इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवा लक्षित ‘उदय परियोजना’ सञ्चालनमा ल्याइएको बताएका छन् । करिब आठ रु अर्बको लगानीमा सुरु गरिएको यस परियोजनाले प्रदेशभित्रका युवा उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको उनले बताए ।
बुधबार सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो गौतम बुद्धको प्रतिमा उत्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकारले सुरु गरेको ‘उदय परियोजना’ र ‘ब्याज अनुदान’ कार्यक्रमले युवा उद्योगीको प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए ।
“अब ३० देखि ५० प्रतिशतसम्म धलौटी राखेर शतप्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था गरिएको छ”, उनले भने, “परियोजनाबाट रु ३० लाखदेखि तीन करोडसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । यसका लागि विभिन्न बैंकहरू छनोट गरिसकिएको छ । धितोसम्बन्धी पुरानो जटिल व्यवस्था अब हट्छ ।”
स्वीस सरकारसँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपालमै नमुना कार्यक्रम सुरु गर्ने कोशी प्रदेश पहिलो भएको दाबी गरे । साना तथा मझौला उद्योगीलाई उद्योगको प्रकृतिअनुसार ऋण उपलब्ध गराइनेछ भने बजार प्रवर्द्धनमा सहयोग गरिने उनको भनाइ छ ।
‘ब्याज अनुदान’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले हरेक वर्ष ६ प्रतिशत ब्याज व्यहोर्ने व्यवस्था गरेको छ । करिब रु छ अर्ब बजेट रहेको यस कार्यक्रममा सहभागी हुन उद्योग, कृषि मन्त्रालयबाट तोकिएका ११ बैंकमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ । योग्य ठहरिएपछि दुईदेखि आठ वर्षसम्मको अवधिका लागि ऋणको ब्याज प्रदेश सरकारले तिरिदिनेछ ।
उनले सूर्योदय नगरपालिकालाई पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए । साथै फोहरमैला व्यवस्थापनका लागि बजेट विनियोजन भइसकेको र भौतिक मन्त्रालयसँग समन्वय गरेर काम गर्न उनले आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले बुद्धको प्रतिमासहित १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्कको उद्घाटन गरे । प्राण प्रतिष्ठानसहित बुद्धको प्रतिमा र पार्क उद्घाटन गरिएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले बताए । बुद्ध धर्म गुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछेसहितका धर्म गुरुबाट बिहान ६ बजेदेखि १२ बजेसम्म प्राण प्रतिष्ठान गरी उक्त स्थानको उद्घाटन गरिएको हो ।
उक्त पार्क भारतको पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट दुई किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको स्थानीय पर्यटन व्यवसायी विमल देवानले जानकारी दिए ।
बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवर्द्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२÷७३ मा भएको थियो । क्रमागत रूपमा सञ्चालन हुँदै आएको आयोजना देश सङ्घीय संरचनामा गएपछि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले निर्माण गरेको थियो ।
सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरी पार्क निर्माण गरेको सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए । उनले उक्त पार्क सञ्चालनमा आएपछि नेपाल, भारत र तेस्रो देशका पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।
वुद्धपार्क निर्माणमा कोशी प्रदेश सरकार, मेची पहाडी पर्यटन विकास समिति र सूर्योदय नगरपालिका गरी रु सात करोड खर्च भएको जनाइएको छ । उक्त पार्कसँगै स्थानीय पर्यटन व्यवसायीले अन्य पर्यटकीय संरचना निर्माण गरेका छन् ।






