमा देखिँदै आएको माटोको उर्वराशक्ति घट्ने समस्या समाधान गर्ने उद्देश्यले एसिडोजेनिक बायो क्याटालिस्ट (एबिसि) र ईनहान्स्ड बायो डिकम्पोजर (ईबिडि) प्रविधि विकास गरिएको दावी गरिएको छ । यसले माटोको अम्लीयपनामा सुधार ल्याउने, काटोका सूक्ष्म जैविक तत्वहरूलाई पुनः सक्रिय गराउने, माटोको जलधारण क्षमता बढाउने, माटोमा बन्द रहेका पोषक तत्वलाई खोलाउने र उत्पादन बढाउने राजेश्वरी म्यानुफ्याक्चरर्स प्रा.लि. का कार्यकारी अधिकृत हृदयराज गौतमले दावी गरे ।

गाईबस्तुको गोठे मलमा पाइने जैविकतत्व सहितको नयाँ प्रविधियुक्त माटो सुधारकले बर्षौंदेखिको विग्रिएको माटो सुधार गर्ने उनको दावी छ । कृषि प्रणालीका कारण माटोभित्रका लाभदायक सूक्ष्मजीव, जैविक पदार्थ तथा प्राकृतिक पोषण चक्र कमजोर हुन गएको निष्कर्ष सहित माटो अम्लीय हन नदिन र जल धारण क्षमता बढाउन यो विधि अपनाइएको अनुसन्धानकर्ता गौतमले दावी गरे ।

कृषि अनुसन्धानकर्ता गौतमको नेतृत्वमा विकसित गरिएको “एबिसि र ईबिडि प्रविधि“ अहिले बारा, पर्सा जिल्लामा चर्चा बटुल्न थालेको छ । यो प्रविधि मिसन नेपाली फर्टिलाइजर्स मार्फत कृषि क्षेत्रमा प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नेपालमा अम्लीय माटोको समस्या समाधानका लागि अहिलेसम्म मुख्यतः कृषि चुन प्रयोग गर्ने अभ्यास रहँदै आएको छ ।

तर, एबिसि र ईबिडि प्रविधिले माटोको अम्लीयपन सन्तुलनमा ल्याउनुका साथै माटोभित्रका जैविक तत्वहरूको सक्रियता बढाउने, माटोको जल धारण गर्ने क्षमता सुधार गर्ने तथा बालीको उत्पादकत्व बढाउने दावी छ । यो प्रविधि प्रभावकारी रूपमा विस्तार गर्न सकिए नेपाली कृषि प्रणालीलाई दिगो दिशातर्फ लैजान ‘कोसेढुङ्गा’ साबित हुने राजेश्वरी म्यानुफ्याक्चरर्स प्रा.लि.का संचालक समेत रहेका गौतमको भनाइ छ ।

माटो स्वास्थ्य सुधार, उत्पादन वृद्धि तथा दिगो कृषि प्रणाली निर्माणतर्फ केन्द्रित यो प्रविधिको परीक्षण तथा विस्तारका लागि विभिन्न क्षेत्रमा थप पहल गरिरहेको भए पनि नेपाल भित्रका सरोकारवाल निकाय र व्यक्तिले साथ नदिएको गौतमको गुनासो छ । कृषि क्षेत्रका सरोकारवालाहरूले माटो पुनर्जीवनतर्फको सम्भावित आयामलाई चासो नदिनु निकै विडम्वनापूर्ण भएको उनको तर्क छ ।

अम्लिय माटो संकट समाधान तर्फ एबिसि र ईबिडी, प्रविधि माटोको बढ्दो अम्लियपन, जैविक कार्बनको निरन्तर ह्रास र सूक्ष्मजीव गतिविधिको अध्ययनले मध्य–पहाडदेखि तराईसम्म ठूलो क्षेत्रफलमा माटोको पिएच ५.५ भन्दा तल झर्दै गएको अवस्थामा कृषि उत्पादनका लागि जोखिमपूर्ण स्तरलाई निस्तेज पार्न यो प्रविधि प्रभावकारी हुने कृषि विज्ञहरुको पनि तर्क छ । अम्लिय माटोले फस्फोरसको उपलब्धता ३०–७० प्रतिशतसम्म घट्ने पनि उनीहरुको तर्क छ ।

अर्को तर्फ क्याल्सियम, म्याग्नेसियम र पोटासियमको उपयोग क्षमता कमजोर भई एल्युमिनियम र म्याङ्गनिज विषाक्तता बढ्ने, सूक्ष्मजीव विविधता र नाइट्रोजन चक्र बाधित हुने र त्यसको प्रत्यक्ष प्रभाव उत्पादन घट्नु मात्र होइन, मलको दक्षता बढ्नु, लागत बढ्नु र किसानको नाफा घट्नुसँग जोडिने हुँदा मुलुकभित्र उत्पादन गरिएको स्वदेशी विधिको सुक्ष्म अनुसन्धान गरी प्रयोगमा ल्याउन पर्ने कृषि विज्ञहरुको सुझाव छ ।

अम्लिय माटोलाई अचानक होइन, क्रमिक रूपमा सन्तुलनमा ल्याउने, पोषक तत्वको रासायनिक उपलब्धता लाभदायी र माटोको सूक्ष्मजीव सक्रिय गर्ने, जैविक–रासायनिक चक्र पुनः सञ्चालनमा ल्याउने प्रविधिको प्रयोग गर्न सकिए साँच्चै कोशेढुंगा सावित हुने उनीहरुको पनि भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने