राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना अपरिहार्य : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर बनाएको देश भएको दाबी गरे। ‘यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन । यो देश राजसंस्था र जनताले बनाएको हो,’ उनले भने, ‘त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस् ।’

उनले देशमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत गरी ९३ प्रतिशतभन्दा बढी ॐकार परिवार रहेको तथ्यांक प्रस्तुत गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट धर्मसापेक्ष ‘हिन्दु अधिराज्यु घोषणा गर्न माग गरे।

शाहीले सम्बोधनका क्रममा एमसीसी सम्झौताप्रति कडा असन्तुष्टि व्यक्त गर्दै यसलाई खारेज गर्नुपर्ने बताए। देशको भूराजनीतिक सन्तुलन कायम राख्न पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई पूर्ण रूपमा पालना गर्नुपर्ने र यसको प्रभावकारी कार्यान्वयनमा सरकार चुक्न नहुने उनको भनाइ थियो । उनले छिमेकी राष्ट्रहरूको गतिविधिमाथि निगरानी राख्न सीमावर्ती क्षेत्रमा नेपाली सेना खटाउनुपर्ने र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गर्नुपर्ने माग समेत गरे ।

सांसद शाहीले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ८० लाखभन्दा बढी युवा विदेशिन बाध्य भएको र रेमिट्यान्सले मात्र देश धानिएको यथार्थ प्रस्तुत गरे ।

यसका साथै, उनले निर्मला पन्तदेखि इन्साफ बिकसम्मका घटनामा न्याय पाउन नसकेको भन्दै न्याय प्रणालीमाथि प्रश्न उठाए।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान