बझाङ । तलकोट गाउँपालिका वडा नम्बर २ बोहरा गाउँकी सुर्मादेवी बोहराको उमेर ६० वर्ष भयो । अहिले सम्मको यो उमेरमा उनले ढुक्क तरीकाले खानेपानीको जोहो गर्न पाउनु भएको थिएन । गाउँको छेउमा पुरानो धारा थियो । उक्त धारा बाट खानेपानीको जोहो गर्नका लागी घन्टौँ लाइनमा बस्नु पर्ने बाध्यात्मक परिस्थिति उनको थियो । तिरतिरे धाराको भरमा पर्दा समय बितेको पत्तो नै हुन्थेन । पालो कुर्नु पर्ने भएपछि गाउँ भन्दा अलि टाढा रहेको घट्टे खोलाको पानी ल्याएर पिउनु पर्ने उहाँको बाध्यता थियो । यो समस्याको सामना एउटै सुर्मा बोहराले मात्रै नभई ८५ बर्षिया बेलमति ऐडीले पनि उक्त समस्याको सामना गर्नु परेको थियो ।
अधिकांश समय त्यही खोलाको फोहोर पानी पिउनु पर्थ्यो । डोकोमा खानेपानी ल्याउने घणो (तामाको गाग्री) मा पानी बोकेर गुजारा चलाउनु पर्थ्यो । खोलाको पानीमा फोहोर नै फोहोर हुन्थ्यो । पशुचौपायले पिउने खोलाको पानी पशु सरह भएर आफूहरूले पनि सोही खोलाको पानी पिउनु पर्ने बाध्यात्मक अवस्था यहाँका उनीहरूको थियो ।
यो एउटै यी दुई जना महिलाको मात्रै समस्या नभई यहाँका सबै परिवारको साझा समस्या हो । गाउँको छेउमा भएको धारामा प्रशस्त मात्रामा पानी नआउँदा घट्टे खोलामा पुगेर त्यही खोलाको फोहोर पानी पिउनु पर्ने अवस्था रहेको सुर्मा देवी बोहराले बताइन् ।
उनले भनिन् , ‘घट्टे खोला बाट डोकोमा पानी बोक्दा बोक्दै टाउकोमा भएको सबै कपाल समेत सकियो भन्दै उनले टाउको देखाइन् । एक अम्खोरा पानीका लागी हामीहरूले तड्पिनु पर्ने बाध्यता थियो । गाउँ नजिकै खानेपानीको मुहान नभएको र अलि गाउँ भन्दा टाढा खानेपानीको मुहानहरू रहेको भएपनी सरकारले अहिले सम्म आफूहरूको समस्या सुन्न सकेको थिएन । गाउँलेहरू सँग लगानी गरेर खानेपानी ल्याउन सक्ने आर्थिक अवस्था थिएन । हामीहरूका लागी खानेपानी आकाशको फल आँखा तरी मर भने उखान सरह भएको थियो’। जङ्गलमा जाँदा खानेपानीको मुहान थिए । तर खानेपानी भने खोलाको पिउनु पर्ने अवस्था रहेको थियो ।
यो समस्या एउटै सुर्मा र बेमतिको मात्रै नभई बोहरा गाउँ,म्यारी गाउँ,तिपा गाउँ र डाँडा गाउँका सबै नागरिकहरूको संयुत समस्या हो । आँखै अघि खोलामा दिसा पिसाब बगेको देख्दा देख्दै पनि खोला बाट पानी ल्याएर पिउनु पर्ने अवस्था थियो । उनीहरूको यो रहर नभई बाध्यता थियो । दूषित पानीका कारण यहाँका बालबालिका र सबै नागरिकहरूले पखाला, आउँ जस्ता रोगहरूको सिकार हुनु परेको थियो ।
तर अहिले भने यहाँका नागरिकहरूले यी समस्याहरू बाट छुटकारा पाएका छन् । तलकोट गाउँपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन (ल्याक) परियोजनाले खानेपानीको धारा नागरिकहरूको घरघरमा निर्माण गरी दिएपछि समस्या बाट छुटकारा पाएका हुन् ।
तलकोट गाउँपालिका र ल्याक परियोजनाको संयुत लगानीमा यहाँका नागरिकको घरघरमा एउटा एउटा खानेपानीको धारा निर्माण गरेपछि स्थानीयहरू दङ्ग भएका छन् । बोहरा गाउँ,म्यारी, तिपा, डाँडा खानेपानी उपभोक्ता समिति मार्फत जलवायु परिवर्तन स्थानीय अनुकलन परियोजना र तलकोट गाउँपालिकाको सहकार्य मार्फत खानेपानी योजनाको काम सम्पन्न भएको गाउँ तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टले बताए । गाउँमा खानेपानी नहुँदा निकै समस्या झेल्नु परेको थियो । समस्या ’bout गाउँपालिकालाई जानकारी भएपनी पालिकामा सीमित स्रोत साधनका कारण अहिले सम्म खानेपानी निर्माण गर्न सकिएको थिएन । हामीहरू यस्तै सहयोगी संस्थाको खोजीमा थियौँ । भट्टले भने,अहिले तलकोट गाउँपालिका र ल्याक परियोजनाको सहयोगमा खानेपानी,सिचाई कुलो, विभिन्न आत्मनिर्भरका कामहरू गरी रहेको र यस परियोजनाले गाउँपालिकामा विकासको इट्टा थप्ने कार्य गरेको बताए ।
परियोजना मार्फत ४ वटा टोलमा जम्मा ५५ वटा खानेपानीको धारा जडान गरी खानेपानी योजना सम्पन्न भएको परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताए । उनले भने, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना जिल्लाको तलकोट गाउँपालिका,खप्तड छान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा लागु भएको छ । परियोजनाले जीविको उपार्जन , सिचाई, खानेपानी, बन तथा वातावरण सम्बन्धी विभिन्न कार्यहरू गर्दै आएको छ । जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाकी टिम लिडर सान्नालिना राउटेनन्न तलकोट गाउँपालिकामा पुगेर आइतबार खानेपानीको औपचारिक रूपमा उद्घाटन गरिएको बताए । परियोजना तलकोट गाउँपालिकाको सहकार्य र युरोपियन सङ्घ फिडल्याण्ड सरकारको सहयोगमा सञ्चालन भएको बताए ।
बर्षाै देखी खानेपानीको समस्याले व्याकुल भएका नागरिकहरूको घरघरमा खानेपानीको धारा भएपछि निकै खुसी भएको उहाँको भनाई छ । बर्षौ देखीको समस्या बाट आफूहरूले छुटकारा पाएको भन्दै गाउँमा खुसीयाली समेत बनाएको समाजसेवी ज्ञान बहादुर बोहराले बताए ।






