सूर्यदर्शनमा जाहेरी दिने जैसी अर्को सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा ३ वर्षअघि जिबी राईसमेत विरुद्ध जाहेरी लिएर सुरुमा जाने एकजना बचतकर्ता नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–७, मासबार निवासी कृष्णप्रसाद जैसी हुन् । उनी तिनै व्यक्ति हुन्, हालै कास्की ३ बाट रास्वपा उम्मेदवार बिना गुरुङलाई एक सार्वजनिक कार्यक्रममा आफूले बच्चाको स्कुल फि तिर्न नसकेको भनी रास्वपा सभापति रवि लामिछानेसमक्ष पु¥याइन बिल थमाएका थिए । जुन घटना भाइरल बनेको थियो ।

कास्की प्रहरीले पोखरास्थित धनुष बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सोमबार जैसीसमेत केही व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

धनुष सहकारीको रकम हिनामिना भएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले वित्तीय विश्लेषक निर्मल गौतम संयोजकत्वमा छानबिन थालेको थियो । जसमा १० भन्दा बढीलाई प्रतिवादी बनाई कास्की प्रहरीमा आइतबार दोस्रो चरणको प्रतिवेदन बुझाइएको थियो । सोही प्रतिवेदन आधारमा प्रहरीले अनुसन्धानका लागि जैसीसमेतलाई पक्राउ गरेको हो । ऋण समितिमा रहेका जैसीले ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।

सहकारी रजिस्ट्रार भेषराज रिजालले भने, ‘धनुषको ’boutमा धेरै रकम त मिलेको हो । नौ– दश करोड मिलेको हो, बाँकी रकम मिलाउन कोसिस पनि भएको हो । तर केही जिम्मेवार व्यक्तिहरुले नै तिर्न अटेर गरेपछि प्रहरीलाई जिम्मा लगायौं ।’

विगतमा साविक साइनो र धनुष मर्ज भएर धनुष बचत तथा ऋण सहकारी संस्था बनेको हो । कास्कीको पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र रहेको उक्त सहकारी लामो समयदेखि संकटमा पर्दै आएको थियो । रिजालका अनुसार धनुषको तुलनामा विगतमा साइनोका जिम्मेवारी व्यक्तिहरुलाई बढी दोषी भेटिएका छन् ।

छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ । साविक साइनो सहकारीसँग एकीकरण पूर्व नै इन्जिनियर असिम बराल (एबिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक), गमरेजजंग गुरुङ परिवार (श्रीमती काशीमाया गुरुङ र छोरी सिर्जना गुरुङ, हाल अमेरिकामा) ले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सहकारी व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख, व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा आंैल्याइएको छ ।

इन्जिनियर असिम बराल र सिर्जना गुरुङले कर्मचारीहरूको नागरिकता दुरुपयोग गरी किर्ते दस्तावेज तयार पारेको, सहकारी दर्ता तथा बैंक खातामा तिनै किर्ते व्यक्तिको नाम प्रयोग गरी रकम निकासी गरेको छानबिनमा खुलेको छ ।

असार २०७९ मा सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जिबि राईसमेतलाई प्रतिवादी बनाई जैसीसहित करिब २४ जनाले सुरुमा कास्की प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । पछि प्रहरी कार्यालय आफैँले उजुरी दिन भनी बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरेपछि थप बचतकर्ता जोडिएका हुन् । सूर्यदर्शनका १ हजार ५७ जना बचतकर्ताले जाहेरी दिएका हुन् । पहिलो चरणमा जिवीसमेत १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा पूरक प्रतिवेदन आधारमा दोस्रो चरणमा रविसहित ५१ जनालाई प्रतिवादी बनाइएको थियो । विगतमा जैसी आफैँ संघर्ष समितिका संयोजक रही बचतकर्तालाई आन्दोलनमा उतारेका थिए । हाल संघर्ष समिति किरण श्रेष्ठ संयोजक छन् ।

सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड हिनामिना भएको भन्दै सोही रकम बराबरको बिगो माग दाबीसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?