सिओल । पपसंगीतमा पश्चिमालाई चुनौती दिँदै विश्वव्यापी रूपमा फरक परिचय बनाउन सफल ‘केपप’ अर्थात् कोरियन पप समूह ‘बिटीएस’ चार वर्षपछि संगीतमा फर्किएको छ । अब आफूहरू निरन्तर संगीत सिर्जना र प्रस्तुतिमा सक्रिय रहने सो समूहले जनाएको छ ।
राज्यप्रति निर्वाह गर्नुपर्ने केही दायिŒवसँगै सामाजिककार्यमा समय दिएर बल्ल आफूहरू पुनः संगीत सिर्जना र प्रस्तुतिमा फर्किएको समूहले जनाएको छ । करोडौं दर्शकले नयाँ गीत माग गरिरहेकै बेला आफूहरू केही समय संगीतबाट ओझेल परेकोमा माफी माग्दै ‘बिटीएस’ले ‘अब दर्शक–श्रोताले नयाँनयाँ गीतसंगीत सुन्ने अवसर पाउने प्रतिबद्धता’ जनाएको छ ।
यो उद्घोषसँगै केपप ‘बिटीएस’ले सांगीतिक परियोजना ‘बिटीएस २.०’समेत घोषणा गरेको छ । योजनाअन्तर्गत नयाँ संगीत सिर्जना र विश्वव्यापी सांगीतिक यात्रा रहेको छ । समूहको परियोजना सुनेर उनीहरूका प्रशंसक उत्साहित भएका छन् । यो परियोजना लिएर ‘बिटीएस’ समूहले अब विश्व सांगीतक भ्रमण गर्ने पनि बताएको छ । भ्रमणमा निस्कने तयारीसँगै समूहले केही नयाँ सांगीतिक सिर्जना पनि सुरु गरेको छ । जुन आगामी सांगीतिक कन्सर्टमा प्रस्तुत गर्ने समूहको योजना छ ।
‘बिटीएस’ले ‘एरिरेन्ज वल्र्ड टुर’ शीर्षकमा सांगीतिक यात्रा सुरु गर्न लागेको हो । यो कन्सर्ट अहिलेसम्म २३ देशका लागि तय भएको ‘बिटीएस’ले जनाएको छ । यसको तयारीका लागि समूह नयाँ संगीत सिर्जनामा आइतबारबाटै जुटेको छ । सांगीतिक यात्रा आगामी ९ अप्रिलदेखि दक्षिण कोरियाबाटै सुरु हुने भएको छ ।
परियोजनाअन्तर्गत पहिलो कन्सर्ट दक्षिण कोरियाकै गोयाङ सहरमा हुने पनि समूहले जनाएको छ । यो सांगीतिक यात्रा अर्को वर्षसम्म जारी रहने र ‘बिटीएस २.०’अन्तर्गत २३ देशका ३४ सहर कन्सर्ट प्रस्तुत गर्ने बताइएको छ । छोटो समयमा २३ देशको कन्सर्ट तय हुनुले पनि समूहको लोकप्रियता दर्साएको छ ।
लामो विश्रामपछि संगीतमा फर्किएको ‘बिटीएस’ले नेटफ्लिक्सको कन्सर्ट विशेष कार्यक्रममा ‘बिटीएस २.०’ शीर्षकको नयाँ परियोजना पनि सुरुवात घोषणा गरेको हो । ‘बिटीएस’ले कन्सर्ट २०२२ पछि पहिलोपटक शुक्रबार सियोलको ग्वाङह्वामुन स्क्वायरमा प्रस्तुति दिएको थियो । यो कन्सर्टको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
‘बिटीएस’ समूहका सदस्यले अनिवार्य सैन्य सेवा पूरा गर्नुपर्ने बाध्यता रहेकाले त्यो सेवा पूर्ण गर्नेक्रममा सन् २०२२ पछिको अवधिमा आफूहरू कन्सर्टमा उत्रिन नसकेको जनाएको छ । सो कन्सर्टमा प्रशंसकलाई सम्बोधन गर्दै ‘बिटिएस’का सदस्य कलाकार जे–होपले कोरियाली भाषामा कृतज्ञता व्यक्त गरेका थिए । सोही कार्यक्रममा ‘बिटीएस २.०’ परियोजना घोषणा गर्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘बिटीएस २.० परियोजना अब सुरु भएको छ । यो के पपमा एउटा नयाँ युग साबित हुने छ ।’
यही समूहका अर्का सदस्य कलाकार जिनले थपे, ‘हामीलाई यति लामो समयसम्म पनि प्रतीक्षा गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु र अब तपाईंहरूमाझ प्रस्तुत भइरहने घोषणा गर्दछु ।’
यसरी लामो विश्रामपछि पनि उनीहरूले आफूलाई समर्थन गर्ने विश्वव्यापी फ्यान आधारप्रति कृतज्ञता व्यक्त गरेको छ । यो समूहका प्रमुख आरएमले भनेका छन्, ‘तपाईंहरूले देखाउनुभएको मायाले अझ ऊर्जा थपेको छ र हामी तपाईंहरूसँगै अगाडि बढ्ने बाचा गर्दछौं ।’
योसँगै मनोरञ्जन कम्पनी नेटफिक्सले ‘बिटिए ः द रिटर्न’ शीर्षकको वृत्तचित्रसमेत घोषणा गरेको छ । लामो समयदेखि छायांकन भइरहेको वृत्तचित्र २७ मार्चमा प्रिमियर गरिने भएको छ । वृत्तचित्रमा यो समूहको सांगीतिक यात्रासँगै उनीहरूले सैन्य क्षेत्रमा लिएको तालिमको कथा पनि समावेश हुनेछ । नेटफिक्सले एरिरेन्जको निर्माणमा पर्दापछाडिको यो समूहको सांगीतिक यात्रा र अन्य कार्य तयारीपछाडिको दृश्य प्रस्तुत गर्नेछ । यसले प्रशंसकलाई समूहको रचनात्मक प्रक्रिया बुझ्न सघाउने विश्वास लिइएको छ ।






